विल्सनविक्रमलाई मन पर्ने ५ गन्तव्य

- कृष्ण भट्टराई

आश्विन २३, २०७५

तक्मे बूढाको उपनामबाट लोकप्रिय अभिनेता विल्सनविक्रम राई सानो पर्दा हुँदै ठूलो पर्दासम्म सक्रिय छन् । केही साताअघि उनले अभिनेताका रूपमा अभिनय गरेको चलचित्र ‘साली कसको भेनाको’ प्रदर्शनमा आएको थियो भने यो दसैंमा उनले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको चलचित्र छक्का पञ्जा–३ प्रदर्शन हुँदैछ । यसका साथै चौका दाउ, क्याप्टेन तथा ड्रिम गर्ल उनका आगामी चलचित्र हुन् । नेपाली भाषी भुटानी समुदायको निमन्त्रणामा यतिबेला अमेरिका पुगेका राईले आफूलाई मनपर्ने गन्तव्यका बारेमा यसरी बेली बिस्तार लगाएका छन् : 

 

पाथीभरा

ताप्लेजुङको पाथीभरा पुगेपछि मनमा शान्ति छाउँछ । पाथीभरासम्मको यात्रा आफैंमा रोमाञ्चक त छँदैछ, उक्त रमणीय स्थलमा जतिपटक पुगे पनि कञ्चनजंघाको सुन्दरता तथा वरपरको वातावरणले दोहोर्‍याएर जाऊ–जाऊ लागिरहन्छ । 

कन्याम 

इलामको सबैभन्दा सुन्दर ठाउँ हो— कन्याम । आहा...त्यहाँको हरियो चियाबगान । तल झापामा जति नै गर्मी भए पनि कन्याम उक्लिएपछि चल्ने चिसो बतासले मलाई मात्र होइन, जो–कोहीलाई स्वर्ग नै पुगेको आभास गराउँछ । 

धम्पुस

हुन त पोखरा पनि मेरो रोजाइको गन्तव्य हो, यद्यपि पोखराबाट अलि पर पर्ने धम्पुसको सुन्दरता शब्दमा वर्णन गर्न गाह्रो छ । केही घण्टाको हाइकिङपछि पुगिने धम्पुस प्राकृतिक रूपमा सुन्दर त छ नै, त्यहीँ माछापुच्छ्रे हिमाललाई नजिकबाट नियाल्ने अवसर समेत पाइन्छ । 

हङकङ 

नेपालबाहिर मलाई मन पर्ने गन्तव्य हो– हङकङ । हङकङको हावापानी मात्र होइन, मानिसहरू पनि असल लाग्छन् । अझ त्यहाँका चिम्से–चिम्से आँखा भएका मानिसहरू त मलाई आफ्नै काका, मामाजस्ता लाग्छन् । अर्कोकुरा, धरानमा जत्तिकै सुँगुरको मासु पाइने भएर होला, मलाई हङकङ साह्रै मनपर्छ । 

तस्मानिया

अस्ट्रेलियाको तस्मानिया एउटा सानो टापु हो, जसलाई मिनी स्वीजरल्यान्ड समेत भनिन्छ, त्यहाँ म २०१३, ०१४ र ०१५ गरी तीन–चार पटक पुगेको छु । त्यहाँ प्रशस्तै नेपाली भाषाी भुटानी दाजुभाइ हुनुहुन्छ । मैले अस्ति भरखरै कतै पढेको, त्यहाँ अंग्रेजीपछि सबैभन्दा बढी बोलिने भाषा भनेकै नेपाली हो । मलाई पुन: एक पटक त्यो ठाउँ पुग्न मन छ । 

प्रकाशित :आश्विन २३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्