प्रिय सुफी लेख्दाका खुसी र सास्ती

- सुबिन भट्टराई

आश्विन २३, २०७५

 

कुनै पनि कथा उत्कृष्ट हुनका लागि त्यसले सबैभन्दा पहिले लेखक स्वयम्लाई छुनुपर्छ । लेखकलाई छोइसकेपछि, त्यसले लेखकजस्तै मन मुटु भएका हजारौँ पाठकलाई छुन्छ ,तर सबैलाई छुँदैन । जति नै राम्रो लेखे पनि त्यसको स्वाद सबैलाई मीठै लाग्छ भन्ने छैन, जसरी जति नै मिठो खानेकुरा पाके पनि त्यो सबैको रुचिमा पर्दैन । पाठक कुनै पनि बेला लेखकले लेखेको त्यो कथाको बाटो वा बाटो नजिक हिँडेको हुनुपर्छ छोइनलाई । 

लेख्ने क्रममा लेखकलाई थाहा पनि हुन्छ उसले कस्तो लेखिरहेको छ ? शब्दहरू रोप्दै जाँदा शरीरमा काँडा उम्रन्छन् । पात्रहरू आफ्नै वरपर छन् झैँ लाग्न थाल्छन् । लेखनबाहेक अन्यत्र कहीँ केही ध्यान रहन्न । भावुक प्रसंगहरूमा तप्प आँसु नै चुहिन्छ । धेरै नै राम्रो लेखिएको छ भने पढेर कसैलाई सुनाइहाल्ने हतारो पनि हुन्छ । यी सब लेखन राम्रो हुँदाका अनुभव हुन्, तर म यहाँ मेरो पछिल्लो उपन्यास प्रिय सुफीका बारेमा चर्चा गर्न आएको छु । कसरी लेखियो प्रिय सुफी अनि किन लेखियो ? 

कथाकी पात्र, समर लभ, साया र मनसुन गरी चारवटा पुस्तक प्रकाशनमा ल्याइसकेपछि अब पालो नयाँ पुस्तकको थियो । कथाकी पात्र छाडेर बाँकीका तीनवटै पुस्तकमा मैले एउटा केटा र केटीको प्रेमलाई महत्व दिएँ । कथाकी पात्रले लेखन क्षेत्रमा पाइला टेक्न सघायो । समर लभले मलाई मेरा प्रिय पाठकहरूसामु चिनायो । सायाले सफलताको केही खुड्किला पक्कै चढायो । मनसुन ले त्यही सफलतालाई पिठ्युँमा बोकेर थेगिदियो, तर म आफैं सन्तुष्ट हुन सकिरहेको थिइनँ । मानिस पूर्ण सन्तुष्ट त कहिले पो हुन सकेको छ र ? मेरो असन्तुष्टि कथाको विषयलाई लिएर थियो । प्रेम त लेखेँ तर यसपटक अलिक भिन्न प्रेम लेख्न मन लागिरहेको थियो । केही प्रेरणादायक कुरा लेख्ने मन थियो । यद्यपि दिमागमा कुनै कथा थिएन । 

एक दिन घुम्दै फिर्दै जाँदा श्रीमतीसँग सोधेको थिएँ, ‘के पो लेख्ने होला यो पटक ?’ 

ऊनले भनेकी थिइन्, ‘त्यो तीन वर्ष अघि कान्तिपुरको कोसेलीमा प्रकाशित संस्मरणलाई कथामा उतार्दा के होला ?’

उनले एउटा त्यस्तो संस्मरणको कुरा गरेकी थिइन् जसलाई धेरैभन्दा धेरै पाठकले रुचाइदिनुभएको थियो । सुरुमा आनाकानी गरे पनि पछि–पछि म कन्भिन्स हुँदै गएँ । पछिल्ला दिनहरूमा म पाठकहरूलाई मनोरञ्जन मात्र होइन, केही प्रेरणा पनि दिन चाहिरहेको थिएँ । साप्ताहिकमा आउने मेरो स्तम्भ युवा मनमार्फत पाठकहरूले मेरो लेखनको प्रेरणादायी पाटो पनि पक्कै भेट्टाउनुभएको छ । 

०००

कलेज पढ्दा म बाथको समस्याले आक्रान्त थिएँ । प्लस टु पढ्दा दुइपटक र मास्टर्स पढ्दा एकपटक गरेर जम्मा तीन पटक मलाई बाथले आक्रमण गर्‍यो । अरूलाई प्लस टु सक्न दुई वर्ष लाग्छ, मलाई चार वर्ष लाग्यो । ओछ्यानमा कोपरा थापेर दिसा–पिसाब गर्ने स्थिति थियो । म धेरै नै डिप्रेस्ड थिएँ । मलाई मानिसहरू स्वस्थ भएकोमा डाहा लाग्थ्यो । मलाई मानिसहरू हाँसेको, रमाएको देख्दा अचम्म लाग्थ्यो । उनीहरू ठमठम हिँडेको देखेर म आरिसले आक्रान्त हुन्थेँ । म मात्र किन रोगी ? म मात्र किन डिप्रेस्ड ? धेरै पटक मर्न पाएहुन्थ्यो जस्तो लाग्थ्यो । म कहिल्यै उठेर हिँड्न सक्दिनँ जस्तो हुन्थ्यो । म कहिल्यै ठीक हुन्छु जस्तो लाग्दैनथ्यो । मेरो आत्माबाट उडेर अलपभएको आत्मविश्वास कहिल्यै फर्केर फिर्ता आउँदैन जस्तो लाग्थ्यो ।

भएभरका औषधी एकैचोटि खाऊँ भन्ने सोच पनि नआएको होइन, तर मैले त्यसो गरिनँ । म मरिनँ । मबाँचँे । बाँचेरै जितेँ । मरेको भए त हार्थें, आफ्नै जीवनसित, यो संसारसित । मैले त कति धेरै थोक गर्नु रै’छ । यत्रा पुस्तक लेख्नु रै’छ । मेरा पाठकहरूको यति धेरै माया पाउनु रै’छ । मेरा मातापितालाई आफ्नो छोराप्रति गर्व गर्न लायक बनाउनु रै’छ । प्रेम गर्नु रै’छ । विवाह गर्नु रै’छ । यति धेरै ठाउँ घुम्नु रै’छ । यति धेरै साथीहरूसित संगत गर्नु रै’छ । कति राम्रा–राम्रा सिनेमा बने, ती सिनेमाहरू हेर्नु रै’छ । कति राम्रा–राम्रा पुस्तक छापिए, ती पढ्नु रै’छ । धेरै परिवर्तन देख्नु रै’छ । यो संसार कति सुन्दर छ, त्यो थाहा पाउनु रै’छ । क्षणभरको दु:खको सन्तापमा लम्बेचौडे खुसीहरूको घाँटी झन्नै ननिमोठेको ।

हो, यहीअनुभवलाई लिएर लेखिएको त्यो संस्मरणलाई उपन्यासका रूपमा उतार्न म हौसिएँ । मानिसले आफ्ना आँखाअघिल्तिर एउटा दु:ख देख्छ र त्यही एउटै कारणले छिनमै सिध्याइदिन्छ आफ्नो जीवन । मानिसहरू बुझ्दैनन् बाँच्ने हजारौँ कारण हुन्छन् । पत्रपत्रिकामा अक्सर आफ्नै जीवन सिध्याउनेहरूको समाचार पढेर कैयौँ पटक कमसेकम सिँगो दिन खराब भएको कैयौँ अनुभव मसित थियो । सोचेँ, यस्तो किताब लेखौँ, मर्ने सोच बनाएको मानिसको हातमा पुग्यो भने, उसले त्यो सोच त्यागोस् । आफ्नै जीवनलाई प्रेम गरोस् । आफैँलाई प्रेम गरोस् । प्रेम अरुमा नखोजोस् । अरूमा प्रेम खोजेर आफूलाई दु:खी नबनाओस् । आफैँलाई प्रेम गरेर आफ्नो जीवनको बगैँचा आफैँ स्याहारोस् । लक्ष्य ठूलो राखेँ र नियत सफा र लेख्न बसेँ, प्रिय सुफी । 

कपासको डल्लोजस्तै कथालाई मस्तिष्कको मन्थनले कात्दै–कात्दै मसिनो धागोजस्तै स्लिम आकारमा ल्याएँ । कल्पनाका थुप्रै रङ पोतिदिएँ र करिब चार महिनाको बसाइपश्चात् तयार भयो प्रिय सुफी । जो अहिले पाठकहरूको समेत प्रिय भैरहेको छ । अहिले पाठकहरू भन्नुहुन्छ, यो उपन्यास पढ्दा कतै हाँसे, कतै रोएँ, कतै रिसाएँ, कतै दिक्क लाग्यो र कतै हिम्मत पलाएर आयो । उहाँहरूको अनुभव मेरो लेखन अनुभवसित कतै फरक छैन । यो उपन्यास लेख्ने क्रममा ठाउँ–ठाउँमा म मन्द मुस्कुराउँथेँ अनि ठाउँ–ठाउँमा रुन्थेँ पनि । ठाउँ–ठाउँमा शरीरमा काँडा उम्रिएजस्तो हुन्थ्यो । ठाउँ–ठाउँमा आफसेआफ ऊर्जा आउँथ्यो । अहिले पनि प्रिय सुफीको जुनसुकै पन्ना पल्टाएर पढ्न थाल्छु, लाग्छ कथा त्यहीँबाट सुरु भएको छ ।

अहिले यतिबेला म प्रिय सुफी पढिसकेपछि आएका पाठकहरूको प्रतिक्रियाको न्यानो घाम तापिरहेको छु । एउटा लेखकका लागि संसारमा सबैभन्दा महत्वपूर्ण र प्रिय अनुभव नै यही हो कि आफूले भन्नखोजेको कुरा पाठकले राम्रोसित सुनून् ।

मैले जे भोगेँ, जति भोगेँ त्यो भोगाइको एक चौथाइ भाग मात्र हो— प्रिय सुफी । उपन्यास मेरो आत्मसन्तुष्टिका लागि त पक्कै हो तर मैले पाठकहरूको धैर्यलाई पनि मध्यनजर गर्नुपर्ने हुन्छ । त्यसैले आफ्ना सबै भोगाइ र दुखाइलाई मैले यसमा पोखिनँ । ती कुनै बेला, लामा छोटा लेख, रचना, कथा, उपन्यास आदिका रूपमा पक्कै बाहिर आउनेछन् । 

प्रकाशित :आश्विन २३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्