काठमाडौंको सडकले कत्तिको हैरान बनाएको छ ?

- महेश तिमल्सिना

आश्विन १, २०७५

पहिलो कुरा त काठमाडौंको सडक नै गुणस्तरीय नभएर धेरै दु:ख भएको छ अनि वर्षामा खाल्डाखुल्डीमा पानी जम्छ, ती खाल्डाखुल्डी समयमा नपुरिँदा थप हैरानी हुन्छ । काठमाडौंको व्यस्त सडकमा उड्ने धूवाँधूलोले गर्दा कोही पनि यहाँ खुला रूपमा हिँड्न सक्दैनन् । 

निशान भट्टराई, गायक 

वर्षायाममा हिलो र हिउँदमा धूलोले गर्दा निकै हैरानी खेपेकी छु । ठूला कुरा गर्ने तर कामको नाममा माखो नमार्ने नेताहरूको बानीले त थप हैरान बनाएको छ ।

ऋचा शर्मा, अभिनेत्री 

काठमाडौंको सडकले व्यक्त गर्न नसकिने पीडा दिएको छ । 

सरिता लामिछाने, अभिनेत्री 

साह्रै हैरान बनाएको छ । पानी परेका बेला त कतिबेला कुन खाल्डोमा परिने हो भनेर डराई–डराई हिँड्छु । 

बिनु शाक्य, मोडल 

जहिले पनि अल्छी बनाइरहन्छ । जोस–जाँगरै हराउँछ । तैपनि खुसी छु, किनभने यो सहरले धेरै कुरा सिकाएको छ । 

टंक तिमल्सिना, गायक 

काठमाडौंको सडकले हैरान मात्र होइन, दैनिक जीवनयापनमा एकदमै ठूलो असर पुर्‍याएको छ । यात्रा कष्टकर बनाएको छ । १० मिनेट लाग्ने ठाउँमा आधा घण्टादेखि एक घण्टासम्म लाग्ने गरेको छ । यसलाई हैरान होइन, बेहाल भनिन्छ । 

पृथ्वीराज प्रसाईं, अभिनेता 

धूवाँ, धूलो, मैलो अनि सडकमा राखिएका जथाभावी पसलले गर्नु गरेको छ नि † 

धीरज राई, गायक 

घरबाट कुनै योजना बनाएर निस्कन्छु, तर काठमाडौंको सडकले गर्दा त्यो योजनाअनुसार काम गर्न गाह्रो भैरहेको छ । यसका साथै धूवाँधूलोले गर्दा शरीरमा रोगले छिट्टै आक्रमण गरेर दिनचर्या नै प्रभावित बनाइदिन्छ । 

दुर्गेश थापा, मोडल 

धूवाँ–धूलो अनि जाम त भैहाल्यो, वर्षामा बाटो सम्मै होला भनेर गयो, पूरै खाल्डामा परेर हैरान भइन्छ । 

प्रकाश सपूत, गायक 

सडकमा भएका सुरुङमार्ग (खाल्डा) का कारण मोटरसाइकल चलाउँदा–चलाउँदै आफ्नो अन्तिम होला झैं हुन्छ । 

कविर खड्का, अभिनेता 

ओहो ! काठमाडौंको सडकको त के कुरा गर्नु बरै, जताततै बाटो भत्काएर खाल्डाखुल्डी मात्र बाँकी छ, बाटो हिँडी नसक्नु छ । घाम लाग्यो भने धूलो उडेर केही देखिँदैन अनि पानी पर्‍यो भने सडकमा अघि बढौं खाल्डोमा जाकिएला भन्ने डर अनि पछाडि कुरूँ भने अर्काले हिलो छ्यापिदेला भन्ने डर । बिहान घरबाट निस्कँदा ठीकठाक बाटो साँझ घर फर्कदा बिनासूचना, बिनाबोर्ड नै सडक अवरुद्ध भै उल्टो बाटो लाग्नुपर्ने अवस्थालाई हैरानी मात्र भनेर पुग्दैन ।

हेमन्त शर्मा, गायक 

आनन्द छ । गाडी बेचेर अब एउटा डुङ्गा किन्न बाँकी छ । 

केदार घिमिरे, हास्यकलाकार 

सडकका खाल्डाखुल्डीले गर्दा जाममा परेर कुनै पनि काममा समयमा पुग्न नसक्दा निकै हैरानी बेहोरेकी छु । 

पूजा शर्मा, अभिनेत्री 

पानी परेका बेला काठमाडौंका सडकमा चिप्लेर धेरै पटक लडेकी छु । 

सावित्री सुवेदी, अभियन्ता 

जति हैरान भए पनि बाटो हिँड्नै पर्छ, वाक्कदिक्क हुनैपर्छ । यहाँ सबैको दैनिकी नै यस्तै छ । 

शिव परियार, गायक 

गाडीले खाल्डाखुल्डीमा जमेको हिलो पानी छ्याप्दा साह्रै रिस उठ्छ, तर हामीसँग सडक विभाग र ड्राइभरलाई गाली गर्नेबाहेक अरू केही उपाय छैन । 

सबनम मुखिया, छायाँकार

गाडी चलाउँदा जेब्रा क्रसिङ कहाँ छ, त्यो पनि देखिँदैन । यस्ता धेरै कुराको लापरबाहीले गर्दा थुप्रै हैरानी बेहोरेको छु । 

खुमन अधिकारी, गायक 

सडकमा उडेको धूवाँधूलोले हैरान बनाएको छ । 

विराज भट्ट, अभिनेता 

उफ् ! बिहान हिँडेपछि साँझ घर पुग्दा धूवाँ–धूलोले मान्छे नै नचिनिने हुन्छ अनि पानी परेपछि हिलाम्मे सडकमा मोटरसाइकल चिप्लेर हैरान भएको छु । 

शिव विक, नृत्य निर्देशक 

धूलो र धूवाँले गर्दा अफिसबाट घर फर्कंदा आफ्नै श्रीमतीले पनि चिन्दिनन् कि भन्ने डर लाग्छ । 

प्रल्हाद सुवेदी, गीतकार 

पानी जमेर कहाँ खाल्डो छ, थाहा हुँदैन । अर्को कुरा, बाटो बिग्रिएपछि सवारी साधनहरू बिस्तारै गुड्छन्, तर्काउन खोज्छन्, जसले गर्दा ठूलो जाम हुन्छ । जाम भएपछि तेल पनि बढी खर्च हुन्छ । यो हैरानी होइन, सास्ती हो । 

महेन्द्र गौतम, मोडल 

 

प्रकाशित :आश्विन १, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्