के हो शीघ्र स्खलन

  • डा. सुमनको सल्लाह

- डा. सुमनराज ताम्राकार

आश्विन १२, २०७५

मानव यौन प्रक्रिया चक्रका चार चरणमध्ये उत्तेजना एवं प्लेटो चरणपछिको विशेष महत्वपूर्ण चरणमा चरम सुखसँगै पुरुषमा वीर्य स्खलन हुन्छ । त्यसपछि यौनांगमा शिथिलता आई रिजोलुसन (पुरानै अवस्था) मा फर्कन्छ । कतिपय पुरुषले शीघ्र स्खलनको समस्या भएको गुनासो गर्छन् । प्राय: सबैले अनुभव गरेको तथ्य के हो भने यौनका दृष्टिले परिपक्व भएदेखि तथा वीर्य उत्पादन एवं कुनै तरिकाले स्खलन (हस्तमैथुनलगायतका माध्यमबाट) सुरु भएदेखि शीघ्र स्खलनको समस्या विद्यमान हुन्छ । चाँडो वीर्य स्खलन सापेक्षिक समस्या हो । त्यसैले यसलाई परिभाषित गर्न गार्‍हो छ । स्वस्थ्य व्यक्तिको ३ मिनेटमा वीर्य स्खलन हुन्छ भने शीघ्र स्खलन भएको मान्ने व्यक्तिले २ दशमलव ३२ सेकेन्डमै वा यौन कार्यको ५–१० धक्कामै वीर्य स्खलन हुँदा पनि शीघ्र स्खलनको गुनासो गर्छन् ।

कति समयभित्रको वीर्य स्खलनलाई शीघ्र मान्ने वा कति समयको वीर्य स्खलनलाई ढिलो मान्ने ? यो विषयमा कुनै स्पष्ट समय सीमा छैन । तुलनात्मक रूपमा महिलालाई चरम सुखमा पुग्न ढिलो हुन्छ, त्यही कारणले पनि लोग्नेमानिसहरू शीघ्र स्खलन भएको अनुभूति गर्न पुग्छन् । कतिपयले भने वीर्य स्खलनअघि आउने रसलाई नै वीर्य मान्छन् । कतिपयचाहिँ यौन चलचित्रमा देखाइने लामो यौन कार्यबाट प्रभावित भै आफूमा शीघ्र स्खलन भएको आशंका गर्छन् । 

शीघ्र स्खलन हुनुको मुख्य कारण मानसिक हो । यसले पुरुष प्रजनन प्रणाली वा स्नायु प्रणालीमा खराबी आएको अर्थ लाग्दैन । उनीहरू आफ्नो यौनसाथीलाई सन्तुष्ट तुल्याउन सक्दिनँ कि भन्ने चिन्ताले पनि ग्रस्त हुन्छन् । यस्तो विषयमा चिन्ता गर्नु आवश्यक छैन, तर यस्तो समस्या नियमित रूपमा दोहोरियो भने समाधानतर्फ लाग्नुपर्छ । शीघ्र स्खलन कम गर्ने उपायका लागि धैर्यता चाहिन्छ । 

शीघ्र स्खलनमाथि नियन्त्रण सम्भव छ । यौनसम्पर्कका क्रममा वीर्य स्खलन होला जस्तो भयो भने लिंग बाहिर निकाल्ने अनि उत्तेजना कम भएपछि सक्रिय हुने, यौनसाथीको शरीरका विभिन्न अंगमा ध्यान नदिने, यौन दृश्य तथा यौन परिकल्पना नगर्ने, यौन क्रीडा रोकेर ध्यान अर्कै तर्फ मोड्ने, महिला माथि बसेर यौन क्रीडा गरे स्खलन ढिलो हुने हुँदा आसन परिवर्तन गर्ने, स्खलन हुन लाग्दा यौनसाथीलाई यौन सम्पर्कको गति घटाउन संकेत गर्ने, स्खलन होला–होला जस्तो भयो भने लिंगको फेदमा अँठ्याउने, अण्डकोष र मलद्वारबीचको वीर्य नली थिच्ने, कम चिप्लोयुक्त बाक्लो खालको कन्डम प्रयोग गर्ने । शीघ्र स्खलनको समस्या बिस्तारै हट्दै जान्छ । 

यसका अतिरिक्त लिंग वरिपरिको मांसपेशीको कसरतले पनि शीघ्र स्खलनको समस्या कम गर्छ । यसका लागि दृढ अठोट एवं धैर्यताका साथै यौनसाथीको सहयोग एवं समझदारीको आवश्यकता पर्छ । बेन्जोकेन वा लिग्नोकेन भएका औषधि लिंगमा प्रयोग गर्दा वीर्य स्खलन ढिलो हुन्छ । वीर्य स्खलन नियन्त्रण अभ्यासका क्रममा हस्तमैथुन गर्ने, स्खलन हुनै लाग्दा रोक्ने अनि उत्तेजना कम भएपछि फेरि थाल्ने । यो प्रक्रिया दोहोर्‍याइरहनुपर्छ ।

यौनसम्पर्करहित यौन आनन्द प्राप्त गर्ने वैकल्पिक उपाय पनि अपनाउनुपर्छ । यो काममा धैर्यताका साथै यौनसाथीको सहयोग एवं समझदारी चाहिन्छ । यी सबै अभ्यासका बाबजुद पनि आशातित नतिजा प्राप्त गर्न समय लाग्न सक्छ, तसर्थ धैर्य कायम राख्न सक्नुपर्छ । अभ्यासका क्रममा सफलता प्राप्त भएन भनेर निराश भैहाल्नु हुँदैन । बरु कति सुधार आयो, त्यसमा सकारात्मक सोच राखी अझ राम्रो नतिजा प्राप्त गर्नेतर्फ प्रयासरत रहनुपर्छ । शीघ्र स्खलनको समस्या कायम रहे यौन विशेषज्ञ वा मनोरोग विशेषज्ञको सहयोग लिन सकिन्छ ।

प्रकाशित :आश्विन १२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्