आँखाभरि इजरायल

- भगवती बस्नेत

आश्विन ६, २०७५

आँखाभरि सपनाहरूको बिस्कुन फिँजाएर अनि मनमा अनगिन्ती योजना सम्हालेर इजरायल आएकी थिएँ । कति सपना पूरा भए, कति अधुरै छन् । नेपालको हिमालको हावाको झोंक्काले एकाबिहानै साउती मार्‍यो– अब तिमी आफ्नै देश फर्कनुपर्छ । बाँकी रहेका अधुरा सपना आफ्नै देशमा पूरा गर्नुपर्छ । मैले पनि फर्कने मन बनाएँ । एक दशकभन्दा बढी प्रवासी जीवन बिताएँ । इजरायलमा अशक्तको हेरचाह गर्ने मात्र नभएर साहित्यिक, सामाजिक, सांस्कृतिक क्षेत्रका विभिन्न तह र तप्कामा रहेर काम गर्ने सुनौलो अवसर पाएँ । 

हुन त पराइभूमि जाने न त इच्छा थियो न रहर । नियतिले लेखेको यो कर्मलाई मैले खुसीखुसी अंकमाल गरे । जिन्दगी एउटा सम्झौता न हो, समयले दिएको अवसरलाई यथासक्य उपयोग गरे । सुसारे कर्ममा अभ्यस्त हुने क्रममा लाग्थ्यो, यो पुण्य कर्म पनि हो । अरूको आत्मालाई खुसी बनाउनु, अशक्त, असहाय वा शक्ति क्षीण हुँदै गएका वृद्धवृद्धाहरूको स्याहार गर्ने काम, काम मात्र पक्कै होइन । यसमा कहीं न कहीं हाम्रो आत्मियता जोडिएको हुन्छ । यसमा केही न केही पुण्यभाव मिसिएको हुन्छ । जीवनको उत्तराद्र्धमा पुगेका मानिसहरूको संगतले थुप्रै अनुभव दिलायो । सामाजिक, साहित्यिक कार्यले सधैं हौसल्ला र ऊर्जा थपिरह्यो ।

इजरायल आउने सबैजसो कामदारले सजिलो काम गर्छन्, सबैले राम्रै आम्दानी गर्छन् । तैपनि, यहाँ सबै कुरा सतप्रतिशत नै राम्रा छन् भन्ने पनि होइन । यहाँ पनि काममा विविध समस्या, दु:ख अनि हैरानी पनि छन् । चौबीसै घण्टा घरमा बसिरहनु पर्ने हुँदा पिंजडाको सुगा जस्तै भइन्छ । भनेको समयमा छुट्टी नमिल्ने हुँदा गर्छु भनिएका कति काम समयमै गर्न पाइँदैन । भेट्छु भनेका साथीभाइ तथा आफन्तसँग भेट्न सकिँदैन । 

अल्जाइमर, डिमेन्सिया जस्ता बिभिन्न किसिमका रोगीसँग बस्दा वा उनीहरूको हेरबिचार गर्दा आफ्नै मनस्थिति बिग्रने डर समेत हुन्छ । यस्तै कामबीच, चारैतिर दुश्मन देशले घेरिएर बसेको इजरायलले गरेको प्रगति देखेर यहाँका मानिसको लगनशीलता ,देश प्रेम र स्वावलम्बन अनि युद्धका आर्तनादमा पनि मानिस खुसीका साथ बाँचिरहेको देखेर पनि धेरै कुरा सिकियो । यस्तो अफ्ठ्यारो परिस्थितिमा पनि इजरायलमा कार्यरत नेपालीहरूले सामाजिक धार्मिक, सांस्कृतिक, साहित्यिक एवं परोपकारि संघ–संस्थामा आबद्ध भएर नेपाली भाषा कला, साहित्य, धर्म एवं संस्कृतिको जगेर्ना गरिरहेका छन् । असहाय दुखी, पीडितहरूलाई आफ्नो कमाइको थोरै हिस्सा भए पनि बाँडेका छन् । छुट्टीमा रमणीय ठाउँहरू घुम्न जाने, नेपाली चाडपर्वहरू मनाउने, समय–समयमा नेपालबाट कलाकारहरू झिकाएर सांस्कृतिक कार्यक्रम गर्ने जस्ता गतिविधिलाई निरन्तरता दिइरहेका छन् । इजरायलमा दु:ख गरेर धेरैले आ–आफ्नो घरपरिवारको भविष्य उज्वल बनाइरहेका छन् ।

इजरायल नेपालभन्दा धेरै सानो राष्ट्र, त्यसमा पनि चारैतिरबाट दुश्मन देशहरूले घेरिएको । यस्तो अवस्थामा पनि यो देशले आफूलाई सुरक्षित राखी विकास र प्रविधिमा उत्कृष्टता देखाउँदै आएको छ । यहाँका जनताले आफ्नै मेहनत र परिश्रमले मरुभूमिमा हरियाली छरेका छन् । हाम्रो देश नेपालको उर्बर भूमिमा मेहनत र परिश्रम रोप्ने हो भने सुन फल्छ भन्ने कुरा इजरायलले कृषिक्षेत्रमा प्राप्त गरेको उपलब्धि देखेपछि जोकसैले अनुभव गर्न सक्छन् । इजरायलीहरू आपसमा लडाइँ–झगडा गर्दैनन् र कानुनको अक्षरंश पालना गर्छन् । परेका बेला देशका लागि एकजुट हुन्छन् । 

७० वर्षको छोटो इतिहास भएको इजरायलले हरेक क्षेत्रमा चमत्कारिक प्रगति गरेको छ । इजरायलमा जम्मा २० प्रतिशत जमिन मात्र खेतीयोग्य छ । यति थोरै जमिनमा आधुनिक प्रविधिद्वारा खेती गरेर इजरायलले आफ्नो आवश्यकता पूरा मात्र गर्दैन निर्यात समेत गर्छ । इजरायलको कृषि विकासमा सरकारी नीतिको ठूलो योगदान छ । इजरायलमा किबुच र मुसाफ गरी दुई प्रकृतिका कृषि समुदाय छन् । किबुचमा उत्पादनका साधनमा समुदायको अधिकार हुन्छ । समुदायका हरेक व्यक्तिले गरेको मेहनतबाट हरेक व्यक्ति लाभान्वित हुन्छन् । मोसाफअन्तर्गत भने हरेक घर–परिवारको आ–आफ्नो खेती हुन्छ । त्यसमा सबैले आ–आफू खेती गर्छन् । बिक्री वितरण तथा बजारीकरणमा भने सहकारीको संलग्नता हुन्छ ।

आधुनिक कृषिऔजार, थोपा सिँचाइ प्रविधि, दक्ष जनशक्ति तथा व्यवस्थित खेतीप्रणालीद्वारा थोरै जमिनमा धेरै उत्पादन, आधुनिक औजारले उत्पादन लागतमा कटौती एवं कम शारीरिक परिश्रम जस्ता थुप्रै कुराले गर्दा इजरायल आज कृषिमा अब्बल देशहरूमध्ये एक मानिन् । कृषिप्रधान देश भएर पनि हाम्रो देश नेपाल कृषिमा निकै पछाडि परेको छ । उर्बर जमीन, सिँचाइका लागि प्रशस्त पानी, हरेक प्रकारको खेतीका लागि सुहाउँदो हावापानी, खेतीमा काम गर्ने प्रशस्त युवा जनशक्ति हुँदाहुँदै पनि हामी वार्षिक डेढ खर्ब रुपैयाँबराबरको कृषिजन्य उत्पादन आयात गरिरहेका छौं । देशको अर्थतन्त्र बलियो बनाउन आधुनिक कृषि प्रणालीमार्फत् देशमा आर्थिक क्रान्ति ल्याउनुपर्छ । 

कृषि हाम्रो अर्थतन्त्रको बलियो आधार हुनसक्छ । दिनहुँ बिदेसिइरहेका हजारौं युवालाई रोक्न र तत्कालै रोजगारी सिर्जना गर्न सकिने क्षेत्र कृषि नै हो । सरकारले कृषिलाई प्राथमिकतामा राखेर काम गर्ने हो भने नेपाल केही बर्षमै कृषि उत्पादनमा आयातमुखी नभई निर्यातमुखी हुनेछ । 

इजरायल महिलाहरूका लागि सुरक्षित र आकर्षक गन्तव्य हो । आम्दानीको हिसाबले पनि इजरायल अतुलनीय छ । इजरायल महिलाहरूका लागि सुरक्षित छ । यहाँ महिलाहरू हिंसा अनि शोषणमा पर्दैनन् । इजरायलीहरू बेला–बेलामा भन्छन् ‘इजरायलसँग पहिले केही थिएन, न खानी थियो न पानी । हामीले धेरै दु:ख कष्ट झेल्यौं । हामीसँग केही थियो भने मानिसहरू धेरै मेहनति थिए । आजको इजरायल प्रकृतिले बनाएको होइन, मानिसले नै बनाएका हुन् । 

इजरायलको सामथ्र्य धेरै माथि पुगिसकेको छ । यहाँ आज नेपाली युवा–युवतीहरू इजरायली वृद्धवृद्धा तथा बालबालिका स्याहार–सुसार एवं कृषि कर्ममा संलग्न छन् । हामीसँग पनि यो देशका मानिसकै जस्तो मेहनत–लगन एवं देशभक्ति छ । यदि राम्रा नियम–कानुन बनाउन सके देशका युवा शक्ति देशमै खपत गर्न सकिन्छ । म आँखाभरी इजरायलको विकास, यहाँको प्रविधि तथा साथीभाइको आत्मियता बोकेर मातृभूमिमा फर्कंदै छु । केही नयाँ नौलो कार्य आफ्नै देशमा गर्ने अभिलाषाका साथ । 

प्रकाशित :आश्विन ६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्