यौन सपना

  • डा. सुमनको सल्लाह

- डा. सुमनराज ताम्राकार

आश्विन ४, २०७५

निदाइरहेका बेला यौनसम्बन्धी सपना देख्नु स्वभाविक हो । यौन सपनाका क्रममा स्वप्न दोष हुनसक्ने भए पनि यी दुवै फरक–फरक कुरा हुन् । सधैंजसो र सबैको स्वप्न दोष हुनैपर्छ भन्ने छैन । कतिपय बेला अर्धचेतन अवस्थामा लिंग उत्तेजना मात्र पनि हुनसक्छ ।

उमेर पुगेपछि करिब ५० प्रतिशत व्यक्तिले एक न एक पटक यौन सपना देखिसकेका हुन्छन् । किशोरावस्थामा बढी देखिने यौन सपना तथा स्वप्न दोषको घटना व्यक्तिअनुसार फरक–फरक हुनसक्छ । पुरुषका साथै महिलाले पनि यौन प्रधान सपना देख्छन् । यस क्रममा योनिश्राव अत्यधिक भै यौन सन्तुष्टि प्राप्त हुन्छ । यौन सपनाका क्रममा कतिपयलाई वास्तवमै यौन कार्यमा संलग्न भैरहेको अनुभूति हुन्छ । यस्तो बेला सपनामा आउने यौन साथी परिचित वा अपरिचित दुवै हुन सक्छन् ।

बाह्य वातावरण तथा सामाजिक रीतिस्थितिअनुसार आफूमा भएको यौन चाहना दबाउनुपर्ने हुन्छ । कतिपय व्यक्तिको संकुचित भावना तथा हस्तमैथुनप्रतिको नकारात्मक दृष्टिले पनि यौन चाहना दबाउनुपर्ने हुन्छ । यतिबेला शरीरभित्रै विकसित भैरहेको यौन अवस्थाले विकल्प खोज्छ । त्यस क्रममा धेरैले हस्तमैथुन गरेर आफ्नो यौन भोक शान्त पार्छन् भने कतिपयमा यौन सपनासँगै वीर्य स्खलन वा योनिश्राव भै यौन तनाव शान्त हुन्छ । कतिपयले यौन सपनासँगै स्खलित हुनै लाग्दा थाहा पाउँछन् भने कतिपयले स्खलित भएपछि मात्र आफूले यौन सपना देखेको जानकारी पाउँछन् । यौन सपना स्वभाविक प्रक्रिया हो । हस्तमैथुन गर्ने बानी तथा विवाहपश्चात् नियमित यौन कार्यले त्यस्तो सपना देख्ने क्रममा कमी आउँदै जान्छ । विभिन्न अध्ययनले के देखाएका छन् भने शरीरमा टेस्टोस्टेरोनको मात्रासँग यौन सपनाको घनिष्ठ सम्बन्ध छ । विरलै भए पनि कतिपयमा देखिने सपना हिँड्ने बानीजस्तै सपनामै यौन सम्पर्क स्थापित गर्ने, यौन क्रियाकलाप गर्ने प्रवृत्तिसमेत पाइन्छ ।

शारीरिक विकाससँगै यौन विकासको एउटा चिह्नका रूपमा रहेको यौन सपना सबैले देख्नैपर्छ भन्ने चाहिँ होइन । यसले दमित यौन तनाव घटाउन मद्दत गर्ने हुनाले समग्रमा यौन दुव्र्यवहार, यौन हिंसा घटाउन मद्दत गर्छ । प्रजनन प्रणाली राम्रोसँग विकसित भएको अवस्थामा बारम्बार यौन सपना देखिन सक्छ भने कसैले चाहँदैमा यौन सपना देखिने पनि होइन । यौन सपना देख्ने बानी घटाउन यौन परिकल्पना नगर्ने, यौन सामग्री नहेर्ने, नपढ्ने, सुत्नुअघि पिसाब फेरेर, हातखुट्टा राम्रोसँग धोएर तथा शान्त मन लिएर सुत्नुपर्छ । यसलाई स्वभाविक प्रक्रिया मानी स्खलित हुनै लाग्दा वा भएपछि यौनांगको सरसफाइमा ध्यान दिनुपर्छ । यस क्रममा भित्री कपडा फेर्ने, तन्ना वा सिरकको खोलको सरसफाइ आदि गर्नुपर्ने हुन्छ ।

प्रकाशित :आश्विन ४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्