सुक्दै बंगलादेशी फुटबल

- हिमेश

आश्विन १५, २०७५

बंगलादेशी फुटबल भनेपछि त्यसको प्रतीकका रूपमा सबैभन्दा अगाडि आउँछ, त्यहाँको प्रसिद्ध बंगबन्धु स्टेडियम । मध्यढाकास्थित यो रंगशालाले बंगलादेशी फुटबलको उतारचढाव आफ्नै आँखाले देखेको छ । अहिले पनि बंगलादेशीहरू फुटबल भनेपछि हुरुक्कै हुन्छन् । विश्वकप सकिएको महिना दिन भैसक्दा अझै पनि यहाँका घरमा अर्जेन्टिनी झन्डा देख्न पाइन्छ । बंगलादेशमा अर्जेन्टिनालाई खुबै मन पराइन्छ । साफ च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशबीच भएको खेलमा पनि बंगबन्धु स्टेडियममा दर्शकको अपार उपस्थिति थियो । 

केही दर्शक त जुलुस अनि ब्यान्ड बाजासहित मैदानमा आएका थिए । गोलरक्षकको भुलमा बंगलादेशले के पहिलो गोल खायो, दर्शकले त्यसलाई सहन सकेनन् । मैदानतिर बोतल फ्याँक्न थालिहाले । त्यसो त यो राम्रो होइन, तर यसबाट उनीहरूको बंगलादेशी फुटबलप्रतिको प्रेम र लगाव पनि झल्कन्थ्यो । कस्तो छ त आजभोलि बंगलादेशी फुटबल ? यही प्रश्न त्यहाँका पत्रकारहरूसँग सोध्ने हो भने उत्तरमा आक्रोस र विद्रोही भाव बढी पाइन्छ । 

उनीहरूको आरोप छ, बंगलादेशी फुटबल बिग्रिएको यसभित्रको राजनीतिले गर्दा नै हो । यसको एउटा राम्रो उदाहरण हो, बंगलादेशी टिमको गोलरक्षकमा मोहम्मद सहिदुल आलमको चयन । उनकै कमजोरीमा बंगलादेशले पहिलो गोल खाएको थियो । विमल घर्तीमगरको सामान्य प्रहारलाई उनले नै पोस्टको दिशा दिए । यसअघि पनि यस्तै स्थितिमा उनले सागर थापाको प्रहार रोक्न सकेका थिएनन् र टिम पराजित भएको थियो । आलमले यस्ता भूल धेरै गरेका छन् । 

धेरैको आरोप के छ भने बंगलादेशसँग उनीभन्दा राम्रा गोलरक्षक नभएका होइनन्, तर खेल्ने बेला आलमले नै अवसर पाउँछन्, किनभने उनको क्लब अवामीको बंगलादेशी फुटबलमा दबदबा छ । यो त बंगलादेशी फुटबलमा देखा परेको एउटा सानो प्रवृत्ति मात्र हो । अधिकांश बंगलादेशी फुटबल प्रेमी त्यहाँको संघका अध्यक्ष काजी सलाउद्दिनसँग पनि खुसी छैनन् । उनकै कारणले बंगलादेशी फुटबलको लोकप्रियता घट्दै गएको आरोप लगाउने धेरै छन् । 

बंगलादेशी मिडियाको निचोड के छ भने बंगलादेशी फुटबल जसरी सुक्दै गएको छ, त्यो नेपालजस्तो देशका लागि पनि उदाहरण हुन सक्छ । पहिलो तथ्य जति बेलासम्म संघ बलियो हुँदैन, फुटबलको विकासको सम्भावना पनि छैन । विवाद र राजनीतिले सबैभन्दा पहिले खेललाई नै बिगार्छ । दोस्रो तथ्य, दक्षिण एसियाली देशमध्ये जुन–जुन देशमा क्रिकेट लोकप्रिय हुन थाल्छ, त्यहाँ सबैभन्दा पहिले मार खाने भनेको फुटबलले नै हो, यसमा पनि उत्तिकै सतर्क हुनु पर्छ । 

बंगलादेशका अधिकांस खेल पत्रकार नेपाल पनि आएका छन् । उनीहरूलाई पनि थाहा छ, नेपालमा फुटबल निकै लोकप्रिय छ, अझ भनौं, नेपालको नम्बर एक खेल हो— फुटबल, तर धेरै आन्तरिक विवादमा अल्झिने हो र क्रिकेटले गरेको विकाससँग आफूलाई पनि कायम राख्न नसक्ने हो भने समग्रमा यो खेल धेरै पछाडि पर्न सक्छ । अझै पनि धेरैको दाबी के छ भने बंगलादेशको नम्बर एक खेल फुटबल नै हो । क्रिकेटले जत्तिकै दाबी गरे पनि बंगलादेशमा फुटबलको लोकप्रियतासँग क्रिकेटको तुलना गर्न सकिंदैन । 

बंगलादेशका एकाध क्रिकेट खेलाडीलाई छाड्ने हो भने अझै पनि यहाँ सबैभन्दा बढी कमाउने खेलाडी फुटबलकै हुन्छन् । यहाँका फुटबल क्लब अझै धनी छन्, तर यो सबैमा एउटा ठूलो धक्का भने पुगेको छ र त्यो हो— नेपालको हातबाट भोग्नुपरेको नमीठो पराजय । बंगलादेशले पछिल्लो पटक सन् २००३ मा आपैंmले आयोजना गरेको साफ च्याम्पियनपिसप जितेको थियो, तर यसपटक फेरि साफ च्याम्पियनसिप आफ्नै भूमिमा हुँदा बंगलादेश सेमिफाइनल पनि पुग्न सकेन, लिग चरणमै रोकियो ।

प्रकाशित :आश्विन १५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्