सेलिब्रेटी अण्डर 30

  • हस्की स्वरको उडान

- कृष्ण भट्टराई

आश्विन २१, २०७५

कुनै पनि क्षेत्रमा ख्याति, प्रसिद्धि अथवा लोकप्रियता हासिल गर्ने व्यक्तिलाई सेलिब्रेटी भन्न थालिएको धेरै भएको छैन । समाजका हरेक क्षेत्रमा सेलिब्रेटी फेला पार्न सकिन्छ ।

नेपाली समाजमै पनि खेलाडीदेखि चिकित्सकसम्म, सञ्चारकर्मीदेखि संगीतकारसम्म अनेकौं सेलिब्रेटी छन् । अधिकांश व्यक्तिलाई कुनै पनि क्षेत्रमा लोकप्रियता हासिल गरेर सेलिब्रेटी बन्न वर्षौं लाग्छ । मनोरञ्जन क्षेत्र भने यसमा अपवाद मानिन्छ । यो क्षेत्रमा लोकप्रियता हासिल गरेर सेलिब्रेटी बन्न अन्य क्षेत्रको तुलनामा केही सहज छ । एउटै चलचित्रमा अभिनय गरेर अथवा एउटै गीत लोकप्रिय भएर सेलिब्रेटी बन्ने कलाकारहरूको संख्या ठूलै छ । मनोरञ्जन क्षेत्रका उदीयमान स्टारहरूमा अनमोल केसी सबैभन्दा लोकप्रिय मानिन्छन् । युवा पुस्तामा उनको क्रेज लोभलाग्दो छ । अनमोलबाहेक ३० वर्षमुनिका अन्य केही कलाकारको क्रेज पनि कम छैन । यसपटक साप्ताहिकले त्यस्ता पाँच जना लोकप्रिय कलाकारलाई समेटेको छ, जसको उमेर ३० वर्ष भन्दा कम छ । यी पाँच जना प्रतिनिधि पात्र मात्र हुन् ।  

हस्की स्वरको उडान

 

चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा... 

खै त मलाई झुम्के बुलाकी... 

माया यो माया....

गायिका आस्था राउतलाई चिनाउन यी तीनवटा गीत नै पर्याप्त छन् । आमनेपाली गायिकाहरू भन्दा पृथक् (हस्की) स्वर भएकाले मात्र होइन, आस्था आफूले गाउने गीतका शब्दका कारण समेत चर्चामा छिन् । उनी सन्देशमूलक गीत गाउँछिन्, कर्णप्रिय संगीत नभै त उनी गीत नै गाउँदिनन् । सांगीतिक यात्राको छोटो अवधिमा थोरै गीत गाएरै स्वदेश तथा विदेशका श्रोताहरूको मनमा बस्न गायिका आस्था राउतले सांगीतिक क्षेत्रमा स्थापित हुन प्रशस्त मेहनत, संघर्ष र दु:ख गरेकी छिन् । स्टेजमा उत्कृष्ट प्रस्तुति दिएकै कारण उनको अधिकांश समय स्टुडियोमा कम, स्टेजमा बढी बित्छ । आस्थाको रगतमै संगीत छ । आस्था पुराना लोकगायक हरिबहादुर राउतकी छोरी हुन् । 

यो पनि पढ्नुहोस् :

लाटी पुतलीको फड्को

 

बाल्यकाल 

सांगीतिक वातावरणमा हुर्किएकी आस्था सानैदेखि गीत–संगीतप्रति आकर्षित थिइन् । संगीतकार सुरेश अधिकारीलाई सांगीतिक गुरु बनाएर सांगीतिक यात्रा प्रारम्भ गरेकी आस्थाले छ वर्षकै उमेरमा पहिलो पटक बाल दिवसको अवसरमा आयोजित राष्ट्रियव्यापी बाल गायन प्रतियोगितामा भाग लिएर दोस्रो स्थान हासिल गरिन् । पहिलो हुने तयारीका साथ सात वर्षको उमेरमा उनले दोस्रो पटक पुन: त्यही प्रतियोगितामा भाग लिइन्, तर दोस्रो स्थानमै चित्त बुझाइन् । दुई पटक बाल दिवसको गायन प्रतियोगितामा भाग लिए पनि उनको फस्र्ट पुरस्कार जित्ने धोको मरेको थिएन । त्यसैले उनले काठमाडौं जिल्ला स्तरीय गायन प्रतियोगितामा भाग लिइन् । त्यसमा भने उनले बाल गीत गाएरै प्रथम स्थान हासिल गरिन् । लगत्तै आयोजित गायन रनिङ शिल्डमा पनि उनले पहिलो स्थान नै हासिल गरिन् । त्यसअघि उनले छ वर्षकै उमेरसम्म ‘छोरालाई पढ्ने पाठशाला, छोरीलाई घाँसे पाखा भीर’ शीर्षकको पहिलो सन्देशमूलक बाल गीत रेडियो नेपालको स्टुडियोमा रेकर्ड गराइसकेकी थिइन् । उक्त गीतमा संगीतकार सुरेश अधिकारीको शब्द तथा संगीत थियो । बाल्यकालमै संगीतकार अधिकारीको शिष्य बनेर उनैद्वारा संगीतबद्ध गीत गाउँदै आएकी आस्था आज पनि अधिकारीकै शब्द तथा संगीतलाई पहिलो प्राथमिकतामा राख्छिन् । 

पहिलो हिट र विवाद

आस्थाले १४ वर्षको उमेरमा एसएलसी परीक्षा दिइन् । सानै उमेरमा विद्यालय भर्ना भएका कारण आफूले दुई वर्ष छिटो एसएलसी दिएको उनको भनाइ छ । एसएलसी दिनुअघि नै उनको स्वरमा परिवर्तन आइसकेको थियो । परिवर्तन भएको आवाज रिमिक्स गीतका लागि उपयुक्त हुन्छ भन्ने संगीतकर्मी डिजे सन्तोषको सल्लाहअनुसार आस्थाले एसएलसी दिए लगत्तै ‘सालको पात टपरी गाँसेर...’ गीतको रिमिक्स भर्सन गाइन् । त्यतिबेला पुराना लोकप्रिय गीतलाई रिमिक्स गर्ने फेसन नै थियो । डिजे सन्तोषद्वारा नै रिमिक्स गरिएको आस्थाको स्वरको उक्त गीत सार्वजनिक भएलगत्तै चर्चामा आयो । आज पनि कन्सर्टहरूमा प्रस्तुत हुँदा दर्शकले उनलाई ‘सालको पात...’ गाउन आग्रह गर्छन् । धेरै वर्षसम्म डिजे सन्तोषले आफ्नो एडिक्सन–२ शीर्षकको एल्बममा समावेश गरेको सालको पात... गीतकी गायिकालाई श्रोताहरूले चिनेनन् । कतिले उक्त गीतलाई बच्चाको स्वर पनि भने, कसैले केटाले गाएको समेत भन्न भ्याएको आस्था सम्झन्छिन् । गीत लोकप्रिय भएपछि मात्र आस्थाले उक्त गीत वास्तविक स्रष्टा उमा गुरुङसँग अनुमति नै नलिई रिमिक्स गरिएको जानकारी पाइन् । त्यही कारणले विवाद सिर्जना भएपछि उक्त गीतको म्युजिक भिडियो समेत बनेन । उनले गीत रेकर्ड गरेको पारिश्रमिक समेत पाइनन् । पहिलो पटक लोकप्रिय भएको गीतबाट हन्डर खाएपछि उनी सांगीतिक क्षेत्र नै त्याग्ने निर्णय गर्दै प्लस टुको अध्ययन पूरा गर्नतर्फ लागिन् । 

यो पनि पढ्नुहोस् :

जीवनको एनिमेशन

 

अध्ययन र संगीत सँगसँगै 

प्लस टु अध्ययनरत छँदै आस्थालाई संगीतकार सुरेश अधिकारीले पुन: सांगीतिक क्षेत्रमा फर्काउने निधो गरे । पृथक् स्वर तथा सानैदेखि संगीत बुझेकी गायिका भएकाले संगीतकार अधिकारी आस्थालाई सांगीतिक क्षेत्रबाट टाढा जान दिने पक्षमा थिएनन् । अधिकारीकै आग्रहमा उनकै शब्द तथा संगीतमा आस्थाले दिनेश डिसीको चलचित्र ‘मायाज बार’मा समावेश गरिएको ‘माया यो माया...’ गाइन् । यद्यपि उक्त गीत आस्थाको स्वरमा रेकर्ड भएको झन्डै चार वर्षपछि मात्र चलचित्रमा प्रयोग गरिएको थियो । उक्त गीत लोकप्रिय हुँदा आस्था पूर्ण रुपमा सांगीतिक क्षेत्रमा फर्किसकेकी थिइन् । त्यसक्रममा उनले अन्य रिमिक्स गीत पनि गाइन् । झन्डै १० वटा भन्दा बढी गीत गाइसक्दा आस्थाले सांगीतिक क्षेत्रमा इमान्दारिपूर्वक काम गर्ने व्यवसायी फेला पारिनन् ।

अमेरिकाको बसाई 

संगीतमा करियर बनाउन गाह्रो हुने देखेपछि आस्थाले प्लस टु लगत्तै अमेरिका जाने निर्णय गरिन् । अमेरिका गएर अध्ययन प्रारम्भ भएको केही समयपछि नै उनलाई त्यहाँ बस्न मन लागेन । एकातिर उनले परिवारलाई धेरै नै मिस गरिन् भने अर्कातिर उनलाई सांगीतिक क्षेत्रको ख्यातिले समेत आकर्षित गरिरहेको थियो । परिवारकी एक्ली सन्तान भएकाले पनि उनलाई बुवा–आमासँग छुट्टिएर अमेरिका बसिरहन गाह्रो भयो । अन्तत: उनी झन्डै दुई वर्ष अमेरिका बसेर स्वदेश फर्किइन् । ‘आमाको माया, आमाले पकाएको खाना अनि परिवारसँग बस्ने बानीले मलाई अमेरिकामा टिक्न दिएन, आस्था सम्झिन्छिन्, त्यो दुई वर्षको अवधिमा म करिव–करिव डिप्रेसनमा गैसकेकी थिएँ । अझ केही समय बसेको भए मलाई धेरै गाह्रो हुने रहेछ । 

टर्निङ प्वाइन्ट

अमेरिकाको कष्टकर बसाइपछि उनी सन् २०१० मा स्वदेश फर्किइन् । स्वदेश फर्किएलगत्तै उनी सांगीतिक कर्ममा यसरी सक्रिय भइन् कि आजको मितिसम्म उनले पछाडि फर्किएर हेर्नुपरेको छैन । झन्डै दुई वर्षको अथक मेहनतपछि सन् २०१३ मा आस्थाले आफ्नो जीवनकै पहिलो एकल एल्बम ‘आधार भाग–१’ सार्वजनिक गरिन् । अन्तत: उक्त एल्बममा समावेश गरिएका गीतहरू नै आस्थाको सांगीतिक करियरका लागि ‘टर्निङ प्वाइन्ट’ साबित भए । खै त मलाई झुम्के बुलाकी, चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा, तीन मोहोरको धागो, कदम चाल...सहित उक्त एल्बममा सात वटा गीत समावेश थिए । ती मध्ये खै त मलाई झुम्के बुलाकी तथा चौबन्दीमा पटुकी...अत्यन्त लोकप्रिय भए ।  

यो पनि पढ्नुहोस् :

जिरो ग्राउन्डबाट हिरो

 

चलचित्रको पाश्र्व गायन

आइटम गीतमा आस्थाको स्वर फिट हुने भएकाले चलचित्रका गीतमा आस्थाको स्वर अनिवार्य जस्तै हुन थालेको छ । चलचित्र मायाज बारको माया यो मायापछि आस्थाले झन्डै दुई दर्जन चलचित्रमा स्वर प्रदान गरिसकेकी छिन् । ‘हरेक नयाँ गीतबाट प्रस्ताव आउने बित्तिकै उक्त गीत बुवा–आमालाई सुनाउँछु, आस्था भन्छिन्– परिवारबाट स्वीकृति पाएपछि मात्र गाउँछु । समाजमा नपच्ने, दुई अर्थी तथा असभ्य गीत नगाउने आस्थाको अडान छ । 

साधारण जीवन शैली 

आस्था बिहान ढिलो उठ्छिन् । उठ्ने बित्तिकै तीन ग्लास पानी पिउने उनको बानी छ । त्यसपछि हल्का ब्यायाम पनि गर्छिन् । मुड चल्यो भने रियाजसमेत गर्छिन्, तर कहिलेकाहीं मात्र । बिहान कालो चियाबाट प्रारम्भ हुने उनको खानपान बिहानको लञ्च हुँदै अघि बढ्छ । आमा भेजिटेरियन भएकीले आस्था पनि करिब–करिब भेज नै हुन् भन्दा फरक पर्दैन । मन परेका चलचित्र सिनेमा हल नै पुगेर हेर्ने उनको बानी छ । कहिलेकाही मकैंको ढिंडो तथा नेवारी परिकार समेत चाख्न रुचाउने आस्थालाई कोरियन तथा चाइनिज खाना विशेष मन पर्छ । फेसनमा खासै ध्यान नदिने आस्था स्कुटरमा यात्रा गर्छिन् । आफ्नो हल्का चब्बी ज्यान घटाउन उनी जिमशाला पनि नगएकी होइनन्, तर दुई–चार दिनपछि नै उनले त्यसलाई निरन्तरता दिइनन् । ‘पहिलेभन्दा ज्यान अलि घटेको छ, आस्था भन्छिन्–‘तर जति घट्नु पर्ने हो, त्यति घटाउन सकेकी छैन ।’ 

 

प्रकाशित :आश्विन २१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्