मैदानबाहिर हारेको युद्ध

- हिमेश बज्राचार्य

आश्विन ८, २०७५

 

साफ च्याम्पियनसिप–२०१८ मा नेपालको प्रदर्शन धेरै दृष्टिकोणले अर्थपूर्ण रह्यो र शिक्षाप्रद पनि । एउटा तथ्य मान्नैपर्छ, ढाकामा भएको यसपटकको प्रदर्शनलाई लिएर नेपालले गर्व गर्न सक्छ । कारण प्रतियोगिता सुरु हुनुअघिको केही साता नेपालका लागि सुखद रहन सकेन । जाकार्तामा भएको एसियाली खेलकुदको पुरुष फुटबलमा नेपालले समूह चरण नै काट्न सकेन र पाकिस्तानविरुद्धको खेलसमेत गुमायो । 

त्यसपछि नेपालले आफ्नो प्रमुख प्रशिक्षक नै गुमायो । जाकार्तामा नेपाली टिमका प्रशिक्षक जापानका ग्योटुकु कोजी फेरि नेपाल फर्कन सकेनन । बिनाअनुमति यी विदेशी प्रशिक्षक गैरकानुनी तरिकाले लामो समय नेपाल बसेका थिए । यसमा दोष कसको हो, त्यो आफ्नै ठाउँमा छ, तर यसले दक्षिण एसियाली फुटबलको सर्वोच्च प्रतियोगिताको तयारी नेपालले सुमधुर ढंगले गर्न नसकेको कुरा नै प्रमाणित हुन्छ । साफ च्याम्पियनसिप सुरु हुनुभन्दा केही दिनअघि मात्र बालगोपाल महर्जन प्रशिक्षण नियुक्त भए । 

यस्तोमा नेपालले ढाकामा राम्रो प्रदर्शन गर्न सक्ने कुरामा आशंका सिर्जना भैसकेको थियो । नभन्दै नेपाल लिग समूहको आफ्नो पहिलो खेलमै पाकिस्तानसँग २–१ ले पराजित भयो । त्यतिबेलै धेरैले अनुमान गरिसकेका थिए, अब नेपाल फेरि एकपटक सेमिफाइनल पुग्न सक्ने छैन र चाँडै घर फर्कनेछ, तर त्यस्तो भएन, नेपालले त्यसपछि भुटानलाई ४–० तथा आयोजक बंगलादेशलाई २–० ले पन्छायो । वास्तवमै त्यो गज्जबको प्रदर्शन थियो र नेपालको यहाँसम्मको यात्राको प्रशंसा गर्नैपर्छ । 

त्यसको ठीक विपरित सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी माल्दिभ्ससँगको खेल भने बिर्सनलायक रह्यो । आफ्नो पहिलो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको माल्दिभ्सले भारतसँग पनि २–० को हार बेहोरेको थियो । यस्तोमा माल्दिभ्सको प्रदर्शनको व्यापक आलोचना भैरहेको थियो । अर्कातर्फ माल्दिभ्सको घरेलु फुटबल पनि कलहबाट गुज्रिरहेको स्थितिमा धेरैले अनुमान गरे, यो टिम फाइनल पुग्न योग्य छैन, उपाधि जित्ने त अझ परको कुरा थियो । 

यद्यपि त्यही टिमले नेपाललाई सेमिफाइनलमा नमज्जासँग ३–० ले हरायो । नेपाल फेरि एकपल्ट सेमिफाइनलमै रोकियो । आखिर यही टिमले फाइनलमा भारतलाई पनि हराएर उपाधि नै जित्यो । भलै लिग चरणमा माल्दिभ्सको प्रदर्शन कमजोर थियो, तर नकआउट चरणमा उसको प्रदर्शन सनसनीपूर्ण रह्यो । इतिहासमा जति बेला माल्दिभ्सको यो यात्राको विश्लेषण गरिनेछ, त्यति बेला भनिनेछ, माल्दिभ्स उपाधिका लागि पूर्णत: हकदार थियो । 

यसको विपरित जुन बेला नेपाललाई फेरि एकपल्ट निर्णायक प्रदर्शनको आवश्यकता थियो, ठीक त्यही बेला टिमले राम्रो गर्न सकेन । प्रतियोगिता सकेर नेपाली टिम काठमाडौं फर्किएपछि विश्लेषण गर्दा के निचोड निस्कन्छ भने नेपालले खेल मैदानभित्र होइन, मैदानबाहिर गुमाएको हो । धेरै दृष्टिकोणबाट भन्न सकिन्छ, खेलाडीले मैदानमा सक्दो खेलेपनि त्यसलाई सुहाउँदो व्यवस्थापन ढाकामा देखिएन ।

ढाकामा नेपाली टिमको फितलो व्यवस्थापनको नमुना नै देखियो । खासमा यसपटकको साफ च्याम्पियनसिपमा नेपालको प्रदर्शन मैदान बाहिर हारेको युद्ध जस्तै रह्यो र त्यसको प्रमुख कारण थियो, फितलो व्यवस्थापन । आजभोलि नेपाली टिमले ठूलो प्रतियोगिता अघि आफ्नो तयारी सातदोबाटोको अप्राकृतिक मैदानमा गर्छ । धेरै भैसकेको छ, नेपालले प्राकृतिक मैदानमा अभ्यास नगरेको । सातदोबाटोको टर्फ मैदानमा अभ्यास गर्दा–गर्दा नेपालका अधिकांश खेलाडीले प्राकृतिक घाँसे मैदानमा खेल्न बिर्सिसकेको अवस्था छ । 

कुनै समय के भनिन्थ्यो भने पानी परेर मैदान हिलाम्मे भएपछि सबैभन्दा राम्रो खेल्ने टिम नेपाल नै हो । त्यस्तो किन भने नेपाली खेलाडी हिलाम्ये मैदानमा खेल्न अभ्यस्त थिए । अचेल नेपाली खेलाडीले त्यस्तो अवसर गुमाइसकेका छन् । यस्तोमा भन्न कर लाग्छ, सातदोबाटोको टर्फ मैदानमा धेरै अध्यास गर्नु पनि नेपालका लागि हितकर हुन छाडेको छ । खेलाडीले यस्तो मैदानमा अभ्यास गर्न त पाउनु पर्छ नै, प्राकृतिक घाँसे मैदानको अनुभव पनि उत्तिकै चाहिन्छ । यसको प्रभाव माल्दिभ्सविरुद्धको सेमिफाइनलमा देखियो । लगातारको पानी र चट्याङको सम्भावनाबीच पहिलो हाफमा लगभग आधा घन्टा खेल रोकियो । यसबीच बंगबन्धुको मैदान पूर्णत: हिलाम्य भैसकेको थियो र त्यो मैदानमा नेपाली खेलाडीले खेल्नै सकेनन् । यसका पछाडि एउटा कारण त नेपाली टिम यस्तो मैदानमा खेल्न अभ्यस्त नहुनु नै थियो । अर्को कारण थियो, त्यस्तो हिले मैदानमा खेल्न चाहिने बुट नेपाली खेलाडीसँग थिएन् । त्यसैले नेपाली खेलाडी लगातार मैदानमा चिप्लिरहे, लडिरहे । 

अर्कातर्फ माल्दिभ्सका खेलाडीले भने ढुक्क भएर खेलेको देखियो । यस्तो मैदानमा खेल्न स्टड भएको बुट चाहिन्छ । त्यस्तो बुटको मुनि फलामे गट्टा हुन्छन् । नेपाली खेलाडीमध्ये गोलरक्षक किरण लिम्बू तथा मिडफिल्डर निराजन खड्काले मात्र स्टड बुट प्रयोग गरे, अरू खेलाडीसँग स्टड बुट थिएन । केही वर्षअघि नेपालले यस्तै समस्या सामना गरेको थियो र त्यति बेला अखिल नेपाल फुटबल संघले केही दर्जन बुट विदेशबाट मगाएको थियो । 

सम्भवत: ती सस्ता र कमसल खालका थिए, फेरि प्रयोगमा आएनन् अथवा ती महँगा र स्तरीय थिए, त्यसैले ती सबै बुट कहींकतै हराए । जति बेला ढाकामा चाहिएको थियो, त्यति बेला त्यस्ता बुट उपलब्ध हुन सकेनन् । सेमिफाइनलको पहिलो हाफमा खेल रोकिंदा खेलाडीको जर्सी नराम्रोसँग भिजिसकेको थियो, तर नेपालसँग त्यसको स्थानमा सुकिलो जर्सि लगाउने विकल्प पनि थिएन् । सबैलाई थाहा थियो, यो दक्षिण एसियामा पानी पर्ने समय हो ।

सेमिफाइनलअघि नै सहभागी सबै टिमले आफ्नो जर्सीमा हस्ताक्षर गर्ने कार्यक्रम थियो । नेपाली टिमले जर्सीका लागि चिनियाँ कम्पनी केल्मीसँग अनुबन्ध गरेको छ, तर साइनिङ कार्यक्रममा खेलाडीले अर्कै ब्रान्डका जर्सिमा हस्ताक्षर गरे । यस्तोमा केल्मीले खुलेरै त्यसको विरोध गर्नुपरेको थियो । आखिर यो सबै व्यवस्थापनकै कमजोरीले त भएका हुन् । यस्तै व्यवस्थापन रहने हो भने नेपाली फुटबलले सफलता हात पार्ने सम्भावना अझ कम हुनेछ । तसर्थ ढाकामा नेपाली फुटबल टिमलाई व्यवस्थापन गर्ने जिम्मेवारी पाएका ती सबै अहिलेको नेपालको पराजयका लागि जिम्मेवार छन् । यो प्रकरणलाई अब पनि ढाकछोप गर्ने हो भने नेपाली टिमले फुटबल नै नखेले हुन्छ ।

प्रकाशित :आश्विन ८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्