गरौं बिदाको सदुपयोग

- साप्ताहिक संवाददाता

आश्विन २१, २०७५

दसैंदेखि तिहारसम्मको समय विद्यार्थीहरूका लागि सबैभन्दा लामो बिदाको समय हो । यो समय लामो बिदा मात्र नभएर चाडबाडसँगै मौसमको हिसाबले घुमघामको समय पनि हो भने लगातारको अध्ययनबाट छुट पाउने समयसमेत हो । त्यति मात्र नभएर लामो समय पछि घर, परिवार, छरछिमेक एवं आफन्तहरूसँग भेटघाटको समय पनि हो । यो समय नयाँ स्थानको भ्रमणका लागि पनि उपयुक्त मानिन्छ । यो समयमा रचनात्मक तथा सामाजिक काममा सक्रिय भएर जीवनका यी पलहरूलाई अविस्मरणीय बनाउन सकिन्छ । यो समयमा के–के गर्न सकिन्छ त ?

समयको बाँडफाँड : विद्यार्थीहरूले कति समय बिदा छ पत्ता लगाउनुपर्छ । त्यसका लागि के–के गर्न सकिन्छ भनेर तालिका बनाउनु उपयुक्त हुन्छ । सोही योजनाअनुसार आफ्ना क्रियाकलाप अघि बढाउनु राम्रो हुन्छ । जस्तो कि कुन मितिदेखि छुट्टी छ, बिदाको सदुपयोग कसरी गर्ने, घुमघामका लागि कहिले समय छुट्टयाउने, पारिवारिक जमघटमा कहिले रम्ने, साथीभाइहरूसँग कहिले, कसरी सेलिब्रेट गर्नेजस्ता कुराको योजना बनाउनुपर्छ । 

घुमघाम : लामो बिदा भएको हुँदा कुनै नयाँ स्थान घुमघाम गर्नु राम्रो हुन्छ । शैक्षिक संस्था दसैंदेखि तिहारसम्म नै बिदा हुने हुँदा घुमघामका लागि दसैं र तिहारबीचको समय उपयुक्त हुन्छ । दसैंमा पुराना साथीहरू पनि घर आउने हुँदा उनीहरूसँग मिलेर ट्रेकिङ जाने, कुनै पर्यटकीय स्थल पुग्ने योजना बनाउन सकिन्छ । यसरी घुम्न जाँदा कम्तीमा पनि तीन जनाको समूह बनाउनुपर्छ । घुम्न जानुअघि स्थान पक्का गर्ने, त्यहाँको आवास, खानपान, वातावरण आदिको जानकारी लिने र सोहीअनुसार तयारी गरेर निस्कने । 

नयाँ पुस्तकको अध्ययन : कलेज–विद्यालयमा कोर्सका कुरा पढ्दा–पढ्दा वाक्क लागेको हुन सक्छ । निश्चित समय कोर्षका विषयवस्तु अध्ययन गर्नु राम्रै हो तर बिदाको समयमा पनि कति कोर्सका किताब पढ्नु भन्ने पनि हुनसक्छ । त्यसका लागि कोर्ष बाहिरका इतिहास, कथा–कविता, जीवनी जस्ता पुस्तकको अध्ययन उपयुक्त हुन्छ । विशेष गरी बिहान बेलुकाको फुर्सदमा यस्ता पुस्तक पढ्दा बाहिरी ज्ञान हासिल गर्ने राम्रो अवसर प्राप्त हुनुका साथै पढ्ने बानीले समेत निरन्तरता पाउँछ । यसरी पढिने पुस्तक छान्न भने नियमित पुस्तक अध्ययन गर्ने तथा पत्रपत्रिकामा आएका समीक्षाहरूलाई आधार मान्ने । 

सामाजसेवा : अहिले गाउँघर युवाविहीन भएका छन् । दसैं–तिहारको समयमा भने युवाहरू पनि गाउँ फर्कन्छन् । यो समयमा साथीभाइहरूसँग मिलेर सामाजिक कामहरू गर्न सकिन्छ । जस्तै बिग्रिएको ठाउँमा बाटो बनाउने, चौताराहरू सफा गर्ने, संस्कृतिक कार्यक्रमहरूको आयोजना गर्ने, खेल मैदान तयार गर्ने आदि । यसले एकातिर सामूहिकताको विकास गर्छ भने अर्कातर्फ साथीभाइ छरछिमेकहरूसँग भटेघाट गर्ने, गाउँका समस्या एवं त्यसको समाधानका विषयमा छलफल गर्ने बानीको विकास गर्छ । यस्ता काममा सहभागी हुँदा नेतृत्व विकासमा समेत सहयोग पुग्छ । 

आफन्तहरूसँग भेटघाट : यो समय बिदाको मात्र होइन, चाडपर्वको पनि हो । चाडपर्वको बहानामा आफन्तहरूसँगको भेटघाटको अवसर पनि हो । लामो समयदेखि भेटघाट नभएका आफन्त तथा साथीभाइहरूसँग भेट्ने मौका पनि हो । युवा वयमा कतिपय लाई यस्ता भेटघाट मन पर्दैनन, तर सामाजिकीकरणका लागि यस्ता भेटघाट महत्वपूर्ण हुन्छन् । सानालाई माया गर्ने ठूलालाई आदर गर्ने हाम्रो संस्कारलाई बढावा दिने पनि यस्ता भेटघाट हुनु अनिवार्य छ । तपाइ घर परिवारभन्दा बाहिर बसेर अध्ययन गरिरहनुभएको छ र दसैंमा घर जाँदै हुनुहुन्छ भने त यस्तो भेटघाटको महत्व नै बेग्लै हुन्छ । अझ दसैंको टीका लगाउने बहानामा कुनै आफन्तकहाँ पहिलो पटक जाँदै हुनुहुन्छ भने तपाईंले विशेष महत्व पाउनुहुन्छ । तपाईं कहिल्यै नपुगेको ठाउँमा दिदी–बहिनीको विवाह भएको छ भने त तिहारमा त्यहाँ जान छुटाउनु हुँदैन । 

साथीभाइहरूसँगको जमघट : चाडबाड पुराना साथीभाइसँग भेटघाटको अवसर पनि हो । काम तथा अध्ययनका लागि देश–विदेश पुगेका धेरै साथीभाइ दसैं–तिहारको अवसर छोपी घर फर्किएका हुन्छन् । यो उनीहरूसँगको भेटघाटमा पुराना कुरा स्मरण गर्ने, आफूले देखे–भोगेका कुरा तथा अनुभवहरूलाई बाँड्ने मौका पनि हो । यो गाउँ–समाजका लागि साथीभाइ मिलेर कुनै रचनात्मक कामको योजना बनाउने अवसर पनि हो । यस्तै मौकामा भेला भएर पिङ लगाउने, मेला आयोजना गर्ने, नाचगानको कार्यक्रम राख्ने, सामाजिक कामका लागि देउसी–भैलो खेल्ने आदि काममा सक्रिय हुन सकिन्छ । फरक–फरक ठाउँमा बसेका साथीहरूको नियमित सम्पर्कका लागि कुनै फोरम तयार गर्नुपर्छ, जसले सधैंभरि एक–अर्काको सम्पर्कमा रहन सहज बनाउँछ । 

रचनात्मक बन्ने अवसर : नियमित गर्दै आएको कामभन्दा पनि यो फुर्सदमा नयाँ तथा रचनात्मक काम गर्न सकिन्छ । जस्तो साहित्यतर्फ झुकाव छ भने कथा, कविता, निबन्ध, प्रबन्ध, संस्मरण आदि लेख्न सकिन्छ । पुस्तक नै लेख्ने योजना भए वा खेस्रा तयार भए विज्ञहरूसँग छलफल गरी त्यसलाई पुस्तकको रूप दिनु उपयुक्त हुन्छ । संगीत पारखीहरूले यो लामो बिदाको उपयोग संगीत सिक्न गर्न सक्छन् । यतिबेला वाद्यवादन सिक्न वा वाद्यवादनसम्बन्धी पुस्तकहरू अध्ययन गर्न सकिन्छ । कलाकारितामा रुचि भएकाहरूले पनि सम्बन्धित पुस्तकहरू अध्ययन गर्न सक्छन् । कुनै खेलप्रति रुचि भए ती खेलको प्रशिक्षण लिन वा आफूसँग भएको ज्ञान–सीप दाजुभाइ, दिदीबहिनी, साथीभाइहरूबीच बाँड्न सकिन्छ । आफूसँग राम्रो ज्ञान भए त्यो ज्ञान अरूलाई सिकाए आफूसँग भएको ज्ञान थप मौलाउँछ । 

भाइबहिनीहरूसँग समयको सदुपयोग : यतिबेला साना भाइबहिनीहरूको पनि लामो बिदा हुन्छ । यो समयमा आफ्ना भाइबहिनी तथा छरछिमेकका भाइबहिनीहरूलाई भेला पारेर उनीहरूको पुस्तकका विषयवस्तु वा अन्य विषयवस्तु सिकाउन सकिन्छ । यसो गर्दा आफ्नो समय सदुपयोग हुनुका साथै भाइबहिनीहरूको पढ्ने बानीले समेत निरन्तरता पाउँछ । यस्तो समयमा उनीहरूलाई किताबी ज्ञानभन्दा पनि बाहिरी विषयमा छलफल गराउनु उपयुक्त हुन्छ । 

घरपरिवारलाई सघाउने : छोराछोरी लामो समयसम्म घरबाहिर बसेर फर्कंदा आमा–बुबा खुसी नहुने कुरै हुँदैन । अझ घर फर्किएका छोराछोरीले परिवारका काम सघाए भने उहाँहरूको मन कति खुसी होला ? चाडबाडमा घर सफा गर्ने, खानपान तयार गर्ने आदि दैनिक घरेलु काममा आमा–बुबालाई सघाउन सकिन्छ । घुमघामको योजना भए परिवारका सदस्यहरूलाई पनि सँगै लान सकिन्छ । आफू कतै घुम्न नजाने भए आफू घर बसेर अरूलाई घुमघामको अवसर प्रदान गर्न सकिन्छ ।

प्रकाशित :आश्विन २१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्