गाउँमा रमाउँदै, होमस्टेमा बास

- युवराज गौतम

आश्विन २२, २०७५

 

नेपालमा ग्रामीण पर्यटनको अवधारणाअनुरूप होमस्टे पर्यटनप्रतिको आकर्षण बढ्दो छ । मौलिक परम्परा, रहनसहन एवं जीवनशैली बुझ्दै ग्रामीण पर्यटकीय स्थलहरूको भ्रमण गर्ने नेपालीहरू अहिले लगातार बढिरहेका छन् । 

नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशी होमस्टे पर्यटनलाई सस्तोभन्दा पनि सम्मानपूर्वक हेर्नुपर्ने कुरा बताउँछन् । होमस्टेप्रति पर्यटकहरूको आकर्षण बढ्दै गएकाले गाउँ पर्यटनका लागि चाहिने आधारभूत तत्वहरू जुटाउन सके गाउँ पर्यटन फस्टाउँदै जाने जोशीको धारणा छ । अहिले फुर्सदिलो समय वा चाडबाडको मौसममा घुम्न निस्किनेहरूको रोजाइमा लामो दूरीको ट्रेकिङ र होमस्टे पहिलो स्थानमा देखिएको छ । फरक गाउँको फरक–फरक परिवेश, खानपान एवं जीवनशैली बुझ्ने मौका होमस्टेले उपलब्ध गराउँछ । नेपालका अहिले लगभग २० वटा जिल्लामा होमस्टे सञ्चालनमा छन् । ती प्रत्येक होमस्टेको मौलिक पहिचान छ । गाउँ पर्यटन प्रवद्र्धन मन्च (भिटोफ–नेपाल) को तथ्यांकअनुसार नेपालमा ३ सय ५० भन्दा बढी होमस्टे दर्ता भएका छन् । 

सिरुवारी

नेपाल भ्रमण वर्ष १९९८ को समयमा घोषणा गरिएको नेपालकै पहिलो ग्रामीण पर्यटकीय गाउँ सिरुबारी होमस्टे ग्रामीण पर्यटनको नमुना हो । समुद्री सतहभन्दा झन्डै २ हजार फिट उचाइमा रहेको गुरुङ बस्ती सिरुबारी सूर्योदय अवलोकनका लागि प्रख्यात छ । यहाँ धौलागिरि तथा माछापुच्छ्रे हिमशृंखलाको मनोरम दृश्य अवलोकन गर्दै ढुंगाले बनेका मौलिक घरमा बास बस्न पाइन्छ । सिरुवारीकै वरिपरि सुन्तलाबारी, सिर्सेकोट, हुनीकोट, खर्सुको लेक तथा बझाकोटमा पनि होमस्टेहरू सञ्चालित छन् । पोखराबाट ६४ किलोमिटरको सडक यात्रापछि सिरुबारी पुग्न सकिन्छ । यहाँका होमस्टेमा एक रातको प्रतिव्यक्ति कम्तिमा १ हजार रुपैयाँ खर्च हुन्छ । 

घलेगाउँ

दक्षिण एसियाकै नमुना गाउँ लमजुङको घलेगाउँ फुर्सदमा पुग्नै पर्ने गन्तव्य हो । आँखैअघि हिमश्रृंखला, अग्र्यानिक परिकार, मौलिक घरहरूको बाक्लो बस्ती, परम्परागत गुरुङ संस्कृति झल्कने घाटु, सोरठी, सेर्गा, कृष्ण चरित्र आदि नृत्य, गुरुङ परिकार, सूर्योदय तथा सूर्यास्तको दृश्यावलोकन यहाँका आकर्षण हुन् । बोटानिकल गार्डेन, चियाबारी तथा भ्यू–टावर यहाँ रमाउन सकिने स्थल हुन् । १ सय २० घरधुरी रहेको घलेगाउँका ३५ वटा घरमा होमस्टे सञ्चालन गरिएको छ । बेसीसहरबाट २६ किलोमिटर टाढाको घलेगाउँ समुद्री सहतबाट २ हजार १ सय मिटरको उचाइमा छ । यहाँ खान र बस्न प्रतिव्यक्ति ८ सय रुपैयाँभन्दा माथि खर्च हुन सक्छ । 

श्रीअन्तु

इलामको श्रीअन्तुमा होमस्टेको बेग्लै मज्जा लिन सकिन्छ । असोज–कात्तिक महिना सूर्योदयको दृश्यावलोकनका लागि उपयुक्त हुने भएकाले चाडबाडको फुर्सदमा अन्तुको फन्को रोमाञ्चक सावित हुन्छ । इलामको फिक्कलबाट १४ किलोमिटर मोटर यात्रा गरेपछि श्रीअन्तु पुग्न सकिन्छ । यहाँ करिब ४० वटा घरमा होमस्टे सञ्चालित छन् । यहाँ लोपोन्मुख लाप्चा जातिको संस्कृति हेर्दै दीपेन्द्र शिखरको भ्यू–टावरमा चढेर सूर्योदय अवलोकन, अन्तुपोखरीमा बोटिङ, चियाबारीमा सेल्फी खिच्दै रमाइलो गर्न सकिन्छ । यहाँ खान र बस्न प्रतिरात १ हजार रुपैयाँ खर्च हुनसक्छ ।

 

अमलटारी

नेपालमा रहेका थारु होमस्टेहरूमध्ये नवलपरासीको अमलटारीमा सञ्चालित होमस्टेलाई नमुनाका रूपमा लिइन्छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको अमलटारीका होमस्टे अहिले लोकप्रिय हुँदै गएको छ । अमलटारीमा बोटे, माझी तथा कुमाल समुदायको बसोबास छ । गाउँनजिकैको चितवन राष्ट्रिय निकुञ्जसँग जोडीएको मध्यवर्ती क्षेत्रको घना जंगलमा पाइने गैंडा, बाघ तथा अन्य जनावरसँगै चराचुरुङ्गीले पर्यटकहरूको मन लोभ्याउँछन् । यहाँ पुग्ने पर्यटकले लोकल कुखुरा, हाँसको मासु तथा स्थानीय परिकार खान पाउँछन् भने जंगल सफारी, डुंगा, गाढा सयरको मज्जा लिन सक्छन् । 

बल्थली

काठमाडौंबाट ३९ किलोमिटरको यात्रा गरेपछि पुग्न सकिने काभ्रेको बल्थलीमा पनि होमस्टे सञ्चालनमा छ । त्यहाँ पुग्ने पर्यटकले आफैं पनि घरमै जस्तो दाउराबाट बलेको आगोमा खाना पकाउन सक्छन् । यहाँ ट्रेकिङ तथा हाइकिङको मज्जा लिन सकिन्छ । पनौतीबाट ७ किलोमिटर मोटरयात्रापछि बल्थली पुगिन्छ । मनोरम हिमश्रृंखलाको दृश्यका साथै पनौती, खोपासी, चलाल, गणेसस्थान आदि फाँटको दृश्यले मन लोभ्याउँछ । यहाँ एक रातका लागि १ हजार ५ सय रुपैयाँ देखि २ हजार रुपैयाँसम्म खर्च हुन सक्छ । काठमाडौंको साँखुबाट लप्सीफेदी, नगरकोट, धुलिखेल, नमोबुद्घ हुँदै बल्थलीसम्म भिलेज ट्रेकिङ रुटसमेत सञ्चालनमा छ । 

डल्ला 

डल्ला होमस्टे बर्दियाका थारुहरूले सञ्चालनमा ल्याएका हुन् । बर्दियाको सूर्यपटुवास्थित डल्ला होमस्ट बेलायती राजकुमार ह्यारीको भ्रमणपछि थप चर्चित भएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले डल्ला होमस्टेलाई नेपालको पहिलो नम्बरको होमस्टेका रूपमा सूचीकृत गरेको थियो । डल्ला गाउँमा १ सय २० घरपरिवार रहे पनि २२ घरमा मात्र होमस्टे सञ्चालित छ । यहाँका होमस्टेमा आवास, खाना तथा खाजाको १ हजार रुपैयाँसम्म तिर्नुपर्छ । नजिकैको शिव सामुदायिक वनमा एक सिंगे गैंडा, हरिण तथा पाटे बाघ अवलोकन गर्न सकिन्छ । 

चित्लाङ

मकवानपुरको चित्लाङ चर्चित पर्यटकीय स्थल हो । यो सानो उपत्यका पनि हो । यहाँ सन् २०११ देखि होमस्टे सञ्चालनमा छ । नेवार, तामाङ, क्षेत्री, बाहुन तथा बलामीहरूको बाक्लो बसोबास रहेको चित्लाङ काठमाडौंबाट नजिकै भएकाले घुमफिरका लागि भरपर्दो गन्तव्य मानिन्छ । चन्द्रागिरि भञ्ज्याङबाट ६ किलोमिटरको यात्रा पछि चित्लाङ पुग्न सकिन्छ । तलेजु भवानी कोत, सातधारा, शिवालय, बाख्रा फार्म यहाँका हेर्न लाईक स्थान हुन् । सामान्य होटलहरूसमेत भएको चित्लाङका होमस्टेमा भने १ हजारदेखि १ हजार ५ सय रुपैयाँसम्मको प्याकेजमा बास बस्न पाइन्छ । काठमाडौं–थानकोट–गोदाम हुँदै चित्लाङ पुग्न सकिन्छ ।

भादा गाउँ 

नेपाल भ्रमण वर्ष सन् २०११ को अवसर पारेर कैलालीको भादा गाउँका थारुहरूले होमस्टे सञ्चालन गरेका छन् । १ सय ८६ घरपरिवार रहेको यो गाउँका १९ वटा घरमा होमस्टे गर्न सकिन्छ । यहाँ पाहुनालाई थारु परिकार लोकल कुखुरा, माछा, चिंचर तथा रक्सीको स्वाद चखाइन्छ भने सखिया, झुमरा र मघौटा, लट्ठी नाच आदि देखाएर मनोरञ्जन प्रदान गरिन्छ । यहाँ बेहडाबाबा मन्दिरको दर्शन गर्न सकिन्छ । यहाँका होमस्टेमा १ हजार ५ सय देखि २ हजार रुपैयाँसम्मका प्याकेज उपलब्ध छन् । धनगढीबाट बेली हुँदै १७ किलोमिटरको मोटर यात्रापछि भादा गाउँ पुग्न सकिन्छ ।

काउलेपानी

लमजुङको बेसीसहरबाट डेढ घण्टाको यात्रामा पुग्न सकिने काउलेपानीमा पर्यटकलाई मायाको जन्तर लगाइदिने चलन छ । गुरुङ तथा नेवार समुदायको बसोबास रहेको यो गाउँका १४ वटा घरमा होमस्टेको सुविधा उपलब्ध छ । यहाँको ऐतिहासिक दरबार, पुरानोकोट गढी घुम्न लायक स्थल हुन । यहाँबाट मनोरम हिमश्रृंखलाको दृश्यावलोकन गर्न पाइन्छ । यहाँ १ हजार रुपैयाँमा सम्पूर्ण प्याकेज उपलब्ध हुन्छ । 

रानाथारु 

कञ्चनपुरका रैथाने रानाथारुले शुक्लाफाँटा वन्यजन्तु आरक्षनजिकै सामुदायिक होमस्टे सञ्चालनमा ल्याएका छन् । भीमदत्त नगरपालिकामा पर्ने यो होमस्टेले तिन दिनको प्याकेज बनाएर पर्यटकलाई घुमाउँछ । यहाँ पुगेपछि दोधारा–चाँदनीको झोलुङ्गे पुल, शुक्लाफाँटा, रानीताल, पिपरैयाको हात्तीसार, हीरापुरको कृष्णसार संरक्षण केन्द्र, बेदकोट ताल, झिलमिला ताल, बाबाताल, सिंहपाल मन्दिर आदि स्थल अवलोकन गर्न सकिन्छ । आठवटा घरमा सञ्चालित यहाँका होमस्टेमा प्रतिरात १ हजार रुपैयाँसम्म तिरे पुग्छ । 

गाभर भ्याली

बाँकेको कोहलपुर चौराहादेखि ७ किलोमिटर उत्तर चिसापानीनजिकै रहेको गाभर भ्याली जैविक विविधताको दृष्टिकोणले धनी छ । यहाँ पाटे बाघ, चौसिंघा, हात्ती, बार्‍हसिंगे, नीलगाई आदि वन्यजन्तु अवलोकन गर्न सकिन्छ । त्यहाँ पुग्न काठमाडौंबाट चिसापानीसम्म गाडीमा र चिसापानीबाट गाभर भ्यालीसम्म डेढ किलोमिटर पैदल यात्रा गर्नुपर्छ । यहाँ थारु नाच, देउडा नाच, पञ्चैबाजा, ढाल तरबार नाच आदिको मज्जा लिन पाइन्छ । गाभर भ्यालीका पाँचवटा घरमा होमस्टे सञ्चालन गरिएको छ ।

नाम्जे

धनकुटाको नाम्जे गाउँ अमेरिकी समाचार संस्था सीएनएनले केही वर्षअघि विश्वका घुम्नैपर्ने १२ वटा गाउँको सूचीमा राखेपछि चर्चामा आएको हो । यहाँ १९ वटा घरमा होमस्टे सञ्चालन गरिएको छ । मगर संस्कृति, अर्गानिक परिकारका साथै आत्मा बस्ने घर यहाँका विशेषता हुन् । हुर्रा नाच तथा मेहनती कृषकहरू पनि यहाँका पहिचान हुन् । धरानबाट भेडेटार हुँदै २१ किलोमिटरको यात्रापछि नाम्जे पुग्न सकिन्छ ।

ह्याङ्जाकोट

पोखराभन्दा २० किलोमिटर टाढाको ह्याङजाकोट गाउँले परिवेशमा रमाउन चाहनेहरूका लागि उपयुक्त गन्तव्य हो । माछापुच्छ्रे गाउँपालिकास्थित ह्याङजाकोटमा मगर, गुरुङ तथा ब्राम्हण समुदायको बसोबास छ । यहाँ ३५ वटा घरमा होमस्टे सञ्चालन गरिएको छ । लोकल कुखुराको मासु, ढिँडो तथा लोकल रक्सी यहाँका मुख्य आकर्षण हुन् । यहाँ एक रातका लागि ८ सयदेखि १ हजार रुपैयाँसम्म खर्च हुन सक्छ । 

प्रकाशित :आश्विन २२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्