कारागार होइन सुधारगृह

- मनोज गजुरेल

आश्विन २३, २०७५

हामी सुध्रिएर निस्कँदा पनि समाजले पुरानै तरिकाले हेर्‍यो भने के गर्ने दाइ ?’ उनको प्रश्न गम्भीर थियो । उनी अर्थात् झुम्का कारागारका एक कैदी । यो प्रश्न ती कैदीको मात्र होइन, उनीजस्ता हजारौं कैदी–बन्दीको हो । आउनुहोस्, आज नेपालका कारागार, कारागारभित्रका बन्दीहरू तथा तिनको मनोदशाको मंगल कामना गरौं ।

सिस्नुपानी नेपाल एवं एक नम्बर प्रदेश सरकारको सहकार्यमा चारवटा जेलयात्राको कथा हो यो । विराटनगर, चन्द्रगढी, झुम्का तथा गाईघाट जेलको सत्यकथा । ‘जेलभित्र मानवअधिकार’ हाम्रो नारा थियो । उनीहरूको खानपान, जीवनशैली, शिक्षा, स्वास्थ्य, मनोरञ्जन एवं मानवअधिकारको सचेतनताको अभियान । चारवटा जेलका करिब चार हजार कैदीबन्दीसँगको अन्तरंगका अविस्मरणीय सम्झनाहरू यस प्रकार छन् :

विराटनगर जेलमा हामीले पहिले पुरुष र पछि महिला कैदीहरूका लागि कार्यक्रम दियौं । ओशो सुवासको योग ध्यान, इन्सेकका सोम थापाको अधिकार शिक्षा, प्रदेश सरकारका प्रतिनिधि नइन्द्र दहालको कर्तव्य शिक्षा, लक्ष्मण गाम्नागेको व्यंग्य कविता, शिशिर योगीको देशभक्ति गीत, टंकराज आचार्यको सुन्दर सञ्चालन तथा यो स्तम्भकारको उत्प्रेरक हास्यव्यंग्य प्रस्तुति । सबै खालका प्रस्तुतिमा कैदी बन्दीको आकर्षण, लगाव र ताली देख्दा लाग्थ्यो, उनीहरू यो खालका खुराकका भोका थिए ।

विराटनगरको महिला कारागारमा गीत, नृत्य एवं कविता भन्ने थुप्रै कैदी–बन्दी फेला परे । उनीहरूका रचना सुन्दा लाग्थ्यो, उनीहरूमा आपराधिक भावना छँदै छैन । परिबन्दमा परेर, रिस थाम्न नसकेर, परिणाम थाहा नपाएर गैरकानुनी कार्य गर्नेहरूको संख्या बढी छ जस्तो देखिन्थ्यो, सत्य पनि त्यही रहेछ । त्यहाँ भेटिएकी एउटी बन्दी गायिका लक्ष्मी गजमेरले भनिन्, ‘बैंकिङ कसुरमा जेल परें, निस्किएपछि राजनीति गर्छु र आफ्नो जस्तो गल्ती नगर्न सन्देश फैलाउँछु ।’

झापा कारागारमा करिब चार घण्टा कार्यक्रम भयो । चर्को घाममा पनि उनीहरू एकछिन नहल्ली बसे । त्यहाँ रमाइलो मात्र थिएन, आफ्ना अधिकारका बारेमा सुसुचित हुन पनि उनिहरू भेला भएका थिए । केही कैदीले सरकारका लागि सुझावपत्रसमेत तयार पारेका थिए । प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री हिक्मत कार्की आउने योजना थियो । त्यसैले उनीहरू आफ्ना कुरा राख्न पाइने कुरामा ढुक्क थिए तर मन्त्री नपुगेपछि त्यो सुझावपत्र उनीहरूले यो स्तम्भकारलाई जिम्मा लगाए ।

उनिहरूको सुझावको सारांश थियो, कञ्चनपुरका दिलीपसिंह विष्टजस्तै फसाइएका कैदी–बन्दीहरू पनि छन् जेलमा । उनीहरूका बारेमा पुन: अनुसन्धान होस् । मानव अधिकारको कुरा गरिन्छ तर कैदीलाई दिइने सिदा बापतको रकम ज्यादै कम छ, यतातिर पनि ध्यान दिइयोस् । एक कैदीले भने, चामल ७ सय ग्राम त ठीकै हो तर तरकारी, दाल, अचार, मासु, दूध, चिया, फलफुल, लत्ता कपडा, दबाई आदि सबै कुरा ६० रुपैयाँ पुर्‍याउनुपर्छ, जुन गाह्रो छ ।

यात्राको सबैभन्दा अविस्मरणीय कुरा कैदी प्रदीप रखालीको कविता थियो । उनले त्यहाँ दुईवटा सायरी सुनाए । पहिलो राष्ट्रियतासँग सम्बन्धित थियो । ‘जिन्दगीको रंगबाट रातो हराउँछ, अचानक हिंड्दाहिंड्दै बाटो हराउँछ, यता बिउ छर्ने बेला माटो हराउँछ ।’ उनको संकेत भारतले सिमाना मिच्ने घटनातर्फ केन्द्रित थियो । अझ गज्जबको कुरा त के भने उनि नेपाली होइनन्, भुटानी हुन् ।

उनको अर्को कविता थियो, आमाका विषयमा । ‘बिहान–बिहान पूजा गर्छौं, अर्काको खेतमा भैंसी चराउँछौं, आमालाई वृद्धाश्रमा राखेर, मन्दिरमा घण्ट हल्लाउछौं ।’ दु:खको कुरा उनका बा–आमा अमेरिकामा छन् । कारागारको रिपोर्टमा अत्यन्तै असल चालचलन भएका यी भुटानी नेपाली भन्छन्, ‘विदेशी परियो दाजु, अन्यथा अस्ति नै आममाफीमा परिन्थ्यो ।’

‘कारागार हास्यव्यंग्य शिविर’को अन्तिम कार्यक्रम गाईघाट कारागारमा थियो । १ सय ५० भन्दा बढि कैदी–बन्दी भएको उक्त कारागारको क्षमता भने ५० जना मात्र हो । त्यहाँ भेटिएका अधिकांशको एउटै प्रश्न थियो, जुन लेखको सुरुमा भनियो, ‘यहाँबाट सजाय भुक्तान गरेर फर्किएपछि पनि समाजले हामीलाई पुरानै सोचले हेर्न थाल्यो भने के गर्ने ?’

स्तम्भकारले रत्नाकर डाँकु सुध्रिएर वाल्मीकि बनेको उदाहरण दिंदै भन्यो, ‘यसलाई जेल नमान्नुहोस्, सुधारगृह मान्नुहोस् । पूर्ण रूपमा सुध्रिएर फर्कने तपाईंहरूको रिहाइको दिन हामी फूलमाला लिएर स्वागत गर्न जेल बाहिर कुरिरहेका हुनेछौं ।’

 

प्रकाशित :आश्विन २३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्