मन जित्दै मिरुना

- साप्ताहिक संवाददाता

आश्विन २, २०७५

बेलायतमा बसोबास गर्ने नेपाली युवतीहरू नेपाली चलचित्रमा स्थापित हुने क्रम बढ्दो छ । चलचित्र लिलिबिलीबाट उदाएकी जसीता गुरुङपछि गोपीकृष्ण मुभिजको पछिल्लो चलचित्र ‘रोज’ की अभिनेत्री मिरुना मगर पनि बेलायतबाटै आएकी कलाकार हुन् । सस्पेन्स तथा क्राइम थ्रिलर विधाको उक्त चलचित्रमा मिरुनाको अभिनयले दर्शकको मन जितेको छ । 

चलचित्रमा उनले अधिवक्ताको भूमिका निर्वाह गरेकी छिन् भने अभिनेता प्रदीप खड्कालाई एकतर्फी प्रेम गर्ने युवकका रूपमा प्रस्तुत गरिएको छ । त्यसो त रोजमा अभिनेत्री पारिमिता राणा शीर्षक भूमिकामै प्रस्तुत भएकी छिन्, यद्यपि अदालतमा बहस गर्ने मिरुना दर्शकको मनमा बस्न सफल भइन् । व्यवसायिक रूपमा समेत सफल भैरहेको रोजमा मिरुनाले निर्वाह गरेको भूमिका चुनौतीपूर्ण समेत छ । 

नेपाली चलचित्रमा अभिनेत्रीहरूलाई प्राय: कानुन व्यवसायिको भूमिकामा बिरलै प्रस्तुत गरिन्छ । मिरुनाले दोस्रो चलचित्रमै उक्त भूमिका सशक्त रूपमा निर्वाह गरेर आफूमा प्रसस्त सम्भावना रहेको प्रमाणित गरेकी छिन् । सुन्दर मुहारकी धनी मिरुनाको अभिनयमात्र होइन, वकिलका रूपमा संवाद बोल्ने शैलीले समेत प्रशंसा पाएको छ । मिरुनाले यसअघि चलचित्र लालपुर्जामा अभिनय गरेकी थिइन् । 

प्रकाशित :आश्विन २, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्