रेडलाइट एरिया किन नखोल्ने ?

- अविरल थापा

आश्विन १०, २०७५

यो संसारमा वेश्यावृत्ति कहिलेदेखि सुरु भयो, कुनै प्रामाणिक दस्तावेज त छैन तर प्राचीन ग्रन्थहरूमा समेत वेश्यावृत्ति आदिम कालदेखि अस्तित्वमा थियो भनेर पढ्न पाइन्छ । कानुन बनाएर कर उठाए पनि नउठाए पनि वेश्यावृत्ति र यौनकर्मी धेरै देश र समाजमा छन् भन्ने कुरा कसैबाट लुकेको छैन । कसले रहरले, कसले सौखले त कसले बाध्यताले पैसा वा आनन्दका लागि शरीरको किनबेच गरिरहेका छन्, त्यो बहसको बेग्लै पाटो हुनसक्ला ।

मानिसको यौनचाहना कुनै कानुनको दफा र धारा लगाएर रोक्न सकिने कुरा होइन । हाम्रो समाजमा बेलाबखत यौनकर्म भनेको विवाहितले मात्र गर्ने कुरा हो भन्ने पाखण्ड पनि देखिन्छ । विज्ञानका अनुसार पनि सामान्यत: १४ वर्ष भएपछि कुनै पनि केटा वा केटीमा यौनचाहनाको प्रारम्भ हुन्छ र एक–अर्काप्रति आकर्षण पैदा हुन थाल्छ ।

 हाम्रो समाजले विवाह नगरी यौनसम्बन्ध राख्न हुन्न भन्थ्यो र आज पनि भन्छ । त्यसो भन्नुको एउटा मुख्य कारण यौन अनुशासन कायम गर्नु हो भने अर्को चाहिँ यौनसम्पर्क पछि हुनसक्ने गर्भाधान र त्यसले अविवाहित युवतीको जीवनमा ल्याउन सक्ने सामाजिक समस्या नै हो । विवाहअघि कुनै युवती गर्भवती भइन् भने समाजले दुत्कार्छ र स्विकार गर्दैन । विज्ञानको विकाससँगै गर्भनिरोधक साधनको विकासले यो समस्या निराकरणमा ठूलो भूमिका खेलेको छ । अब वयस्क युवायुवतीहरूले कोसँग यौनसम्बन्ध राख्ने वा नराख्ने, कसरी राख्ने भन्ने कुरा उनीहरूको चाहना र अधिकारको कुरा भएको छ । आपसी सहमतिमा जो कसैले बन्दकोठा भित्र सम्बन्ध राख्न पाउनु उनीहरूको व्यक्तिगत अधिकारको कुरा पनि हो ।

 

के हो रेडलाइट एरिया ?

रेलको विकासको सुरुवातताका युरोपका रेलमा ब्रेकम्यानको काम गर्नेहरूले राति रातो लालटिन बोक्थे जसले गर्दा आपतकालीन अवस्थामा रेलका चालक दलका सदस्यले उनीहरूलाई सहजै चिनून् र सम्पर्क गर्न सकून् । यिनै ब्रेकम्यानहरू फुर्सदको समयमा रेलमार्ग आसपासका वेश्यालयहरूमा मन बहलाउन जान्थे र आफूले बालेको रातो लालटिन आफू भएको कोठाको झ्याल बाहिर वा कोठाको भित्रपट्टी झ्यालमा राख्थे । त्यसै कारण उनीहरूलाई खोज्दै कोही आइपुगे भने पनि कहाँ छन् भनेर सजिलै पत्ता लाग्थ्यो । कालान्तरमा रातो बत्ती बलेको झ्याल भने पछि त्यो यौन किनबेच हुने ठाउँ हो भनेर चिनिन थाल्यो र बिस्तारै त्यस्तो क्षेत्रलाई रेडलाइट एरिया भनिन थाल्यो । अहिले रेडलाइट एरिया भनेपछि वेश्यावृत्तिका लागि छुट्याइएको ठाउँ हो 

भनेर बुझिन्छ ।

 

कानुनी मान्यता 

कहिले र किन ?

एथेन्सका विधायक सोलोनले २ हजार ६ सय ९ वर्षअघि वेश्यावृत्तिलाई कानुनी मान्यता दिएको अप्रामाणिक तथ्य इन्टरनेटमा उपलब्ध लेखहरूमा पढ्न पाइन्छ । विवाहलाई जोगाउन, यौन दुराचार र विवाहपश्चात् पनि हुने असीमित यौन चाहनालाई सम्बोधन गर्ने हेतुले त्यतिबेलै वेश्यावृत्तिलाई कानुनी मान्यता दिई व्यवस्थित गर्न खोजिएको पाइन्छ । अहिले संसारका ७७ देशले वेश्यावृत्तिलाई पूर्ण रूपमा कानुनी मान्यता दिएका छन् भने ११ मुलुकले आंशिक रूपमा मान्यता प्रदान गरेका छन् । थाइल्यान्ड जस्तो देश त यौन पर्यटनकै कारण प्रख्यात छ ।

पाखण्डी हुने कि नहुने ?

एउटा स्वस्थ मानिसमा यौनचाहना हुनु आश्चर्यको विषय होइन । चाहे त्यो पुरुष होस् वा स्त्री । विवाह एउटा संस्था हो जसले यौनकर्मलाई अनुशासित तथा मर्यादित तुल्याउन सहयोग गर्छ तर यौनसम्बन्ध राख्न पाउनु र यौन सन्तुष्टि प्राप्त गर्नु फरक कुरा हो । आफ्नो श्रीमान् वा श्रीमतीसँग यौन चाहना पूरा भएको भए संसारमा कसैले पनि अर्को विकल्प खोज्दैनथ्यो होला र वेश्यावृत्तिको विकास पनि हुँदैनथ्यो होला । वेश्यावृत्ति गर्नु र थप यौन सम्बन्ध राख्नु पनि फरक कुरा हो । सामान्यतया: वेश्यावृत्ति भन्नाले पैसा वा कुनै चिजका लागि एक–अर्कालाई शरीर सुम्पेर मनोरञ्जन गर्नु–गराउनु भन्न सकिन्छ । कसैले आफ्नो प्रेमी वा वैवाहिक सम्बन्धमा हुँदाहुँदै पनि एकअर्काको चाहनामै यौन सम्बन्ध राख्न राजी हुन्छन् र मर्यादित रूपमा सम्बन्ध राख्छन् भने त्यो उनीहरूको निजी सम्बन्ध हो । विवाहितले अविवाहितसँग पनि राख्ला, अविवाहितले विवाहितसँग पनि राख्ला त्यो पूर्णत: उनीहरूको निजी चाहना र निर्णयको कुरा हो । कुनै पनि सम्बन्ध नैतिक र अनैतिक भन्ने हुँदैन । यदि कसैले जर्बजस्ती वा ललाइ–फकाइ कुनै प्रलोभन वा डर–धम्की देखाई करणी गर्छ वा यौनशोषण गर्छ भने त्यसलाई अपराध मान्नुपर्छ तर दुई जना वयष्क महिला–पुरुषले सहमतिमा सम्बन्ध राख्छन् भने त्यहाँ कानुन र समाजको नियमको कुनै मूल्य हुँदैन । 

अब कुरा गरौं, समाजले उठाउने प्रश्न के आफ्ना छोरी–बुहारी बेचेर पैसा कमाउने ? एउटा खुला सत्य के हो भने अहिले समाजमा लुकीछिपी भैरहेको यौन कारोबारमा पनि कसै न कसैका छोरी–बुहारी नै सक्रिय छन् र किन्न जाने पनि हामीमध्ये कोही र कसैका छोरा नै हुन् । समाजकै पुरुष र समाजकै स्त्रीबिना यो कार्य सम्भव छैन । हाम्रो र समाजको एउटा आदर्शवादी अनुहार छ अर्को व्यभिचारी दिमाग छ । हामी खुलेर भन्न र स्विकार गर्न डराउँछौं । कुनै नांगो तस्बिर वा भिडियो आयो भने हामी सबै हेर्न उत्सुक हुन्छौं, लुकीलुकी हेर्छौं तर बाहिर नैतिकवान आदर्शवान देखिन पनि पछि हट्दैनौं । 

के सामान्य मानिस के उच्च ओहदामा बसेका मानिस समाजमा यौनका भोका र अतृप्त आत्माहरू जताततै छन्, जो आदर्शको खोल ओढेर वा मुखुण्डो लगाएर अन्धकारमा सिकार खोज्न भौंतारिइरहेका छन् । शरीर बेचेर माथि पुग्ने स्त्री र शरीर किनेर वा मागेर पद–पैसा बाँड्ने पाखण्डीहरूको कमी छैन हाम्रो समाजमा । अब धेरै आदर्शको खोल नओढौं । यदि कसैलाई आफनो शरीर बेच्न र कसैलाई किनेर मन बहलाउन अनि जिन्दगी चलाउन मन छ भने बाटो खुला गरिदिनु पर्छ । बरु त्यसलाई कसरी कानुनी दायरामा ल्याई मर्यादित बनाउने विधि निर्माण गरौं जसले गर्दा कसैले यौनको भोककै लागि अबला र कलिला बालिकाहरूको बलात्कार नगरोस् । बलात्कारी अपराधी हो, पुरुष होइन । 

विवाह र यौन ?

यौनकै लागि विवाह गर्नेहरू मूर्ख हुन तर समाजले विवाहपछि यौन सम्बन्ध राख्नेलाई मात्र राम्रो मान्छ । त्यसैले कतै यौनकर्म विवाहितको मात्र अधिकार हो भन्ने भ्रम सिर्जना हुन्छ । यौन स्वस्थ मानिस जो कसैलाई गर्न मन लाग्न सक्छ र उनीहरूले आफ्नो यौनसाथी रोज्न सक्छन् । एक जनासँग मात्र यौनसम्पर्क राख्नुपर्छ भन्ने कुरा आदर्शवादी हो । कसैले राख्छ भने त्यो राम्रो हो । विवाहितले त घरमै सम्बन्ध राख्ला रे तर अविवाहित जोडीलाई सम्बन्ध राख्न मन लाग्यो भने कहाँ जाने ? सहमतिमा कुनै होटल वा लजमा माया, प्रेम, बास्ना जेसुकै होस् साटिरहेका जोडीलाई समात्न बारम्बार नेपाल प्रहरी किन जान्छ ? के झ्यालका पर्दा लगाएर अनि कोठाका चुकुल लगाएर कोठाभित्र सुत्नु गैरकानुनी हो ? प्रहरीलाई यो अधिकार कानुनको कुन धारा र दफाले दिएको छ ? समातेर कसैको व्यक्तिगत अधिकार र इज्जतमाथि खेलवाड गर्नु निर्लज्ज व्यवहारबाहेक केही होइन । 

यौन चाहना सबैमा हुनसक्छ । कुनै विधवालाई, कुनै विधुरलाई, कुनै सम्बन्धविच्छेद गरेको पुरुष वा स्त्रीलाई, उमेर ढल्किएकोलाई, वृद्धवृद्धा जो कसैलाई हुनसक्छ । आफ्नो यौन साथी कसलाई चुन्ने दुईजनाको नितान्त व्यक्तिगत कुरा हो । यदि उमेर पुगेका जो कोही आपसमा सहमत हुन्छन् भने सार्वजनिक ठाउँमा बाहेक गोप्य तरिकाले सम्बन्ध राख्दा समाज र कानुनका सिङ ठाडा हुन आवश्यक छैन । कसैलाई पनि कसैको व्यक्तिगत जीवनमा हस्तक्षेप गर्ने र सार्वजनिक रूपमा हुर्मत लिने अधिकार छैन । एउटाको श्रीमान् अर्काकै श्रीमतीसँग वा कसैकी श्रीमती कुनै परपुरुषसँग आफ्नै रहर, सहमति र चाहनामा शारीरिक सम्बन्ध राख्छन् भने पनि कसैले टाउको दुखाउनु जरुरी छैन । आफ्नो जिन्दगीको व्यवस्थापन गर्ने र आफूले चालेको कदमको भागिदार उनीहरू आफैं हुने हो । त्यसैले कानुनको दुरुपयोग गरेर अनि पाखण्ड देखाएर दोहोरो चरित्र प्रदर्शन गर्ने काम सबैले छोड्नुपर्छ । 

के नेपालमा 

रेडलाइट एरिया खोल्ने ?

हो, सकेसम्म हरेक वडामा हरेक जिल्लामा वा सातै प्रदेशमा खोल्न पहल गर्नुपर्छ । यसले धेरै हदसम्म यौन अपराध रोक्न सहयोग गर्छ । समाजमा व्याप्त बलात्कार र यौनहिंसाका पछाडि यौनदमनको पनि मुख्य भूमिका छ । यौन दमनका कारण नै अब कसैले कसैलाई बलात्कार नगरोस् । कसैलाई शरीर किन्न र बेच्न मन छ भने कुनै निश्चित ठाउँ छुट्याइदिऊँ जसले गर्दा कुनै रोकटोक अनि भयबिना मानिसहरूले आफ्नो चाहना पूरा गर्न पाऊन् । सरकारले कर उठाओस्, स्वस्थ यौन सम्बन्धका लागि चेतना जगाओस् र उक्त स्थानलाई मर्यादित बनाओस् । अर्को कुरा सहमतिमा माया साट्न कुनै होटल वा लजमा पुगेका जोडीलाई तर्साउने र सामाजिक रूपमा मानमर्दन गर्ने अपराध पनि प्रहरीले नगरोस् । 

यति गर्न सके धेरै मात्रामा समाजमा व्याप्त यौन कुण्ठा एवं यौन दमनको व्यवस्थापन हुन्छ । सबैले आफ्नो हैसियत तथा चाहनाअनुसार यौन चाहना पूरा गर्छन् । कसैले यौन बेचेरै जिन्दगी चलाउँछु भन्छ भने पनि त्यो उसको अधिकार हो । 

 कसैले पनि नचाहिँदो आदर्श देखाएर पाखण्ड प्रदर्शन गर्नुभन्दा आफ्नो अनुहार राम्रोसँग ऐनामा हेर्नु उपयुक्त हुन्छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले ठूलो साहस गर्नुभएको छ— यो समाजरूपी जमेको पोखरीमा ढुंगा फ्यालेर । उहाँले भनेअनुरूप रेडलाइट एरिया खोलेर यौनकर्मलाई व्यवस्थित गर्न सके समाज फोहोरी होइन सभ्य र मर्यादित हुँदै जाने थियो । 

प्रकाशित :आश्विन १०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्