चर्चित पुस्तकहरू कसरी लेखियो ?

- नरेन्द्र रौले

आश्विन १४, २०७५

 

 

उपन्यासकार नयनराज पाण्डेले उलार लेखेको बीस वर्ष पूरा भैसकेको छ । उलारसँगै एउटा पुस्ता नै हुर्कियो । त्यही पुस्ताको हातमा उलार हुन्छ । जब यो दृश्यमा उपन्यासकार पाण्डेको नजर पर्छ, त्यतिबेला उनलाई सुखद आश्चर्य हुन्छ । आश्चर्य र आनन्दको त्यही अनुभूतिले कहिलेकाहीँ उनलाई २० वर्षअघिको एकदमै चिसो र झिसमिसे बिहानमा पुर्‍याउँछ । 

पुस वा माघ महिनाको कुनै साधारण दिनको जाडोले लगलग काँपिरहेको बिहान । बाक्लो कुहिरोले काठमाडौंलाई पूरै धमिल्याएको थियो । सुन्धाराको हुलाक भवन अगाडि एउटा रात्रिबस कतैबाट आएर रोकियो । सम्भवत: तराईको कुनै जिल्लाबाट आएको थियो त्यो बस । त्यही बसबाट ओर्लियो दु:खी, पीडित र उपेक्षितजस्तो देखिने एक जना दुब्लो पातलो मधेसी युवक । ऊ एकछिन अलमलियो । ऊ उभिएको चिया पसलको दूूध उम्लियो र पोखियो पनि अलिकति । पसले आत्तियो र चियाका गिलास पखालिरहेकी आफ्नी स्वास्नीसित झोक्कियो । त्यही बेला उक्त युवकले पसलेसित आफू पुग्नुपर्ने ठाउँ कता पर्छ भनेर सोध्यो, नम्रतापूर्वक अनि टुटेफुटेको नेपाली भाषामा । पसले पूरै तनावमा थियो । त्यसैले उसले युवकको प्रश्नको जवाफमा आफ्नो गुप्तांगतिर देखाउँदै भन्यो ‘यी, यहाँ पर्छ, मूला मस्र्या ।’ 

बस्, त्यही एउटा क्षण थियो, जसले मलाई उलार लेख्न उत्पेरित गर्‍यो । आफ्नै आँखाले मैले त्यो क्षण नदेखेको भए वा अनुभूत नगरेको भए सम्भवत: उलार लेखिने थिएन, —पाण्डे भन्छन् । उनलाई नेपालगन्जको झझल्को आयो । सुन्धारामा देखिएको त्यो मधेसी युवकसित उनको चिनजान थिएन । उनले कल्पना गरे, त्यो युवक मेरो नेपालगन्ज तिरको हुनुपर्छ । कुनै बाध्यताले काठमाडांै आएको होला । किनभने गरिब मधेसी काठमाडांै आउनुको अर्थ हो– ऊ सर्वोच्च अदालतसम्म पुगेको आफ्नो कुनै पुरानो मुद्दाको तारिख खेप्न आएको हो कि ऊ आफ्नो निर्वाचन क्षेत्रका विजयी सांसदसित कुनै सहयोगको आशामा आएको हो । पाण्डेले उलार पाँच सिटिंगमा र एउटै मुडमा लेखे । लेखिसकेपछि पाण्डेले त्यसमा परिमार्जन वा पुनर्लेखन भने गरेनन् । उलार २०५५ सालमा प्रकाशित भयो । 

पाण्डे प्राय: दिउँसो लेख्छन् । उनलाई खाना खाइसकेपछिको समय लेख्न उपयुक्त लाग्छ । राति लेख्न त्यति सहज लाग्दैन । लेख्न बस्दा कालो चिया त कहिलेकाहीं दूधको चिया पिउँछन् । उनलाई लेख्नका लागि घर नै एकान्त लाग्छ । पाण्डेको घर मूल सडकभन्दा भित्र भएकाले त्यहाँ होहल्ला हुँदैन । कहिलेकाहीं एक्लै हुँदा खाना बनाउने, सरसामान किन्ने आदि काम पाण्डे आफैं गर्छन् । त्यसो गर्दा उनलाई रमाइलो पनि लाग्छ । लेख्न बस्दा उनी कहिलेकाहीँ अरूका पुस्तक पढ्छन् । त्यस क्रममा उनी आफूले लेख्न बसेको बिधाभन्दा फरक विधाका पुस्तक पढ्छन् । 

अमर न्यौपानेको मदन पुरस्कार प्राप्त कृति सेतो धरती कसरी लेखियो होला त ? धेरैले रुचाएको उक्त कृति लेखक न्यौपानेले चितवनको देवघाटका विधवा आमाहरूसँग कुराकानी गरेर लेखेका थिए । जब विधवाहरूसँग उनी पुराना प्रसंग झिक्न खोज्थे, उनीहरू ‘बाबु, बिर्सिएका र खाटा बसिसकेका घाउहरू किन कोट्याउनुहुन्छ’ भनेर उल्टै प्रश्न गर्थे । त्यतिबेला अमरको मन भारी पनि हुन्थ्यो । अब के गर्ने उनी सोच्नै सक्दैनथे । ती पात्रहरूका बारेमा लेखेर केही पाउने अपेक्षा पनि थिएन । ती पात्रहरूमध्ये धेरैजसो त निरक्षर नै थिए । गहिराइमा डुबेर लेखिएको त्यही पुस्तकले पछि गएर मदन पुरस्कार हात पार्‍यो । ‘सेतो धरती’ माथि चलचित्र निर्माण गर्न खोज्नेलाई अनुमति दिने तरखरमा छन्, अमर । उक्त पुस्तकका तीनमध्ये एक पात्रमाथि चलचित्र तयार गर्न सकिने उनी बताउँछन् । 

पानीको घाम अमरको अर्को चर्चित पुस्तक हो । नेपालगन्ज बस्दा उनले पानीको घाम लेखे । जसमा सीमान्तकृत, गरिब तथा दीनदु:खीहरूकै कथा समावेश छ । ‘धनी, ठूलाबडा र महलमा बस्ने मानिसको आवरण हुने भएकाले तिनको कथा लेख्न सकिँदैन ।’ न्यौपाने भन्छन्, ‘मानहानि होला कि भन्ने डरले तिनलाई सोध्न र कोट्याउन पनि गाह्रो । शक्ति, सत्ता र सम्पत्ति भएका मानिसहरूसँग निकै जोगिएर कुरा गर्नुपर्छ ।’ अमरको नजरमा स्थलगत रूपमा गएर लेख्दा छुट्टै आनन्द प्राप्त हुन्छ । बेलाबेला उनलाई लाग्छ– पुस्तक पढ्नुभन्दा पनि मानिसको जीवन पढ्नु आनन्ददायक हुन्छ । विश्वका महान कृति पढ्नुभन्दा गरिब अथवा निम्न वर्गका सामान्य पात्रको जीवन पढ्नु निकै सुन्दर कुरा हो ।

समर लभ युवा पुस्तामाझ चर्चित उपन्यास हो । लेखक सुबिन भट्टराईलाई समर लभको ड्राफ्ट पूरा गर्न तीन महिना लाग्यो । सुबिन कफी पिउँदै लेख्न रुचाउँछन् । लेखनका लागि घरकै वातावरण उपयुक्त लाग्ने उनी बताउँछन् । कतिपय बेला घरमा पनि भने डिस्टर्ब हुने उनको अनुभव छ । कुनै बेला मोनोटोनस हँुदा रिसोर्टतिर गएर लेख्ने गरेको उनी बताउँछन् । भट्टराईले समर लभ चितवनको जंगल सफारीमा १५ दिन तथा पोखराको रिसोर्टमा केही दिन बसेर फाइनल गरेका थिए । चितवनको सौराहास्थित रिसोर्टमा सुबिन बिहान अबेर उठ्थे अनि ब्रेकफास्ट गरेर दिनभर लेख्थे । बेलुका ५ बजेतिर ८ किलोमिटर जति साइकिलिङ गर्नु उनको त्यतिबेलाको दैनिकी थियो । एक्लै बस्थे कोठामा, शून्य लाग्थ्यो । त्यति बेला बढी सम्झना घरकै आउँथ्यो । दिनमा एक पटक घरमा कुराकानी हुन्थ्यो । बाँकी समय भने लेखेरै बिताउँथे । मनमा लेखनको ड्राफ्ट हुन्थ्यो, अनि ल्यापटपमै सीधै लेख्थे । 

लेख्न बसेपछि बिहानदेखि बेलुकासम्म लगातार ६ घण्टासम्म लेखेको, कुनै बेला १५ मिनेट लेख्दा झ्याउ लागेको उनको अनुभवले बताउँछ । घरमा १ महिना बसेर लेख्नु र बाहिर १० दिन बसेर लेख्नु एउटै हो भन्ने लाग्छ उनलाई । त्यसबीच उनी बढीमा ३ कप कफी पिउँछन् भने ग्रिन टी अलि बढी नै पिउँछन् । 

समर लभको सिक्वेल साया सुबिनले विशालनगरस्थित फाइन प्रिन्टको अफिसमै लेखिसिध्याए । १० बजे अफिस जानेर अनि ५ बजे फर्कनु उनको दैनिकी थियो । त्यसको केही भाग भने न्युरोडस्थित मोबाइल कम्पनीको कार्यालयमा बसेर लेखे । साया लेख्न ४ महिना लाग्यो । मनसुन उपन्यास पनि धेरैजसो घरमै लेखेको भट्टराई बताउँछन् । प्रिय सुफी भने घरमै बसेर लेखियो । ४ महिनाभन्दा बढी लाग्यो । बाहिर गएको भए डेढ महिनामै लेखिन्थ्यो । प्राय: बिहान र दिउँसो लेखियो । 

मोहन मैनालीले मान्ठा डराएको जुग घरमै बसेर लेखे । यो पुस्तक लेख्न १० वर्षभन्दा बढी समय लगाए उनले । मान्ठा डराएको जुग लेख्न किन त्यति समय लाग्यो त ? ‘जब म लेख्न बस्थें, तिनै पात्रहरू सपनामा, आँखामा आउँथे । मैनालीले भने, ‘मान्छे मारेको, रोएको दृश्यहरू दिमागमा आउँदा पीडा हुन्थ्यो । मानिसहरू त्रसित थिए । देशको अबस्था कहालीलाग्दो थियो । त्यो लेखन सुखद थिएन ।’ त्यसैले लेख्दा–लेख्दै बीचमै छाडिदिए । सुरुमा पुस्तक होला जस्तो पनि लागेन । त्यसैले लेखिएका केही भाग पत्रिकालाई दिए । यसबीच लेख्दा–लेख्दै उपल्लो थलो पुस्तकमा हात हाले । मान्ठा डराएको जुगले पद्मश्री साहित्य सम्मान प्राप्त गर्‍यो । ‘म निर्णय गर्न, मूल्यांकन गर्नमा गलत रहेछु भन्ने प्रमाणित भयो ।’ मैनालीले भने । 

मैनालीलाई लेख्न बस्दा घरमा आफ्नै कोठाको त्यही कुर्सी, त्यही टेबल, कम्प्युटर, किताबको गन्ध, भान्सामा कुकरमा लागेको सिठ्टी आदि मन पर्छ । सानो छोराले डिस्टर्ब नगर्दासम्म उनलाई लेख्नै मन लाग्दैनथ्यो । बेलुकाको समयमा कसैको फोन नआउने हुँदा शान्त लाग्थ्यो, बाहिरको हल्ला पनि नहुने भएकाले त्यही समयमा लेख्न रुचाउँछन् उनी । मान्ठा डराएको जुगको चार पटक पुनर्लेखन गरे उनले, त्यो पनि घरमै । ‘घरबिनाको लेखन त सोच्न पनि सकिँदैन ।’ मैनाली भन्छन्, ‘नयाँ ठाउँमा निद्रा लाग्दैन । जहाँ गए पनि घर छाडेको रात मलाई निन्द्रा लाग्दैन । 

नथिया उपन्यासकी लेखिका सरस्वती प्रतीक्षा यो पुस्तकको अनुसन्धानका क्रममा बाहिर गइन् भने लेख्न बस्दा अन्यत्रभन्दा घरलाई नै रोजिन् । बच्चा सानो भएकाले घरमै बसेर लेख्न सहज लाग्यो । ‘घरमा एक प्रकारले अभ्यस्त भैसकेको र घर आफैंमा शान्त भएकाले बाहिरको वातावरण खोज्न मन लागेन ।’ सरस्वतीले भनिन् । उनले प्राय दिउँसो नै लेखिन् । ११ देखि ७ बजेको समय लेखेरै बित्थ्यो । सरस्वतीले युट्युबबाट १ घण्टा लामो धुन डाउनलोड गरेर राखेकी थिइन् ल्यापटपमा । एउटै खालको बाँसुरीको मेडिटेसन धुन कोठामा बजिरहन्थ्यो । त्यही धुन सुन्दै लेख्दा उनमा ऊर्जा सञ्चार हुन्थ्यो । दिमाग फ्रेस भएजस्तो लाग्थ्यो । नथिया लेख्न बस्दा सुरुका दिनमा १० कप सम्म दूधको चिया पिउँथिन् । पछि ग्रिन टी वा ब्ल्याक टी पिउन थालिन् । 

युवा पुस्ताका चर्चित कवि नवराज पराजुली एकदिन घुम्दैघुम्दै पशुपतिनाथ मन्दिर परिसर पुगेका थिए । त्यहाँ उनले लास जलाउने ठाउँमा विदेशबाट कफिनमा आएको एउटा लास देखे । उक्त लास जलाउने क्रममा मृतकका बुबाले आफ्नो छोराको लासलाई ढोगेछन् । त्यसअघि त्यस्तो घटना उनले कहिल्यै देखेका थिएनन् । यस्तो कहालीलाग्दो दृश्य देखेपछि कवि पराजुलीले लेखे, सगरमाथाको गहिराइ । सायद त्यो दिन पशुपति नगएको भए वा त्यो दृश्य नदेखेको भए सगरमाथाको गहिराइ जन्मिने थिएन भन्ने उनलाई लाग्छ । जसले पछि गएर पद्यमश्री पुरस्कार नै हात पार्‍यो । लेख्ने निश्चित समय हँुदैन उनको । राती १ बजे, बिहान ५ बजे, दिउँसो १ बजे । आफ्नै कोठामा बसेर लेख्दा पराजुलीमा बढी ऊर्जा सञ्चार हुन्छ । नवराज मनमा कविता फुर्दा प्राय: मोबाइलमा रेकर्ड गरिहाल्छन् अनि पछि त्यसलाई ल्यापटपमा उतार्छन् । 

 

प्रकाशित :आश्विन १४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्