यौन शिक्षा खै ?

- अविरल थापा

आश्विन १६, २०७५

अचेल हरेक दिनजसो अखबारका पानाहरूमा आउने बलात्कारका खबरले जो–कसैलाई विरक्त बनाउन थालेको छ । अझ स–साना नानीहरूको आफ्नै घर वा नातागोताका पुरुषले बलात्कार गरेको कुरा असह्य र ह्दयविदारक लाग्छन् । यतिसम्म निच काम गर्न सक्ने त्यो बलात्कारीको मनोदशा कस्तो होला ? एउटा नाबालक जसको यौनअंगकै राम्रोसँग विकास भएको छैन उसलाई बलात्कार गर्ने साहस र कुकृत्यको कल्पनासम्म कसरी गर्न सकेको होला ? खैर बलात्कार चाहे नाबालकको होस् वा वालिगको त्यो सह्य र क्षम्य कुरा होइन । बलात्कारी पुरुष हुन सक्ला, तर सबै पुरुष बलात्कारी होइनन् । कोही अपराधी निस्किएलान् तर केहीले गरे भन्दैमा समग्र समाजलाई नै सत्तोसराप गर्नु पनि न्यायसंगत होइन । 

हाम्रो समाज कसरी यस्तो रोगी भयो ? किन आफ्नै बाउ, दाजुभाइ, मामा, काका बलात्कारी भएर निस्किरहेछन् ? के उनीहरू मानसिक रोगी हुन् ? यदि होइन भने उनीहरू कसरी यति निच हुन सक्छन् ? समाजमा यौनलाई कसरी हेरिन्छ ? समाजमा यौनलाई दमन गरिएको छ कि छैन ? यौनसुखका अरू तरिका वा विधिका सम्बन्धमा समाज कति जानकार छ ? यौनकर्म पाप हो कि सामान्य प्रक्रिया हो ? यौन फोहोरी कुरा हो कि सफा कुरा हो ? हामीमध्ये कति बाहिर राम–राम भित्र काम–काम भनेर हिंडछौं ? यौनलाई हेर्ने सवालमा किन हाम्रो मापदण्ड दोहोरो छ ? यौनका बारेमा खुलेर कुरा गर्न हामी किन हच्किन्छौं ? हामी कहिलेसम्म यसरी नै ढोंगी भएर हिंडिरहन्छौं ?

एउटा जवान युवक वा युवतीलाई यौनसम्पर्क गर्न मन लाग्नु कुनै अनौठो कुरा होइन । कतिले आफ्नो जोडी आफैं खोज्छन् र अनुकूल समय मिलाएर सम्वन्ध राख्छन् । विवाहितलाई यौनसम्बन्ध राख्न समाजले लाइसेन्स दिएको छ, एद्यपि अविवाहित जोडीले सम्बन्ध राखेको थाहा पाए उनीहरूलाई राम्रो नजरले हेरिँदैन । जसरी प्रेम प्रस्ताव कसैले कसैलाई राख्न सक्छ तर स्वीकार गर्नैपर्छ भन्ने हुँदैन, त्यसैगरी एकले अर्कोलाई यौनको प्रस्ताव पनि राख्न सकिन्छ र राख्न पाइन्छ, तर स्वीकार गर्ने–नगर्ने त्यो अर्को पक्षको अधिकारको कुरा हो, तर यदि इन्कार गरेको खण्डमा दोहोर्‍याएर सताउन थाल्छ भने त्यो यौनहिंसा वा कसैको व्यक्तिगत अधिकारमाथिको हनन हो । कसैलाई एकफेर सभ्य तरिकाले प्रस्ताव राख्ने अधिकार सबैलाई छ, तर बाध्य पार्ने अधिकार कसैलाई छैन । यदि कसैले नमानेको खण्डमा जबरजस्ती गर्छ वा फन्दामा पारेर फाइदा लिन्छ भने त्यो बलात्कार हो जुन अपराधसिवाय केही होइन । नाबालकलाई फकाईफुल्याई वा जबरजस्ती गर्नेहरू त सोझै अपराधी वा मानसिक रोगी हुन् भन्दा फरक पर्दैन । 

आफ्ना बालबालिकालाई स्कुल जाने बेलादेखि नै यौन शिक्षा दिन सके यौन अपराधमा केही कमी ल्याउन सकिन्छ । कतिपय बेला स्कुलमै पनि शिक्षकहरूद्वारा वा घरमा आफन्तहरूद्वारा माया गरेको बहानामा नावालकहरूमाथि यौन हिंसा भैरहेको हुन्छ । आफ्ना नानीबाबुहरूलाई कसैले यसरी माया गर्न थाल्यो भने राम्रो हो, यसरी गर्‍यो भने नराम्रो हो भनेर सिकायो भने उनीहरू पनि सचेत हुन्छन् । तिमीहरूलाई स्कुलमा शंका लाग्यो भने घरमा भन्नु र घरमा शंका लाग्यो भने स्कुलमा भन्नु भनेर प्रशिक्षित गर्न सके घरभित्र, समाजमा वा जुनसुकै आवरणमा लुकेर बसेका यौनपिपासुहरूको पहिचान बेलैमा हुन सक्छ । 

इन्टरनेटको जमाना छ । अभिभावकले पनि सजिलो हुन्छ भनेर उमेर नपुग्दै छोराछोरीको हातमा मोबाइल, ल्यापटप आदि थमाइदिएका छन् । आफूलाई झिझो पनि नलाउने छोराछोरी पनि भुलिने भनेर यो सजिलो माध्यम जो–कसैले अपनाएको पाइन्छ । यद्यपि छोराछोरी त्यसमा के गर्दैछन्, के हेर्दैछन्, के सिक्दैछन्, कोसँग संगत गर्दैछन् अभिभावकहरूलाई पत्तो हुँदैन । समस्या परिसकेपछि बल्ल होस आउँछ । यो कुरामा पनि अभिभावकहरू चनाखो हुनुपर्छ । मोबाइल र इन्टरनेट हतियारजस्तै भैसकेका छन्, जसरी चलायो त्यस्तै नतिजा प्राप्त हुन्छ । राम्रो कुरा यी–यी हुन्, यस्ता कुरा हेर्नु भनेर सिकाए राम्रो र ज्ञानवद्र्धक कुरामा लाग्न सक्छन,् अन्यथा बाटो बिराएको थाहा नहुन सक्छ । त्यसैले पटक–पटक अभिभावकले छोराछोरीका गतिविधि र चालढालको अध्ययन गर्नुपर्छ अर्थात् उनीहरूमाथि निरन्तर निगरानी राख्न सक्नुपर्छ । 

यौन नराम्रो कुरा हो भन्नुभन्दा पनि यौन सम्बन्ध राख्न योग्य उमेर यो हो, यौन सम्बन्धलाई यसरी सुरक्षित तुल्याउनुपर्छ भनेर सिकाउनु बुद्धिमत्ता हुन्छ । नगर भनेको काम गर्न मन लाग्नु मानिसको स्वभाव हो । यौनशिक्षाको सबैभन्दा बढी आवश्यकता किशोरावस्थामा रहेका छोराछोरीलाई हुन्छ । शरीरमा हार्मोनको विकासले गर्दा यौन अंगहरूको विकास हुने, यौनको खुल्दुली र चाहना बढ्ने यही बेला धेरैले बाटो बिराउने सम्भावना हुन्छ । बालक वा किशोरलाई दाजु वा बुबाले र बालिका वा किशोरीलाई आमा, दिदी वा नजिकका कसैले राम्रोसँग शिक्षा दिन सके वा पढ्ने, हेर्ने, सिक्ने कुरा दिन सके बेस हुन्छ । 

यौन नारी–पुरुष दुवैको अधिकार हो तर बलात्कार गर्ने छुट कसैलाई छैन । यौन के हो बुझौं । घरघरमा यौनका सम्बन्धमा खुलेर कुरा गरौं । हामीजति खुल्छौं र पाखण्डी हुन छोड्छौं त्यति नै यौन अपराध कम हुँदै जान्छ । यौन कसैले कसैलाई जबरजस्ती गर्ने कुरा हुँदै होइन । 

Facebook.com/abeeralthapa

Twitter@abeeralthapa

 

प्रकाशित :आश्विन १६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्