रेखा भावुक भएपछि

- साप्ताहिक संवाददाता

आश्विन १६, २०७५

अभिनेत्री रेखा थापा एसिड पीडित युवती सम्झना दासको निधनपछि विचलित भएकी छिन् । अघिल्लो वर्ष नै एसिड पीडित महिलाहरूको साहस तथा प्रतिशोधको कथामा आधारित चलचित्र रुद्रप्रिया निर्माण गरेकी अभिनेत्री थापाले एसिड प्रहार भएको १२ दिनपछि मृत्यु वरण गरेकी सम्झना दासको सम्झनामा सामाजिक सञ्जालमा एउटा पीडादायक स्टाटस लेखेकी छिन् । अभिनेत्री थापा भन्छिन्– ‘सम्झना दास सम्झनामा मात्र सीमित भएर सदाका लागि बिदा भइन् । 

बहिनी सुस्मिता अस्पतालमा उपचारत छिन् । चितवनमा वसन्ती परियारमाथि एसिड प्रहार भएको घटना आज बाहिरियो । उनको शरीरको २५ प्रतिशत भाग जलेको छ । यस्तो खबरले ममा एकसाथ अथाहा आक्रोश र आँसु पैदा गर्छ । सम्झनालाई हार्दिक श्रद्धान्जली अनि सुस्मिता र वसन्तीको शीघ्र स्वास्थ्य लाभको कामना ।’ थापाले महिलामाथि हुने हरेक प्रकारका हिंसाले आफूलाई विथोल्ने उल्लेख गर्दै लेखेकी छिन्–‘एसिड भन्नासाथ शरीर नै उम्लन्छ, कहाली लाग्छ । त्यसैले मैले ‘रुद्रप्रिया’ बनाएँ, एसिड पीडित महिलाको साहस र प्रतिशोधको कथा भन्ने प्रयास गरें । 

यो चलचित्रलाई मैले महिला हिंसाविरोधी अभियानकै रूपमा लिएकी छु, तर हामीले जत्ति नै आधुनिक भयौं, महिला–पुरुषको विभेद हटायौं भने पनि अझै रुद्रप्रियाहरू जन्माइरहेका छौं । अचम्म त के भने, सम्झनाको ज्यानै जाँदा अनि वसन्ती मृत्युसँग लडिरहँदा पनि विरोधका आवाज मुखरित भएका छैनन्, न उनीहरूको उपचार खर्चकै बारेमा कसैलाई चासो छ । त्यसका दुईवटा कारण छन् । एक, उनीहरू कथित तल्लो जातका हुन् । अर्को, विपन्न आर्थिक अवस्थाका पनि । त्यसैले त उनीहरूमाथि त्यतिविघ्न अन्याय हुँदा पनि हामी मौन छौं । यही घटना सहरको कुनै सम्पन्न परिवारमा हुँदो हो त ? 

आफ्नो स्टाटसमा अभिनेत्री थापाले बलात्कारीविरुद्ध समेत बोलेकी छिन् । उनको भनाइ छ– ‘एसिड आतंक होस् अथवा बलात्कार, गुदी कारण एउटै छ–जब कुनै केटीले केटाको इच्छा अस्विकार गर्छिन्, तब उनले कुनै न कुनै रूपको शारीरिक तथा मानसिक हिंसाको सिकार हुनैपर्छ । सम्झना र वसन्तीको हकमा पनि त्यही भएको हो ।’ 

प्रकाशित :आश्विन १६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्