जीवनको एनिमेशन

- महेश तिमल्सिना

आश्विन १७, २०७५

 

पल शाह नेपाली चलचित्रका स्थापित अभिनेता हुन् । २०४६ सालमा दाङको रामपुरमा जन्मिएका शाहको बाल्यकाल दाङमै बित्यो । बाल्यकालमा चकचके स्वभावका शाह गुच्चा तथा पौडीका सौखिन थिए । उनी स्कुल जान खासै मान्दैनथे । उनलाई सुरु–सुरुका दिनमा स्कुलमा टिक्नै गाह्रो भयो । युकेजी पढ्दाताकाको क्षण सम्झँदै पल भन्छन्— युकेजीमा पढ्दा स्कुलबाट धेरै पटक भागेको थाहा पाएपछि एक दिन बुबा र प्रिन्सिपलले पिट्नु पनि भयो । त्यसपछि भाग्न छाडें । पढाइमा त्यति ध्यान नदिए पनि पल कक्षामा प्राय: पहिलो–दोस्रो भैरहन्थे । ०६० सालमा शाहले द्वितीय श्रेणीमा एसएलसी उत्तीर्ण गरे । 

संघर्षका दिन 

एसएलसीपछि उनी उच्च शिक्षाका लागि काठमाडौं आएर सरस्वती बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायमा भर्ना भए । कुन विषय लिएर अध्ययन गर्दा के हुन्छ भन्ने ज्ञान नभएका शाहले त्यति बेला बैंकर्स बन्ने सपना बुनेका थिए । त्यति बेला उनी दिदीको कोठामा बस्थे । दिदीको एउटा मात्र कोठा अनि आफ्नो पनि कमाइ नभएकाले पललाई त्यहाँ बस्न अप्ठेरो लाग्न थाल्यो । त्यसपछि उनी जागिरको खोजीमा लागे । यही क्रममा सानीआमाका छोरा नितिन चन्दले उनलाई अडियो–भिडियो एडिटिङ सिक्न सुझाव दिए । उनले एक वर्षजति एडिटिङ सिके । त्यसपछि उनलाई चन्दले नै गायक विष्णु देवकोटाको स्काई इन्टरटेनमेन्टमा काम लगाइदिए । 

आईकममा अध्ययनरत रहँदै त्यो काम पाउँदा पलले अब मेरो भविष्य यसमै बित्छ, बल्ल लाइफ सेटल भयो भन्ने सोचेका थिए, तर उनको त्यो सोच धेरै दिन टिक्न सकेन । उनले स्काईमा काम सुरु गरेको केही महिनापछि देशमा ०६२/६३ को जनआन्दोलन चर्कियो । त्यस क्रममा धेरै दिन कफ्र्यु लाग्दा पल काममा जान सकेनन् । उनी करिब १० दिनपछि काममा जाँदा कार्यालयमा ताला लागेको देखे । उनले त्यो बेलासम्म तलब पाएका थिएनन्, जसले गर्दा आर्थिक संकट र डिप्रेसनमा समेत पुगेको पल बताउँछन् । त्यसपछि उनी फेरि भौंतारिएर हिँड्न थाले । यही क्रममा उनलाई नितिनले नै तनाव नलिनु, म जागिर खोजिदिन्छु भनेर आश्वासन दिए । 

अन्तत: उनलाई नितिनले अनामनगर पूर्वी गेटस्थित मनोज पाण्डेको मिडिया प्लसमा एडिटरको काम मिलाइदिए । त्यति बेला पलको उमेर १७ वर्ष मात्र थियो । उनले त्यहाँ ६ महिना काम गरेपछि मात्र तलब पाउन थाले । आफूले सुरुमा ३ हजार ५ सय रुपैयाँ तलब पाएको पल बताउँछन् । मिडिया प्लसमा करिब ५ वर्ष काम गरेपछि उनले सगरमाथा टेलिभिजनमा काम गरे । सगरमाथा टेलिभिजनमा एडिटरका रूपमा काम गरेपछि उनलाई तराई टिभीबाट अफर आयो । त्यहाँ पनि केही समय काम गरेपछि उनी आफूलाई थप परिपक्व बनाउने उद्देश्यले एनिमेसनसम्बन्धी अध्ययनका लागि दिल्ली पुगे । 

उक्त कोर्स सकिएपछि उनी नेपाल फर्केर तराई टिभीमा एनिमेटरका रूपमा काम गर्न थाले । त्यति बेला उनले २० हजार रुपैयाँ पारिश्रमिक पाउँथे । काम गरेको एक वर्षपछि तराई टिभीको आन्तरिक विवादका कारण उनले करिब ७ महिना पारिश्रमिक पाएनन् । त्यति बेला उनलाई मोटरसाइकलको किस्ता र कोठाभाडा तिर्नसमेत धौ–धौ परेको थियो । समयमा घरभाडा तिर्न नसक्दा धेरै पटक घरबेटीको कटाक्ष सुन्नुपरेको अनुभव सुनाउँदै पल भन्छन्— घरभाडा तिर्न नसक्दा घरबेटीले हामीलाई घरबाटै निकालिदिए । त्यसपछि उनले शान्तिनगरकै अर्को घरमा एउटा सानो कोठा लिए । अहिले पनि पहिलेको त्यो घरको बाटो हिँड्दा आफूलाई निकै रिस उठ्ने पल बताउँछन् । 

सफलताको रहस्य 

त्यतिबेलासम्म पलले अभिनेता हुन्छु भन्ने कल्पनासम्म गरेका थिएनन्, तर परिस्थिति फरक हुँदै गयो । एडिटर र एनिमेटरका रूपमा काम गर्ने क्रममा उनी सेल्फी भिडियोसमेत बनाउँथे । त्यो बेला अहिलेको जस्तो सूचना–प्रविधिको विकास भैनसकेकाले ती भिडियोलाई ल्यापटप तथा डेस्कटप कम्युटरमा राखेर साथीहरूलाई देखाउने पल बताउँछन् । उनका ती भिडियो हेरेपछि साथीहरूले सकारात्मक प्रतिक्रिया दिन्थे । त्यसले उनलाई थप हौसला प्रदान गथ्र्यो । यही क्रममा उनलाई विज्ञान राईको निर्देशन रहने ‘तिम्रो यादमा रम्छु’ गीतमा अभिनयका लागि अफर आयो । उक्त भिडियोले खासै चर्चा त पाएन, तर उनी केही दर्शकमाझ चिनिए । त्यो बेला आफूलाई अभिनय गर्न नआउने र अहिलेसम्म पनि अभिनयसम्बन्धी कुनै तालिम नलिएको पल बताउँछन् । पल भन्छन्— मैले सुटिङस्पटबाटै आफूलाई निखार्दै लगेँ । 

यो पनि पढ्नुहोस् :

लाटी पुतलीको फड्को

 

त्यसपछि पलको ध्यान अभिनयले तान्न थाल्यो । यही क्रममा उनले सुनिल गिरीको ‘को होला त्यो आँखा जुधाउने’ गीतमा अभिनय गरे । त्यो गीत भाइरल भयो । त्यही गीतले उनलाई अभिनय क्षेत्रमा स्थापित गरायो । उक्त गीतमा अभिनय गरेको तीन महिनापछि पलले ‘हेल्लो हनि–बनि’ गीतमा अभिनय गर्ने अवसर पाए । लगातार दुई गीतका भिडियोले पललाई यो क्षेत्रमा स्थापित हुन सघायो । उनले अभिनय बापत पारिश्रमिकसमेत प्राप्त गर्न थाले । अभिनयमा दुई वर्ष बिताएपछि पललाई एक दिन निर्देशक मुस्कान ढकालको फोन आयो । पल भन्छन्— मैले मुस्कान दाइलाई भेटेँ, उहाँले मलाई सीधै ‘नाइँ नभन्नु ल–४’ मा अभिनयका लागि अफर गर्नुभयो । चलचित्रमा अभिनय गर्ने अफर आए पनि त्यो बेलासम्म चलचित्रमा अभिनय गर्ने कुनै सोच नभएको पल बताउँछन् । तैपनि उनी मुस्कानलाई भेट्न गए । त्यहाँ उनले चलचित्रका निर्माता विकास आचार्यसँग पनि भेटे । त्यसपछि मुस्कान र वसन्तले उनलाई स्क्रिन टेस्टका लागि बोलाए । 

स्क्रिन टेस्ट भएको सात दिनपछि उनले चलचित्रका लागि छनौट भएको सूचना पाए । त्यसपछि उक्त चलचित्रको सुटिङ सुरु भयो । पलले चलचित्रमा निर्वाह गर्नुपर्ने चरित्रमा डुबेर अभिनय गरे । सुरु–सुरुमा चलचित्रमा अभिनय गर्न धेरै गाह्रो भएको अनुभव पल सुनाउँछन् । पल भन्छन्— चलचित्र अभिनयको विषयमा केही ज्ञान थिएन, तर नाइँ नभन्नु ल–४ बाट मैले धेरै कुरा सिकेँ । नाइँ नभन्नु ल–४ व्यवसायिक रूपमा सफल भएपछि त्यसले पललाई सर्वत्र चिनायो । ‘नाइँ नभन्नु ल–४’ बाट पलले नव अभिनेताको एवार्डसमेत प्राप्त गरे । त्यो एवार्ड लिँदा आँखाबाट आँसु बर्सिएको पल सम्झन्छन् । त्यसपछि उनलाई विभिन्न चलचित्र तथा म्युजिक भिडियोहरूबाट अफर आउन थाल्यो । उनले अहिलेसम्म म यस्तो गीत गाउँछु, जोनी जेन्टलमेन, शत्रुगते आदि चलचित्रमा अभिनय गरिसकेका छन् । 

घरभाडा तिर्न नसकेर घरबेटीबाट निकालिएका पल अहिले शान्तिनगरकै एउटा फ्ल्याटमा आरामदायक ढंगले बस्छन् । उनी चलचित्रबाट पनि राम्रो पारिश्रमिक लिन्छन् । पलले अहिले एउटा म्युजिक भिडियोमा अभिनय गरेबापत ९० हजारदेखि १ लाख रुपैयाँसम्म पारिश्रमिक लिने गरेका छन् । 

प्रकाशित :आश्विन १७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्