मदन पुरस्कार आफैंमा ठूलो खुसी हो

- साप्ताहिक संवाददाता

भाद्र ३०, २०७५

पाल्पामा जन्मिएकी नीलम कार्की ‘निहारिका’ को कर्मथलो हो! अमेरिका । २०७२ मा मदन पुरस्कारका लागि श्रेष्ठ सात पुस्तकभित्र परेको थियो उनको चिरहरण । यद्यपि मदन पुरस्कार नै हात पार्न उनले दुई वर्ष पर्खनुपर्‍यो । ऐतिहासिक विषयवस्तुमा आधारित नीलमको योगमायाले मदन पुरस्कार प्राप्त गरेपछि उनको चर्चा थप चुलिएको छ । यसअघि उनका हवन (कथा–संग्रह), ब्रेन फिभर (कविता–संग्रह), कागजमा दस्तखत  (कथा–संग्रह), नीलम कार्की ‘निहारिका’ का कविता (कविता–संग्रह), बेली (कथा–संग्रह), अर्की आईमाई (उपन्यास) बजारमा आइसकेका छन् । 

 

नेपालको प्रतिष्ठित मदन पुरस्कार पाएपछिको खुसी कसरी साट्नुहुन्छ ?

मदन पुरस्कारले मलाई दुईवटा खुसी दिएको छ । एक त मदन पुरस्कार आफंैमा ठूलो खुसी हो । अर्को मलाई स्नेह गर्ने मेरा शुभचिन्तक कति हुनुहँुदो रहेछ भन्ने ज्ञान भयो । योगमायाले मदन पुरस्कार प्राप्त गरेसँगै र मसँगै हर्षित मनहरूलाई सम्झँदा मलाई अर्को खुसी मिलेको छ । यद्यपि मेरो खुसी कता–कता अपुरो छ । मेरा दाजु, बुबा र भाउजूलाई सुनाउन, बाँड्न नसक्ने भएपछि हरेक खुसी यस्तै अपूर्ण हुन्छन् मेरा लागि ।

मदन पुरस्कार पाउँछु भन्ने कल्पना गर्नुभएको थियो ?

चिरहरण उपन्यास पनि २०७२ को मदन पुरस्कारका लागि श्रेष्ठ सात पुस्तकभित्र परेको थियो । त्यसअघि मदन पुरस्कार गुठीले सर्ट लिस्ट निकाल्ने परम्परा थिएन । चीरहरण उपन्यास त्यतिबेला पुरस्कृत नभए पनि यसपटक कता–कता योगमायाबाट आशावादी थिएँ ।

योगमाया पात्रमाथि नै उपन्यास लेख्ने सोच कसरी आयो ? 

यो मेरो नितान्त व्यक्तिगत सोचभन्दा पनि दाहाल यज्ञनिधिले मलाई कथा सुनाउनुभएको थियो । कहिलेकाहीं यस्तो लाग्छ, मैले गुरुले दिनुभएको गृहकार्य गरें । योगमाया पूरा गरेर प्रकाशनपश्चात् उहाँको हातमा बुझाउँदा म लगलग कापेकी थिएँ । उहाँले पढेर जुन प्रतिक्रिया दिनुभयो, म अगाडिको लेखनका लागि अझ उत्साहित भएँ । अहिले उहाँ यो दुनियाँमा हुनुहुन्न । यसो सम्झिन्छु, योगमाया उपन्यास नै मेरो गुरुभेटी भयो ।

योगमाया तयार पार्नुअघि झेलेका अप्ठ्यारा वा सम्झिनलायक केही क्षण बताइदिनुस् न ।

अप्ठ्याराहरू अवश्य थिए । आफ्नो हालको बसाइ अमेरिका, अनुसन्धान गर्नुपर्ने क्षेत्र भोजपुर । दिन र रातको उल्टो चक्रले पनि दु:ख दियो । टेलिफोन सम्पर्कका निम्ति नेपालबाट यो समयमा सम्पर्क गर्नु भनेको समयमा घडीमा अलार्म राखेर सुत्थें । त्यसो गर्दा निदाएका श्रीमान्लाई समेत डिस्टर्ब हुन्थ्यो । पछिपछि त फोन गर्ने तालमेल नमिल्दा लेख्ने टेबलमै पर्खिबस्दा आफ्नो निदाउने समय पनि अति कम हुन्थ्यो । जब म भोजपुर पुगेँ, सानातिना अप्ठ्यारा त्यहाँ पनि थिए । त्यहाँ पुगेपछि योगमायाले तपस्या गरेको ठाउँ अरुणछेउ, मझुवाबेसी पुगेपछि अति आनन्दको अनुभूति भयो । समयले साथ दियो भने त्यहाँ फेरी पुगेर केही समय बस्ने रहर छ । 

डायास्पोरामा बसेर साहित्य सिर्जनालाई कसरी समय छुट्याइरहनुभएको छ ?

सबै कुरा मनसँग जोडिने रहेछ । जहाँ इच्छा त्यहाँ उपाय यसै भनिएको होइन रहेछ । लेखनकै निम्ति मैले आफैसँग अन्याय गरेकी छु । रातको निद्रा र तमाम अन्य इच्छाहरूसँग सम्झौता गरेकी छु ।

 

तपाईं के–का लागि लेख्नुहुन्छ ? आफ्नो रहर मेटाउन, समाज परिवर्तन गर्न कि व्यवसायिकताका लागि ?

प्रारम्भिक समयमा लेखन मेरो रहर मात्र थियो । आज कलम मेरो जिम्मेवारी हो भन्ने लाग्छ । सामाजिक जिम्मेवारी बोकेको छ, कलमले । 

लेखनमा आउन चाहने युवाहरूलाई तपाईंको सुझाव ?

कलमले गर्नुपर्ने काम धेरै छन् । अझ भनूँ भने खनि नसक्ने मेलो छ यहाँ । सँगै मिलेर अक्षरको खेती गरौं, जिम्मेवार भएर ।  

 

प्रकाशित :भाद्र ३०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्