रेडलाइट एरियाको इतिहास, समाजको यथार्थ

- साप्ताहिक संवाददाता

आश्विन १४, २०७५

 

लामो समयदेखि नेपालमा रेडलाइट एरिया तोक्ने कि नतोक्ने भन्ने बहस चलिरहेको छ (फ्रन्टपेज : मुख्यमन्त्रीले छेडेको बहस) । कतिपयले लुकिछिपी यस्तो धन्दा चलाइरहेका छन् । कतिलाई जीवन गुजारा गर्न पनि आफ्नो शरीर बेच्नुपर्ने बाध्यता छ । उच्च स्तरबाटै यो समस्याको टुंगो लगाउनुपर्छ । 

अमृता पन्थी

देश विदेशमा ‘थकाली भान्छा’ फैलनु राम्रो कुरा हो (मंगल होस् : ‘थकाली भान्छा’ घरको ब्रान्ड बचाउँm) । नाम र ब्रान्डसँगै नेपाली परिकारलाई लोकप्रिय बनाउनु राम्रो कुरा हो । यद्यपि थकाली नाम राखेर अरू नै परिकार बेच्नु त्यति उचित लागेन ।

जितेन्द्र सेन

संसारमा बढी त देखावटी कुरा नै चल्छन् (युवा मन : देखावटी कुरा) । यद्यपि देखावटी कुरा लामो समय टिक्दैनन् र त्यसको आयु समेत छोटो हुन्छ । मानिसहरू बाहिर देखिएजस्ता हुँदैनन् । उनीहरूको भित्री रूप भने अर्कै हुन्छ । सुबिन भट्टराईको लेखले समाज र हिजोआजका मानिसहरूको यथार्थ चित्रण गरेको छ । 

रवीन्द्र यादव

पोर्न चलचित्रमा बन्देज लगाइनुपर्छ (एउटा दमित यथार्थ) । बाल–मस्तिष्कमा पोर्न चलचित्रले नकारात्मक असर पुर्‍याइरहेको छ । इन्टरनेट तथा युट्युब आदिबाट प्रसारण हुने यस्ता सामग्रीमाथि कडाइ गरिनुपर्छ । 

एमपि थपलिया

गण्डक प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बेलैमा रेड लाइट एरियाको प्रसंग उठाए (अन्तरवार्ता : समाजमा ढोंगको पर्दा उघार्नुपर्छ) । उनको विचारमा सहमत/असहमत हुनु स्वभाविक अनि निजी विचारमा भर पर्ने हो । यद्यपि अब यसको छिनोफानो गर्नुपर्ने बेला आएको छ । नेपालमा यो कुरा सम्भव छ । कानुनी रूपमा वैधानिकता दिइयो भने व्यवसायी र सरकार दुवैलाई राहत हुन्छ । 

लिला थापा, संघर्ष गुरुङ

रेडलाइट एरियाको इतिहास एवं हाम्रो समाजको यथार्थ छर्लङ्ग भयो (रेडलाइट एरिया किन नखोल्ने ?) । डर, धम्की देखाएर एकातिर भ्रस्ट पुलिस अधिकारी व्यवसायीहरूसँग पैसा असुलिरहेका छन् भने अर्कातिर व्यवसायीहरूले त्रासको वातावरणमा काम गर्नुपरिरहेको छ । यस्तो अवस्थामा रेडलाइट एरिया तोकिनु नै उचित हुन्छ । 

सञ्जय गोर्खाली

चलचित्र क्षेत्रमा लेखपढ गर्ने नायिका कमै भेटिन्छन् (उपन्यासकार अभिनेत्री) । अपवादका थोरै नामभित्र परेकी छिन्— सोविता सिम्खडा । सिर्जनात्मक कर्ममा उनको सक्रियताले निरन्तरता प्राप्त गरोस्— शुभकामना ।

बुद्धि कट्टेल

द भ्वाइस अफ नेपालले गाउँघर, सहरतिर लुकेका प्रतिभालाई चिनाउने अत्यन्तै सराहनीय काम गरेको छ (संगीत : दर्शकको मन जित्दै द भ्वाइस अफ नेपाल) । नेपालमा यस प्रकारका अन्य रियालिटी शो आउनु जरुरी छ । संगीतमा मात्र होइन, अन्य विधाका प्रतिभाहरूका लागि पनि यस्तै विशेष कार्यक्रम तयार पारियोस् ।

विकास राई

कस्तो अचम्मको समाचार (पहिलो विश्व : ३१ वर्षपछि पर्स फिर्ता) । संसारमा विरलै हुने घटनाका बारेमा पढ्न पाइयो । कतिपय मानिस यतिसम्म पनि इमान्दार हुँदा रहेछन् ।

रिया स्वाँर

दर्शकको मन जित्ने गीतहरू सुन्न पाइयोस् (म्युजिक अपडेट : नयाँ गीतमा हरिवंश) । सबैका प्रिय हरिवंशलाई धेरै–धेरै शुभकामना छ ।

धर्म तिवारी

नेपाली गीतले ३७ दिनमै १ करोड भ्युज पाउनु निकै राम्रो संकेत हो (कीर्तिमानी गीत) । गीत भनेको त यस्तो पो हुनुपर्छ । राम्रा गीतका दर्शक–श्रोताको कमी छैन भन्ने राम्रो संकेत हो यो ।

स्नेहा काउछा

बलिउडका नायक गोविन्दाकी छोरी टिनाले नेपाली भाषामा कुराकानी गरेको सुनेर रमाइलो लाग्यो (टिनाको नेपाली भाषा) । भविष्यमा उनले नेपाली चलचित्रमा अभिनय गरे अझ खुसीको विषय हुनेछ । 

गंगा शिवाकोटी

प्रकाशित :आश्विन १४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्