नेपाली धुन चिनाउँदै

- शिव शर्मा

आश्विन १०, २०७५

 

अमेरिका अध्ययनका लागि आएका युवाहरूले खोलेको एफवान ब्यान्ड नेपाली मौलिक संगीतको धुन जोगाउन लागिपरेको छ । टेक्सासस्थित अर्भिङमा बस्दै आएका आयुस, रोशन, युवराज, सविन, रसिस तथा युभीले ब्यान्डमार्फत नेपाली मौलिक बाजा एवं संगीतलाई अमेरिकामा पनि गुन्जाइरहेका छन् । ब्यान्डमा आयुष डंगोलले रिदम, रोशन पराजुलीले बाँसुरी र मेलोडिका, युभी पन्तले पर्कसन, युवराज भट्टले भोकल, सविन रोकाले गितार तथा रसिस माथेमाले धिमेमा साथ दिइरहेका छन् । छोटो समयमै लोकप्रिय भएको यो ब्यान्डले सांगीतिक कन्सर्टहरूमा सहभागिता जनाउने क्रमसमेत बढेको छ । 

रहरैरहरमा मादल, बाँसुरी, पर्कसन, धिमे, गितार आदि बजाउन थालेका युवाहरूको समूह नै पछि ब्यान्डका रूपमा स्थापित भएको हो । यो ब्यान्डले गायनभन्दा पनि धुनमा केन्द्रित रहेर आफ्नो प्रस्तुति दिँदै आएको छ । 

उनीहरूले पहिलो पटक अमेरिकामा बसोबास गर्ने नेपालीहरूको साझा फेसबुक पेज युएस नेपाल हेल्प नेटवर्क मार्फत पहिलो लाइभ शो गरेका थिए । हजारौ प्रयोगकर्ता रहेको उक्त पेजमार्फत गरिएको लाइभ प्रस्तुतिमा अमेरिकामा रहेका नेपालीहरूबाट राम्रो प्रतिक्रिया आएपछि उनीहरू हौसिए । 

‘जहाँ रहे पनि आफ्नो पहिचान र संस्कृतिलाई जोगाऊँ भनेर हामी युवाहरू लागेका हौं,’ ब्यान्डका सदस्य रोशन पराजुलीले भने, ‘सबैतिरबाट राम्रो प्रतिक्रिया आएको छ ।’ उनले आफूहरूलाई थप लोपोन्मुख बाजाहरू आवश्यक परेकाले नेपालबाट झिकाउने प्रक्रियामा रहेको समेत बताए । अहिले उनीहरूले अर्भिङस्थित रमाइलो नेपाली रेस्टुराँमा ‘डिनर विथ एफवान’ मार्फत लाइभ प्रस्तुति दिँदै आएका छन् । 

 

प्रकाशित :आश्विन १०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्