एउटा दमित यथार्थ

- कमल सुवेदी

आश्विन १२, २०७५

आजको संसारमा किशोरावस्थादेखि वयस्क एवं प्रौढावस्थाका अधिकांश मानिस पोर्न चलचित्रसँग परिचित छन् । नेपालमा सरकारले सिधै पोर्न चलचित्र भनेर स्वीकृति त दिएको छैन तर झन्डै पोर्न दृश्यहरू भएका नेपाली भाषाका लघु चलचित्र युट्युबमा प्रशस्त आउन थालेका छन् । नेपाल मात्र एउटा यस्तो देश हो जहाँ राज्यले निर्माण एवं प्रदर्शनको स्वीकृति दिएपछि प्रदर्शन हुने सबै खालका चलचित्रले बराबरी हैसियतमा राज्यबाट प्राप्त सुविधाहरू प्राप्त गर्न सक्छन् । उदाहरणका लागि बलिदान र एटीएम दुवै चलचित्रले राज्यले उपलब्ध गराउने सुविधा समान रूपमा उपभोग गर्न पाएका थिए । अन्य देशमा फरक शैली र विषयवस्तु भएका चलचित्र प्रदर्शन गर्ने हल नै फरक हुन्छन् भने तिनलाई राज्यले दिने सुविधा र तिनले राज्यलाई तिर्नुपर्ने करको व्यवस्थामा जमिन–आकाशको फरक हुन्छ । 

प्रसङ्ग पोर्न चलचित्रको हो— विश्वका धेरै देशमा पोर्न चलचित्र बन्छन् । पोर्न उद्योगको अन्तर्राष्ट्रिय मान्यताअनुसार त्यस्ता चलचित्रमा देखिने कलाकारहरूको उमेर १८ वर्षभन्दा माथि हुनुपर्छ । यो कुराको पुष्टि राज्यको निकायले दिने उमेरको प्रमाणित पत्रले गर्नुपर्छ । कलाकारले निर्माता समक्ष त्यस्तो प्रमाणपत्र पेस गर्छन् र निर्माताले सम्बन्धित फिल्म बोर्डमा उक्त प्रमाणपत्रसहित आवेदन दिन्छ अनि त्यसमा स्वीकृति प्राप्त भएपछि मात्र चलचित्रको छायाङ्कनको काम सुरु हुन्छ । 

 

आजभन्दा हजारौं वर्षअघि कामसूत्रको परिकल्पना भयो, पोर्न चलचित्रको प्रसङ्ग चल्दा कामसूत्रको पनि उल्लेख हुन्छ तर कामसूत्र यौन विषयक शास्त्रीय विधि हो । कामसूत्रको यौनकलाको प्रस्तुति पोर्न चलचित्रसँग मिल्दोजुल्दो भए पनि कामशास्त्र आफैंमा पोर्नशास्त्र भने होइन । वास्तवमा पोर्न चलचित्रकै रूपमा दर्शकमाझ पहिलो पटक सन् १८९६ मा यस्तो चलचित्र सार्वजनिक भएको हो । 

पोर्न कलाकारहरूको पारिश्रमिक प्रतिदृश्य ३ सय डलरदेखि १० हजार डलरसम्म रहेको पाइन्छ । यो क्षेत्रका नवप्रवेशीहरूले प्रतिदृश्य ३ सय डलरका दरले काम थाल्छन् । स्थापितहरू त वार्षिक रूपमै अनुबन्धित हुने प्रचलन पनि छ, जसअनुसार उनीहरूले वार्षिक १० लाखदेखि १५ लाख डलरसम्म पारिश्रमिक प्राप्त गर्छन् । हामीलाई अचम्म लाग्न सक्छ, रक्सीको चुस्कीसँगै खुल्ला प्राकृतिक एवं अप्राकृतिक यौनाचारका दृश्यमा काम गर्ने पोर्न स्टारहरूमध्ये धेरैजसो शाकाहारी छन् र स्वभावैले लजालु प्रवृत्तिका छन् । अझ कतिपय पोर्न स्टार त श्रीमान्–श्रीमती नै छन् । तिनीहरू एक–अर्कासँग बाहेक अरूसित यौनसम्बन्ध नराखेको दाबी गर्छन् । अल्पविकसित राष्ट्रहरूमा निम्न आय भएको पारिवारिक पृष्ठभूमिबाट आएका र यौनलाई पेसाका रूपमा स्वीकार गर्नेहरू पोर्न कलाकारका रूपमा देखिन्छन्, तर विकसित राष्ट्रहरूमा उच्च घरानियाँ परिवारका युवा–युवतीहरू खुला रूपमै पोर्न चलचित्रमा संलग्न हुन्छन् । यस्ता चलचित्रका कलाकार तथा निर्देशकहरू बीस–बाइसे पठ्ठाहरू मात्र हुन्छन् भन्ने होइन, ८० वर्षको उमेरसम्मकाले पनि यस्ता चलचित्रका काम गरिरहेका हुन्छन् ।

डबल एक्स र ट्रिपल एक्स गरी दुई प्रकारका पोर्न चलचित्र अस्तित्वमा रहे पनि हामी पोर्न भन्नासाथ ट्रिपल एक्स चलचित्र बुझ्छौँ । भारतमा डबल एक्स चलचित्रलाई कानुनी मान्यता प्राप्त छ । त्यहाँ नारी कलाकारको कम्मरदेखि माथिको अगाडि र पछाडिको पूरै भाग देखाइएका चलचित्रलाई केवल वयष्कका लागि भनेर सेन्सर बोर्डले स्वीकृति दिएको पाइन्छ । नेपालमा भने त्यस्ता दृश्य भएका चलचित्रले मूलधारकै चलचित्रका रूपमा युनिभर्सल प्रमाणपत्र प्राप्त गर्दै आएका छन् । 

पोर्न कलाकारहरू पोर्न कलाकारितालाई अन्य कर्म जस्तै सहज रूपमा लिन्छन् । विश्वविख्यात पोर्न कलाकार क्वाराले एउटा अन्तर्वार्ताका क्रममा भनेकी छिन्— अन्य सबै किसिमका कार्य र पोर्न कलाकारिता उस्तै–उस्तै हुन् । पृथक्ता के मात्र हो भने अन्य कर्ममा लाग्नेहरूले लुगा लगाएका हुन्छन् भने पोर्न कलाकारहरू लुगाविहीन हुन्छन् । नेपालमा घोषित रूपमै त्यस्ता चलचित्र नबने पनि सर्ट मुभीका नाममा थुप्रै यौन विषयक नेपाली चलचित्र युट्युबमा राखिएका पाइन्छन् तर तिनलाई पोर्न चलचित्र भन्नु उपयुक्त हुँदैन । 

अश्लील चलचित्र, वयस्क चलचित्र, यौन चलचित्र, नीलो चलचित्र एउटै वर्गमा पर्दैनन् तर ती सबैले मूल विषय भने यौनलाई नै बनाएका हुन्छन् । विशुद्ध पोर्न चलचित्रमा आख्यान तत्व झिनो हुन्छ र कलात्मकता पनि भत्किएको हुन्छ । यसका पात्रहरू मानिस मात्र नभएर कुकुर, घोडा तथा अन्य जनावरहरू पनि हुन सक्छन् र त्यस्ता चलचित्रमा अप्राकृतिक यौनाचारका दृश्य पनि राखिएका हुन्छन् । 

सन् १९१० तिर जर्मनीमा बनेको एक पोर्न चलचित्रका कलाकार तथा निर्माताले प्रहरीको कडाइपछि भूमिगत हुनुपरेको थियो । श्याम–श्वेत उक्त चलचित्र १० मिनेट लामो थियो र कलाकार दुई जना मात्र थिए । उक्त चलचित्रमा एउटा पुरुषले एउटी मोटी महिलाका पहिरन एक–एक गर्दै पूर्ण रूपमा खोलेपछि उनको नग्न शरीरलाई पछाडिबाट देखाइएको थियो । सिल्भिया क्रिष्टलद्वारा अभिनीत उक्त चलचित्रपछि नै यस्ता चलचित्र बनाउने प्रक्रिया प्रारम्भ भएको थियो । कालान्तरमा कतिपय देशले त्यस्ता चलचित्रलाई पोर्न चलचित्रका रूपमा मान्यता दिन थाले । 

यस्ता चलचित्रमा काम गर्ने निर्माता, प्रदर्शक तथा कलाकारहरूबाट राज्यले ठूलो मात्रामा कर उठाउँछ । विक्रमको पहिलो शताब्दीमै उदाएको कामसूत्रलाई आधार मानेर सुरु भएको पोर्न प्रस्तुति सन् १८७० तिरदेखि नै स्थिर छायाँका रूपमा पोर्न दृश्यहरू खिचिन थालेका हुन् । एप्स र इन्टरनेटको सहजीकरणका कारण हरेक युवायुवतीको हात–हातमा भएको मोबाइलमा पोर्न चलचित्रहरू आइपुगेका छन् । नेपालमा पनि पोर्न चलचित्रका पक्ष र विपक्षमा थुप्रै बहस हुन थालेका छन् । विपक्षमा रहनेहरूले अब बुझ्ने बेला भयो यसको बन्देज आजको भूमण्डलीकृत विश्वमा चाहेर पनि सम्भव छैन ।

प्रकाशित :आश्विन १२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्