रियल नाम नै हरायो

- नरेन्द्र बस्नेत

आश्विन ४, २०७५

नाटकलाई आफ्नो प्राण सम्झने र नाटकबाट अफर आयो कि सबै काम छोडेर दौडिहाल्ने कमलमणि नेपाल टेलिश्रृंखला भद्रगोलका ‘खुपीका बाउ’ उपनामले परिचित छन् । आफ्नो असली नामलाई ओझेलमा पार्दै उपनामले चर्चा पाएपछि उनी एक प्रकारले खुसी भए पनि आफ्नो असली नाम नागरिकतामा मात्र सीमित होला कि भनेर चिन्तितसमेत देखिन्छन् । 

तपाईंको कलाकारिताको सुरुवात ?

म सानैदेखि कलाकारितामा रुचि भएको मान्छे । त्यसमा पनि मलाई नाटक असाध्यै मन पर्छ । गुरुकुल मेरो पहिलो घर हो जहाँ मैले नाटकको क, ख सिकें । मलाई नाटकले नै रंगमञ्चमा ल्यायो र एउटा परिचय दियो ।

नाटक, चलचित्र तथा टेलिफिल्ममध्ये एक रोज्नुपर्‍यो भने ?

नि:सन्देह, म नाटक नै रोज्छु । मलाई एकातिर चलचित्र र अर्कातिर नाटक रोज्न लगाइयो भने अलिकति पनि सोच्दिनँ । म नाटक नै रोज्छु ।

 

आर्थिक रूपमा त चलचित्र फाइदाजनक होला नि ?

पक्कै पनि नाटकभन्दा चलचित्रमा राम्रो पैसा हुन्छ, तर पैसा हुन्छ भन्दैमा म नाटकलाई छोड्न र बिर्सन सक्दिनँ । म बाँचुञ्जेल नाटकमा काम गर्छु । मलाई यसमै मज्जा आउँछ ।

थुप्रै चलचित्रमा काम गर्नुभयो, तर तपाईंको परिचय चाहिँ टेलिफिल्मको एउटा क्यारेक्टरले दियो नि ?

मैले धेरै चलचित्र तथा नाटकमा काम गरेँ तर सानो पर्दाको भद्रगोलले मलाई यति उचाइमा पुर्‍यायो कि त्यसको कुरै नगरौँ । मेरो त परिचय नै बदलियो । साँच्चै भन्ने हो भने मेरो रियल नाम त नागरिकतामा मात्र सीमित होला जस्तो छ । सानो उमेरदेखि पाको उमेरसम्मका सबैले मलाई त्यही एउटा क्यारेक्टरका रूपमा चिन्छन् ।

कस्तो लाग्छ खुपीका बाउका रूपमा चिनिँदा ?

मेरो एउटा क्यारेक्टरलाई यति धेरै रुचाइँदा नराम्रो लाग्ने त कुरै भएन नि, तर रियल नाम नै हराउँदा चाहिँ कता–कता नरमाइलो लाग्छ । 

 

प्रकाशित :आश्विन ४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्