यौन डर

  • डा. सुमनको सल्लाह

- डा. सुमनराज ताम्राकार

आश्विन १९, २०७५

 

यौनसम्पर्क शारीरिकजस्तो देखिए पनि यसमा मानसिक पक्षको पनि उत्तिकै भूमिका छ । समाजको बृहत्तर हितका लागि यौनका मामिलामा संकुचित हुने गरिएको छ । सामाजिक दृष्टिले अस्वीकार्य तथा सानै उमेरमा यौन दुव्र्यवहारमा परिएको छ भने कालान्तरमा यौन प्रति डर उत्पन्न हुन बेर लाग्दैन । यस्तो डरका कारण विवाहित दम्पतीबीच वा सामाजिक रूपमा स्वीकृत यौनसाथीबीच यौन सम्बन्धमा नकारात्मक असर पर्दा सम्बन्ध नै धरापमा पर्न सक्छ । सामाजिक रूपमा वर्जित यौनमा नौलो अनुभव वा भवितव्य बेहोर्नुपरेको खण्डमा आत्मग्लानी वा पश्चातापको भाव उत्पन्न हुन सक्छ ।

व्यक्तिपिच्छे यौनका विविध पक्षसँग सम्बन्धित डर हुनसक्छ । उमेर सुहाउँदो यौन शिक्षा, सुरक्षित यौनसम्पर्क, वैकल्पिक उपाय, आकस्मिक गर्भ निरोधक, अनिच्छित गर्भको जानकारीको अभाव तथा यौन घटनाको उचित व्यवस्थापनको अभावमा डर उत्पन्न हुन्छ । डर मात्र पाल्नु आपैंmमा समाधान होइन, त्यसको समयमै उचित पहल नगरेको खण्डमा गम्भीर खालको मनोरोग निम्तिन 

बेर लाग्दैन ।

कलिलो उमेरमा यौन दुव्र्यवहार वा यौन हिंसाबाट प्रताडितबाहेक आफूले मन नपराएको व्यक्तिसँगको विवाह वा वैवाहिक बलात्कारको घटनाले समेत यौनप्रति वितृष्णा जाग्ने वा डर उत्पन्न हुने हुनसक्छ । यस्तो डर नजिक हुनेदेखि लिएर चुम्बन गर्ने, नग्न बस्ने, यौन स्पर्श गर्ने, यौन सम्पर्क राख्ने कार्य सँग सम्बन्धित हुन सक्छ ।

अल्पकालीन रुपमा गोप्यता एवं एकान्त वातावरणको अभाव, यौन साथी बीच नै आत्मियताको कमी एवं प्रतिकूल वातावरणले यौन कार्य स्थापित गर्न डर लाग्छ । यसका साथै व्यक्तिमा अन्तर्निहित समस्या, अन्धविश्वास तथा शारीरिक स्थितिले पनि डर उत्पन्न हुन्छ । 

आफ्नो यौनाङ्ग सानो वा ठूलो, बाङ्गो, उत्तेजना नहुने, शीघ्र स्खलन, सुख्खा योनि, निकै कसिलो वा खुकुलो योनि, कुमारीत्व छ छैन, विवाह इतर वा विवाहपूर्वको यौन सम्बन्धको निशानी छ/छैन भन्ने कुराले समेत डर सिर्जना हुन्छ । यस्तो परिस्थितिमा स्थापित यौन कार्य सफल हुँदैन ।

स्कुले जीवनमै उचित यौन शिक्षा, किशोरावस्थामा वृहत्तर प्रजनन् शिक्षाका साथै विवाहपूर्व तयारी एवं विवाहपश्चात्को सम्बन्धका बारेमा उचित परामर्श दिनुपर्छ । यौन हिंसा वा यौन दुव्र्यवहारबाट पीडितको हकमा उचित मनोपरामर्श आवश्यक हुन्छ । यौनप्रतिको भयबाट टाढा भाग्ने होइन कि भयको प्रकृति हेरि चरणबद्ध रूपमा डर, त्रास हटाउने तथा त्यसको सामना गर्ने विधि अपनाउनुपर्छ । शुरुमा लिङ्ग योनि सम्पर्क भन्दा पनि प्रेमिल आत्मीय व्यवहार, यौन भलाकुसारी, आलिङ्गन जस्ता यौन आनन्दका वैकल्पिक उपायहरूको प्रयोगबाट भयातुर यौन साथीमा सकारात्मक भाव सिर्जना गर्न सकिन्छ । 

प्रकाशित :आश्विन १९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्