स्वार्थ, व्यापार र प्रेम

- अविरल थापा

आश्विन २, २०७५

 

स्वार्थ भनेको आफूले लिन मात्र खोज्नु हो । व्यापार भनेको दुवै जनालाई फाइदा हुनु हो । प्रेम भनेको फिर्ता पाउने आशा नगरी आफूले दिनु मात्र हो । सन्तहरू भन्छन्— हिजोआजसंसारमा चलेको सम्बन्ध भनेको व्यापारको सम्बन्ध हो । एक–अर्कालाई के फाइदा हुन्छ भन्ने सोचेरै अधिकांशले सम्बन्ध निर्माण गर्छन् । आफ्नो मेहनत र पौरखले केही गरौं भन्दा पनि कसको फेर समातेर चाँडै माथि पुग्न सकिन्छ भन्नेहरू जताततै छन् । कसैको पछि लागेको भरमा, बुई चढेको भरमा रातारात माथि पुग्न सकिन्छ भने कसले दु:खगर्न खोज्छ र ? सोझो बाटो हिंड्नेहरू हिँडेको हिड्यै हुन्छन्, बांगो बाटो समात्नेहरू ठालू भैसक्छन् । 

अरू त भयो भयो, केटा र केटीको प्रेम सम्बन्ध समेत भावनाले भन्दा पनि को कति धनी छ, कोसँग सम्बन्ध गाँस्यो भने अन्य के–के फाइदा लिन सकिन्छ, कसरी म सजिलै माथि पुग्न सक्छु भनेर निर्माण हुन थालिसकेको छ । काम छउन्जेल र फाइदा हुन्जेल एक जनालाई प्रयोग गर्‍यो, काम सक्किएपछि अर्कैसँग लाग्ने विकृत रूप समाजमा व्याप्त छ । कतिले त पैसा कुम्ल्याउनकै लागि कैयौंसँग एकैपटक विवाह गरेर छक्याइरहेको उदाहरण पनि समाचारमा यदाकदा आइरहेका छन् । केटा होस् वा केटी, व्यक्तिगत रूपमा वा पारिवारिक रूपमा कति सम्पन्न छ हेरेर प्रेमको नाटक गरेर एक–अर्कासँग फाइदा लिनेहरू समाजमा धेरै छन् । फाइदा हुन्जेल यस्तो सम्बन्ध राम्रै चल्ला, तर आफूले खोजेको कुरा पाउन छोडेपछि सम्बन्धमा दरार सिर्जना हुन थाल्छ । 

सम्बन्ध यति विकृत भैसक्यो कि को असल नियतले आएको छ, को खराब नियतले ? छुट्याउनै मुस्किल पर्छ । हेर्दा सोझा देखिनेहरूको मन कति टेढो र अनुहार गोरा भएकाहरूको मन कति कालो छ ? जो–कसैले छुट्याउन सक्दैनन् । प्रेममा चुर्लुम्म डुबेको कुनै प्रेमीकी प्रेमिकालाई ग्रिनकार्डधारी वा पी.आर.धारीले टप्काएर विदेश पुर्‍याइसकेको हुन्छ । त्यसैगरी धनी र रूपवती अरू कोही फेला परी भने प्रेमीले धोका दिइरहेको प्रेमिकाले थाहा पाउँदिन । 

सबैलाई चाँडै धनी हुनु छ । चाँडै प्रगति गर्नु छ । मेहनतले आर्जन गर्न समय लाग्छ । आफैं कमाउँm, आफनो स्वाभिमानमा बाँचौं भन्दा पनि कसलाई प्रयोग गरेर चाँडै धुरी चढौं भन्ने चेतना हावी छ । समाजमा कसैले को कति पढेर ज्ञानी भयो, को चेतनशील भयो भनेर हेर्दैन, कसले पैसा कमायो, कत्रो घरमा बस्छ, कस्तो गाडी चढ्छ भनेर सफलताको मापन गर्छ । मालपोत वा घूस खान मिल्ने अन्य ठाउँमा कसैको सरुवा भयो भने बधाई दिनेहरूको ओइरो लाग्छ— अब कमाउने भयो भनेर । आमाबाबुको चेतना पनि पढेलेखेको स्वाभिमानी युवकलाई भन्दा धनी, खानदानी घरमा छोरी दिन पाए हुन्थ्यो भन्ने हुन्छ । त्यसैले भन्न मनलाग्छ, हाम्रो सोच नै भ्रष्ट छ । हामी सम्बन्धको किनबेच गरिरहेका छौं । गरिबको घरमा खान दिन सक्दैन, गएर के नै फाइदा हुन्छ र भनेर कोही पाहुना लाग्न पनि जाँदैनन् । चिनेजानेको मान्छे कोही ठूलो पदमा पुग्यो भने अनेक नाता सम्बन्ध गाँसेर फूलमाला बोकेर पुग्नेहरूको लर्को लामै हुन्छ । 

कुरा यत्ति हो, स्वार्थ र व्यापारमा आधारित कुनै पनि सम्बन्ध दिगो हुँदैन । जब प्रयोजन सकिन्छ, सम्बन्ध पनि समाप्त हुन्छ । भावनाको किनबेच नगरौं । स्वार्थ गाँसेर बनाइएको सम्बन्धले तत्काललाई फाइदा देला, तर कतिबेला त्यही सम्बन्ध गलपासो भैदिन्छ थाहा हुँदैन र जिन्दगीभर पश्चातापसिवाय केही बाँकी रहँदैन । 

Facebook.com/abeeralthapa

Twitter@abeeralthapa

प्रकाशित :आश्विन २, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्