देखावटी कुरा

- सुविन भट्टराई

आश्विन ९, २०७५

 

जीवनभरि दुई वटा कुरामा बाँचियो । थोरै वास्तविकता, जो सधैँभरि मनको छिँडीमा लुकिरह्यो, लुकाइरहियो । धेरै देखावटी कुरा, जसकै वरिपरि अधिकांश समय घुमिरह्यो, घुमाइरहियो । 

कतिपय पुस्तक अरूलाई देखाउन पढियो । राम्रो लागेको होस् वा नहोस्, पढेका ती पुस्तकलाई अरूले पनि राम्रो भनेका छन् भन्ने आधारमै राम्रो भनियो । संसारले राम्रो मानेको सिनेमालाई नराम्रो लाग्दालाग्दै पनि राम्रो भनियो । 

स्कुलमा स्कुले साथीझैँ बन्न खोजियो । उनीहरूलाई मनपर्ने कुरा छानी–छानी गरियो । कलेजमा कलेजकै साथीअनुकूल बन्न खोजियो । अफिसमा अफिसकै साथीअनुकूल बनियो । घरमा घर–परिवारअनुकूल बन्ने प्रयास गरियो । जहाँ जाऊँ, उनीहरू केले खुसी हुन्छन्, त्यही बोलियो, त्यही गरियो । राम्रो मान्छे बनेँ/बनिनँ थाहा छैन, तर राम्रो मान्छे बन्ने प्रयास भने सधैँ गरिरहेँ । आफू जे हुँ, मौलिक रूपमा आफैँलाई बग्न कहिल्यै दिइनँ । 

देखावटीका लागि पटक–पटक मोबाइल फेरियो । आफ्नो शरीर सुहाउँदो होइन, दुनियाँले राम्रो भनोस् भन्ने हेतुले कपडा लगाइयो । आफ्नो मस्तिष्कले सोचेको होइन, अरूका कान के सुन्न चाहन्छ भन्ने कुरा बुझेर मात्र बोलियो ।

माया पनि त कतिलाई हो कतिलाई देखावटी गरियो । मनबाट होस्/नहोस्, आँखाले साथ देओस्/नदेओस्, व्यवहारमा देखावटी रंग मिसाउँदै मायाको कुची चलाइयो । कसैले देखावटी सम्बन्धमा फसाए, कसैलाई देखावटी सम्बन्धमा फसाइयो । 

देखाउनलाई नै हो मन नपरेका कैयौँ चिजलाई राम्रो भनियो । देखाउनैका लागि मन परेका चिजलाई नराम्रो पनि भनियो । मन नपरेका कतिपय मानिसलाई महान्को पगरी गुथाइयो, केवल देखाउनैका लागि । 

भित्र जतिसुकै दुखी हौं, हतास हौं, कति हाँसोहरू अरूको हाँसोसित मिलाउनका लागि मात्र हाँसियो । कति आँसुहरू कनीकुथी, सकी–नसकी अरूको दु:खमा दु:खी छु भन्ने देखाउनकै लागि जबरजस्ती काढियो । जहाँ जोसित भेटियो, उस्तै बन्न खोजियो । उसकै बन्न खोजियो । आफू कहिल्यै बनिएन । आफूजस्तै त आफैँसित एकान्तमा पनि बनिएन । आफ्नो मौलिकता खोज्ने पहल कहिल्लै गरिएन । 

देखाउनका लागि देखाउन नसकिने कुरा पनि देखाइयो । देखावटीकै लागि छोप्नुपर्ने कैयौं कुरा छोपिएन । 

संसार यही भ्रममा बाँचेको छ कि देखिएकै कुरालाई मात्र सत्य हो । छोपिएका, छेकिएका, ढाकिएका, छलिएका चिजहरूको अस्तित्व कमजोर नै हुँदो रहेछ । सत्य मैले केही मान्नुसित होइन, सत्य मैले अरूलाई मनाउनुसित सरोकार राख्छ । 

समाजमा पर्नकै लागि, कसैका आँखामा राम्रो बन्नकै लागि सहीलाई गलत भनियो र गलतलाई सही भनियो । एउटाको विश्वास जित्नका लागि जानी–नजानी अर्काको विश्वास तोडियो । 

न कहिल्यै आफूलाई आफ्नै नजरले हेरियो, केवल अरूकै नजरमा उक्लेर जोखियो । आफ्नो मनले के भन्यो, आफैँलाई कहिल्यै टेरिएन । आफूलाई के चाहिन्छ, ठीकसँग कहिल्यै सोधिएन । जिन्दगीमा दुनियाँको बन्न खोजियो, आफ्नो कहिल्यै बन्न सकिएन । दुनियाले के भन्छ, त्यही सुनियो । 

म जे–जस्तो देखिएको छु, त्यो म होइन । म जे होइन, जस्तो देखिन्न, त्यही हुँ । म देखावटी मान्छे । हर दृष्टिमा हर हर्थमा देखावटी मान्छे । म धेरै छोपिएर थोरै देखिएको, थोरै बुझिएर धेरै बुझ्न नसकिएको, एउटा भ्रम हुँ । 

प्रकाशित :आश्विन ९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्