निर्मलाको आवाज

- विमल वैद्य

आश्विन १३, २०७५

 

निरीह छ मान्छे

मान्छेभन्दा बढी, सरकार निरीह छ

लुट मच्चिरहन्छ

चुपचाप हेरिरहन्छ

चोक–चोकमा अस्मिता च्यातिँदा 

ऊ रमिते बनेर बस्छ

सक्दैन केही गर्न

प्रतिवाद जनाउन पनि सक्दैन ।

थियो एउटा आवाज

त्यो पनि मलिन भैसकेको छ

नपुङ्सकहरू संसद् भवनमा

मसिनो स्वरले 

सदाचारको गीत गाइरहेछन्

यता मन्दिरमा पुजारीहरू

तीजका व्रतालुहरूमाथि 

आँखा डुलाइरहेछन्

सुरक्षाका बर्दीहरू 

प्रहरी चौकीमै व्यभिचारमा लिप्त छन्

साइरनको आवाजभित्र दबेर 

तस्करी दिउँसै सडकमा हुइँकिन्छ

कहाँ पुग्छ सुन

कता हराउँछन् अपराधी

थाहा हुन छोडेको छ

देशमा यतिबेला राष्ट्रवाद जागेको छ

राष्ट्रिय स्वाधिनताका अगाडि

बलात्कारका कुरा अनर्गल हुन्

मान्छे मर्ने कुरा सामान्य हुन् ।

घरभित्रै छोरी असुरक्षित छ

स्कुलभित्र विद्यार्थी

गुम्बाभित्र भिक्षुणीको भो कुरै नगर्नोस्

हरे राम, हरे राम होइन 

आदर्श रामहरू हराएपछि ग्रन्थबाट

रामहरू पनि हे राम, हे राम हुन थालेका छन्

हराम, हराम हुन थालेका छन्

आफ्नै आमाको प्रसव बिर्सिएर छोराहरू उस्तै आमाहरूमाथि 

नाता बिर्सिन थालेका छन्

देशको ढोका बन्द गरेर

मचानबाट उर्दी लाउनेहरू लगाइरहेछन्

समृद्धिको भाकामा स्वर थप्नेहरू थपिरहेछन्

हराउँदै गएको न्याय स्वयं 

न्यायालयको गेटमा मगन्ते बनेको छ

देशको शुसासन 

सिंहदरबारको मूलढोकामा लम्पसार छ

निर्मलाको रगतमाथि टेकेर

भन्नेहरू भन्छन् अझै पनि

यो सरकार जनप्रिय छ

निर्मलाको आर्तनादभन्दा 

यो सरकारको आवाज कर्णप्रिय छ ।

प्रकाशित :आश्विन १३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्