टिनाको नेपाली भाषा

- साप्ताहिक संवाददाता

आश्विन ११, २०७५

सन् २०१५ मा प्रदर्शन भएको पञ्जाबी चलचित्र ‘सेकेन्ड हेन्ड हस्बेन्ड’ मा अभिनय गरेर बलिउड अभिनेता गोविन्दाकी छोरी टिना आहुजाले अभिनयप्रतिको आफ्नो रुचि व्यक्त गरिसकेकी छिन् । बलिउडमा पदार्पण गर्न बाँकी रहे पनि उनी आफू हिन्दी गीतका म्युजिक भिडियोमा सक्रिय रहेको बताउँछिन् । 

आइतबार काठमाडौंमा आयोजित सिने सर्कल एवार्डमा सहभागी हुन बुवा गोविन्दासँगै काठमाडौं आएकी टिनाले त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा नेपाली सञ्चारकर्मीहरूलाई आश्चर्यचकित तुल्याइन् । गोविन्दाको कुरा सकिएपछि सञ्चारकर्मीले टिनालाई बोल्न आग्रह गर्दै नेपाली भाषाका बारेमा जिज्ञासा राखे । टिनाले पनि निर्धक्क रूपमा आफूले नेपाली राम्रोसँग बुझ्ने मात्र होइन नेपाली भाषामै बोलेर नेपाली बोल्न आउने कुरा समेत व्यक्त गरिन् । 

त्यसअघि गोविन्दाले पनि नेपाली बुझ्ने बताइसकेका थिए भने टिनाले त मुम्बईस्थित घरमा आफ्नी आमा सुनितासँग प्राय: नेपाली भाषामै कुराकानी हुने समेत बताइन् । गोविन्दाले कुनै न कुनै दिन नेपाली चलचित्रमा अभिनय गर्ने वाचा गरिरहेका बेला कुनै नेपाली निर्देशकले टिनासमक्ष नेपाली चलचित्रमा अभिनय गर्ने प्रस्ताव पो राख्ने हो कि ? आखिर उनी नेपालीहरूकी भान्जी न हुन् ।

 

प्रकाशित :आश्विन ११, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्