समुन्द्रमानको संसार

- नरेन्द्र रौले

आश्विन ३, २०७५

 

आममानिसको तुलनामा कलाकार समुन्द्रमानसिंह श्रेष्ठ फरक शैलीको जीवन जिउँछन् । उनको दैनिकी बिहान ६ बजे प्रारम्भ हुन्छ । लाजिम्पाटमा बसोबास गर्ने श्रेष्ठ ब्युँझिएपछि दुई ग्लास चिसो पानी पिउँछन्् । उनको डेराबाट नजिकै छ, रानीबारी जंगल । मर्निङ वाकका लागि उनी त्यहीं पुग्छन् । नियमित मर्निङ वाकले स्वास्थ्यमा फाइदा पुर्‍याउँछ भन्ने उनको विश्वास छ । त्यसैले उनी दिन नबिराई मर्निङ वाक गर्छन् । मर्निङ वाकका लागि रानीबारी निस्किनुअघि चिया र बिस्कुट खान कहिल्यै छुटाउँदैनन् ।

 

समुन्द्रमान अधिकांश समय पेन्टिङमै बिताउँछन् । पेन्टिङ नै उनका लागि साधना हो । कुनै बेला त उनी पेन्टिङ गर्दा गर्दै चिया पिउन समेत बिर्सन्छन् । आठ बजे उनको ब्रेकफास्टको समय हो । त्यसपछि उनी पेन्टिङमै घोत्लिन्छन् । बिहानको समय उनी मानिसहरूसँग भेटघाट गर्न खासै रुचाउँदैनन् । ‘बिहानको समय मन कल्पनाशील हुन्छ ।’ श्रेष्ठ अनुभव बाँड्छन्, ‘काम गर्ने ऊर्जा पनि प्रशस्त हुन्छ ।’ प्राय: ९ देखि १२ बजेसम्मको पूरै समय उनले पेन्टिङका लागि छुट्याएका छन् । 

 

श्रेष्ठ दिउँसो १२ बजेतिर खाना खान्छन् । उनको मेनुमा दाल, भात, तरकारी नै हुन्छ । उनी आफूलाई अल्छी भन्न रुचाउँछन् । खाना बनाउन उनलाई झन्झट लाग्छ । लुगा धुन वासिङ मेसिन प्रयोग गर्छन् । नेवार समुदायमा रक्सीलाई सगुनका रूपमा लिइन्छ । मापसे चेकिङ सुरु भएदेखि उनले सगुनको मात्रा अलि घटाएका छन् । खाना खाएको एक घण्टापछि उनलाई निद्रा लाग्छ । डेढ घण्टा सुतेपछि उनको निद्रा खुल्छ । दिउँसो तीन बजेतिर समुन्द्रमान फ्रेस हुन्छन् अनि फेरि सुरु हुन्छ, उनको पेन्टिङ बनाउने कर्म । उनको एउटा बानी छ, पेन्टिङ बनाइउँदा मन्त्र सुन्ने र धूप बाल्ने । युट्युबबाट डाउनलोड गरिएका मन्त्र सुन्दा उनलाई मनमा ऊर्जा थपिएको महसुस हुन्छ । ‘आइफोनमा पनि धेरै मन्त्र भरेको छु ।’ उनले भने, ‘काम गर्दा मन्त्र सुन्दै आफैंभित्र हराउँछु । क्यानभासमा मैले त्यही ऊर्जा झल्काउने हो ।’

 

समुन्द्रमान स्कुल पढ्दादेखि नै पेन्टिङ बनाउँथे । उनलाई अझै सम्झना छ, ठमेलको जुद्धोदय उमाविमा कक्षा ८ मा अध्ययनरत छँदा उनले बनाएका पेन्टिङ ५–६ सय रुपैयाँमा बिक्री हुन्थे । उनको पकेट मनि त्यसैबाट चल्थ्यो । आफू मात्र होइन, उनी साथीभाइलाई पनि खाजा ख्वाउँथे । उनमा माइला बुबा विकासानन्दको प्रभाव परेको छ । घरमा माइला बुबाले बनाएका पेन्टिङ देखेपछि उनमा पनि त्यस्तै पेन्टिङ बनाउने रहर जाग्थ्यो । आफूले बनाएका पेन्टिङ विकासानन्दकै साथी वरिष्ठ कलाकार दीपक जोशीलाई पनि देखाउँथे । जोशीकै सहयोगमा उनले भीमसेनथानस्थित नेपाल परम्परागत कलाकार संघमा पेन्टिङसम्बन्धी कक्षा लिए, जहाँ गुरु थिए— प्रेममान चित्रकार । उनी आफ्नो प्रेरणाको स्रोत प्रेममान, अमर चित्रकार तथा माणिकरत्न चित्रकारलाई मान्छन् । 

 

समुन्द्रमान कुनै बेला मखनका गल्लीहरूमा एक मोहर तिरेर कमिक हेर्थे । त्यति बेलादेखि नै उनमा पेन्टिङको रस बसेको थियो । उनलाई वसन्तपुर दरबार स्क्वायर पनि खुब मन पर्छ । जब मन्दिर तथा मूर्तिहरूमा उनका आँखा पर्थे, चित्र बनाउँm–बनाउँm लाग्थ्यो । वसन्तपुर दरबार स्क्वायरभित्रको म्युजियममा आनन्दमुनि शाक्यले राजा त्रिभुवनलाई उपहार दिएको पेन्टिङ हेर्नकै लागि उनी धेरै पटक टिकट काटेर छिरेका छन् । समुन्द्रमानलाई पुराना मूर्ति, दरबार तथा घरहरूको डिजाइनले तान्छ । केशर पुस्तकालय पनि बरोबर गैरहन्थे । क्याननको ६० डी क्यामेरा चलाउने श्रेष्ठ फोटोग्राफीका पनि सौखिन हुन् । उनलाई फोटोग्राफी र पेन्टिङ एक–अर्काका परिपूरकजस्तै लाग्छन् । समुन्द्रमान पेन्टिङ प्रदर्शनीका सिलसिलामा जापान, चीन र भारतका विभिन्न ठाउँ पुगेका छन् । 

 

समुन्द्रमान वर्षमा लगभग सातवटा पेन्टिङ तयार पार्छन् । तीमध्ये चारवटाजति त मास्टरपिस नै हुन्छन् । दस वर्षअघि विवाह बन्धनमा बाँधिएका श्रेष्ठले कोरेका देवीका पेन्टिङमा उनकी श्रीमती देविताकै प्रतिविम्ब झल्कन्छ । ‘मेरी श्रीमती राम्री भएर होला,’ उनले त्यसको रहस्य खोतले, ‘उनको ओठ साना, आँखा ठूला र मन करुणाले भरिएको छ ।’ देविताले कुकुरलाई खाना ख्वाउँछिन् । त्यसका लागि समुन्द्रमान ४–५ किलो कुखुराको कलेजो किनेर ल्याउँछन् । हरेक पेन्टिङ गर्नुअघि उनी खास तयारी गर्छन् । पेन्टिङ गर्नुपर्ने विषयका बारेमा विस्तृत अध्ययन गर्छन् र क्यानभासमा त्यसको चित्र उतार्न थाल्छन् ।

 

फुर्सद मिल्दा समुन्द्रमान टिभी हेर्छन्, स्केच कोर्छन् र पुस्तक पढ्छन् । फेसबुक त उनलाई साथीजस्तै लाग्छ । पेन्टिङ गर्दा बोर भयो भने फेसबुक चलाउँछन्, तर त्यसैमा झुन्डिने बानी छैन । समाचार पढ्न, अन्य कार्यक्रमहरूसम्बन्धी जानकारी लिन उनी फेसबुककै सहारा लिन्छन् । उनलाई टिपटप भएर हिँड्न मन लाग्छ । जुन लुगा सजिलो लाग्छ, सुहाउँछ, त्यही लगाउँछन् । हरेक महिना दुई–चार जोर पहिरन किन्ने उनको बानी छ । उनी सेन्टिमेन्टल र क्लासिक गीत बढी सुन्छन् अनि त्यसैमा नाचौं–नाचौं लाग्ने अवस्थामा पुग्छन् । पढेका मध्ये श्रीधर राना रिन्पोछेले लेखेको बोधिचर्यावतार पुस्तकले उनको मन छोएको छ ।

 

उनी रेस्टुराँ गैरहन्छन् । ठमेलस्थित चाइना टाउन रेस्टुराँ उनको मुख्य गन्तव्य हो । समुन्द्रमानला ई चाइनिज परिकार ठुटुसी, पिज्जा तथा नेवारी परिकार विशेष मन पर्छ । कलाकार सिंह प्राय: रातको १२ बजेतिर निदाउँछन् । 

 

प्रकाशित :आश्विन ३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्