तपाईं आफैं उल्लू भएको क्षण कुन हो ?

- साप्ताहिक संवाददाता

आश्विन १५, २०७५

०५४ सालतिरको कुरा हो । त्यतिबेला भर्खर–भर्खर वाकमेन निस्किएको थियो । मैले पनि भृकुटीमण्डपमा गएर वाकमेन किनें अनि कानमा लगाएर ठमेल जाँदै थिए । त्यहाँ मैले सरु भन्ने बहिनी भेटेें । उनी मेरो नजिक आइन् । नजिक आएर वाह † कति हेन्डसम देखिएको भनिन् । मचाहिं वाकमेनले गर्दा हेन्डसम देखिएको होला भन्ने सोचिरहेको थिएँ । उनले मेरो टिसर्ट, पाइन्ट र जुत्ताको प्रशंसा गरिन्, म मख्ख परें । त्यसपछि दाइ, कान यता ल्याउनु त भन्दै नजिक आएर दाइ तपाईंको पाइन्टको चेन खुल्लै छ भनिन् । म लाजले भुतुक्कै भएँ । 

शंकर बिसी, निर्देशक 

स्कुलमा साथीले टिफिनमा खाने भनेर स्याउ बोकेको थियो । मैले चाहिँ त्यो चोरेर खाइदिएँ । पछि मैले नै चोरेको भन्ने भएपछि सबैले मलाई गिज्याउन थाले । त्यतिबेला म आफैंलाई कस्तो चोर रहेछु भन्ने लागेको थियो ।

पूजन घिमिरे, मोडल 

दुई वर्षअघिको कुरा हो । बुटवलबाट ममीले फोन गरेर बुबा सिकिस्त बिरामी हुनुहुन्छ भन्नुभयो । म आत्तिएँ । भोलिपल्ट मेरो जन्मदिन थियो । बुबा बिरामी भनेपछि मलाई जन्मदिनको कुनै वास्ता भएन । म हतार–हतार बुटवल पुगें । त्यहाँ पुग्दा त बुबा मेरा बर्थ डे केक लिएर अगाडि बस्नुभएको रहेछ । सबै नजिकका आफन्त गिफ्ट लिएर आउनुभएको थियो । मलाई उल्लू बनाउने योजना बुबाकै रहेछ । एकपटक त रोएँ । पछि एकदम हाँसो पनि उठ्यो । म त उल्लू पो भएछु । 

एञ्जिला रेग्मी, गायिका 

अप्रिल फूलको दिनसाथीलाई म एक्सिडेन्ट परें, हस्पिटल आइज भनेर आफूचाहिं घरमै बसें । ऊ अस्पताल पुग्यो । पछि एक्सिडेन्ट नै नभै बोलाएको भनेर ऊ एकदमै रिसायो । त्यसको ३० मिनेटपछि मेरो स्कुटर एक्सिडेन्ट भयो । यतिबेला चाहिं साँच्चिकै एक्सिडेन्ट भयो भनेर बोलाउँदा उसले पत्याएन अनि म आफैं उल्लू भएँ । 

सृष्टि खड्का, मोडल 

अप्रिल फूलको दिन धेरै पटक उल्लू भएकी छु । 

आभा नेपाल, रंगकर्मी 

मेरो मोबाइलबाट एक जना साथीले मेरो भिडियो खिचेको रहेछ । पछि मैले त्यो भिडियो उसैलाई देखाउँदै ‘हेर् न, यो भिडियो कति राम्रो छ’ भनें । आखिर त्यो भिडियो त्यहीँ साथीले मैले थाहा नपाउने गरी खिचिदिएको रहेछ । उसले त्यो कुरा भनेपछि म आफैं उल्लू भएँ । 

वर्षा राउत, अभिनेत्री 

केही वर्षपहिलकै कुरा हो । मलाई एक जना साथीले अप्रिल फूलको दिन लाजिम्पाट बोलाएर ऊचाहिं आएन । पछि मैले लाजिम्पाट पुगेर फोन गर्दा त अप्रिल फूल भन्यो । त्यति बेला आफूलाई उल्लू बनाएकोमा मलाई एकदमै रिस उठेको थियो । 

लीला गिरी, मोडल 

केही समयअघि प्रकाश भट्ट सरले चितवनका राजेश घिमिरे भन्ने मान्छेलाई चिन्छौ ? भन्नुभयो । मैले चिन्दिनँ भनेँ । अनि मैले जिस्किएर मेरो दाइ पर्ला भनें । उहाँ त्यो त चितवनको गुन्डा, एकदम नराम्रो मान्छे रे भन्न थाल्नुभयो । त्यो मानिसका बारेमा एकदमै नराम्रा कुरा सुनाउन थाल्नुभयो, अनि तस्बिर देखाएर यो मानिसलाई चिनेको छ भन्नुभयो । मैले खोइ देखेजस्तो लाग्यो भनें । आखिर राजेश घिमिरे त त्यहीँ नजिक भएका क्यामेरामेन दाइ हुनुहुँदो रहेछ । त्यतिबेला मलाई सबैले उल्लू बनाइरहेका रहेछन् । 

बेनिशा हमाल, अभिनेत्री 

आफूले एकदमै विश्वास गरेको मानिसले मेरै बारेमा कुरा काटेको सुन्दा चाहिँ आफैं उल्लू भएको महसुस हुन्छ । 

पूजा शर्मा, अभिनेत्री 

केही समयअघि सुदुर पश्चिमको कार्यक्रममा जानुपर्ने थियो । महोत्सवको सिजन भएका कारण धेरै ठाउँमा एकैपटक महोत्सव थियो । मैले आयोजकको नम्बर यताको उता, उताको यता गरेर उल्टो सेभ गरेको रहेछु । जसले गर्दा म बर्दियाको महोत्सवमा जानुपर्ने दिन कञ्चनपुरको झलारी महोत्सव पुगें । पछि सबै कुरा भनेपछि आयोजकहरू पनि कन्भिन्स हुनुभयो । पहिलो पटक नराम्रोसंग उल्लू भएको क्षण यही हो । 

रमेशराज भट्टराई, गायक 

अरुङ्गाबादबाट दिल्ली फर्कने क्रममा मैले ट्रेनमा खानेकुरा किनें । बेच्न आउने मान्छेले मलाई एउटा खानेकुरा देखाएर अर्कै दिएछ । ऊ गैसकेको थियो । पछि खोलेर हेर्दा पो थाहा पाएँ— आफू बेबकुफ भएँ भन्ने कुरा । 

बिपिन कार्की, अभिनेता 

केही समयअघि मेरी एउटी बहिनी र साथी करिश्मा श्रेष्ठले राति नौ बजे मलाई फोन गरेर हामी पुतलीसडकको तिरुपती होटलमा छौं, हामीसँग पैसा छैन, आइज भनेर बोलाए । म राति नौ बजे थानकोटबाट पुतलीसडक पुगें, तर उनीहरू होटलमा पुगेकै रहेनछन् । उनीहरूले मलाई उल्लू पो बनाएका रै’छन् । 

जाहन्वी बस्नेत, मोडल 

प्रकाशित :आश्विन १५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्