केहि रमाईला पोष्टहरु

- संकलक : जीवन भट्टराई

भाद्र ३०, २०७५

 

साउने संक्रान्तिमा हरिबोलले आफ्नो घरमा खाना खान बोलाएका थिए खडानन्दलाई, तर खडानन्द हरिबोलको घरमा पुग्दा घरको मुलढोकामा ताला लागेको थियो र त्यसकै मुन्तिर एउटा कागजमा लेखेर टाँसेको थियो ।

देखिस् त खडे ? मैले तँलाई कसरी उल्लु बनाएँ ?

खडानन्द पनि के कम, त्यसकै मुन्तिर अर्को एउटा कागजमा लेखेर टाँसिदिए ।

‘तँ मुलाले मलाई के उल्लू बनाउँछस् ? म तेरो घरमा आउँदै त आइनै अनि ...।’

खडानन्द डाक्टरकहाँ ।

डाक्टर : तपाईं कुन साबुन प्रयोग गर्नुहुन्छ ?

खडानन्द : हरिबोलको साबुन ।

डाक्टर : अनि पेस्ट ?

खडानन्द : हरिबोलको पेष्ट

डाक्टर : सेम्पुचाहिं ?

खडानन्द : हरिबोलको सेम्पु ।

डाक्टर : ए, अनि यो हरिबोल भन्ने कम्पनीचाहिं कहाँको हो नि ?

खडानन्द : हरिबोल कुनै कम्पनी होइन मेरो साथी हो हजुर ।

खडानन्द : म त आफ्नै छिमेकी पार्वतीलाई गुरु मान्छु यार !

हरिबोल : किन र ?

खडानन्द : किनभने उसमा मलाई तान्ने गुरुत्वाकर्षण शक्ति छ जस्तो लाग्छ ।

खडानन्द : हिजोको चन्द्रग्रहणपछि एउटा कुरो झट्ट याद आयो ।

हरिबोल : के कुरा ?

खडानन्द : विवाहअघिकी चन्द्रमाजस्ती मेरी पत्नीको स्वभाव र अनुहार देख्दा यो गृहिणी भन्ने शब्द ‘ग्रहण’ शब्दबाटै आएको हो कि जस्तो लाग्यो ।

पत्नी : सुन त खडु, आज राति लाग्ने चन्द्र ग्रहण मैले हेर्नु हुन्छ कि हुँदैन ?

खडानन्द : त्यति टाढा हेर्नै पर्दैन नि लाटी, बाथरुममा ठूलो ऐना छ नि, बत्ती बालेर त्यही ऐनामा हेर न, चन्द्रमामा लागेको ग्रहण ।

ए साँच्ची झन्डै भुसुक्क बिर्सेको

म उत्तीर्ण भएको रिजल्ट सुन्न गएका बेला मसमेत मेरा साथीहरूलाई ‘यी फेल भा’का लठुवाहरू किन रिजल्ट सुन्न गाका ?’ भनेर बाटैमा मुटु झस्किने गरी तर्साउने गुरु जहाँ हुनुहुन्छ, उहाँलाई पनि शत–शत नमन ।

(यो जोसँग सम्बन्धित छ उहाँलाई मात्र है)

प्रहरीचौकीमा खडानन्दलाई भेट्न गए हरिबोल ।

हरिबोल : होइन सर, के गरेछ मेरो साथी खडानन्दले ?

प्रहरी : स्वच्छता तथा खुला दिसामुक्त क्षेत्रका अभियन्ताहरूले उहाँलाई यो लोहोटासहित (लोहोटा देखाउँदै) पक्रेर ल्याएछन् ।

हरिबोल : अनि तैंलेचाहिं एकाबिहानै लोहोटा लिएर किन निस्किनुपर्‍यो नि घरबाट ?

खडानन्द : कतिपल्ट भनिसकें यार, प्लास्टिकको थैलो, झोला चलाउन प्रतिबन्ध छ, म त डेरीतिर जाँदै थिएँ यार, लोहोटामा दूध ल्याउन ।

खडानन्द प्राथमिक कक्षामा

खडानन्द : क, ख, ग, घ... मा कतिवटा अक्षर हुन्छन् ?

बिर्खे : चारवटा सर ।

खडानन्द : (रिसाउँदै) अ, आ, इ, ई ... भन् ।

बिर्खे : अ, आ, इ, ई 

खडानन्द : पूरै भन् ।

बिर्खे : पूरै ।

खडानन्द : (मुर्मुरिँदै) बाह्रखरी भनेको के हो ?

बिर्खे : बाह्रवटा चक हो सर †

खडानन्द : माछाहरू किन बोल्न सक्दैनन् ?

बिर्खे : तपाईंको टाउको पानीमा लगेर झ्वाम्म चोपल्ने हो भने बोल्न सक्नुहुन्छ सर ?

खडानन्द : (उज्याउँदै) अब एउटा सजिलो प्रश्न सोध्छु, उत्तर दे ।

बिर्खे : हुन्छ सर ।

खडानन्द : मेरो पूरा नाम के हो ? भन् ,

बिर्खे : कन्दने हो सर ।

खडानन्द : (आँखा तर्दै) कसले भन्यो ?

बिर्खे : साथीहरूले सर !

(अहिले बिर्खे बीबीएसको तेस्रो वर्षमा छ, यस्तो अवस्थाबाट पार लगाउने खडानन्द सरलाई नमन ।)

खडानन्दलाई बाडुली लाग्यो ।

खडु पत्नी : कुनचाहिँ चँुडेलले सम्झी फेरि यिनलाई ?

खडानन्द : (मोबाइल हेर्दै) एकछिन पख है, सालीको फोन आइरा’को छ ।

हरिबोलले खडानन्दलाई एकाबिहानै कल गरे ।

खडानन्द : अँ भन्, आज कसरी सम्झिस् त एकाबिहानै ?

हरिबोल : बिहानै उठें, हात–मुख धोएँ, तेरी भाउजूले चिया ल्याएर दिइन्, चिया पिएँ, तँलाई थाहा छँदैछ, आज बिहानैदेखि चरक्क घाम चर्किएको, अलि गर्मी महसुस भइरा’को थियो, घरको पूर्वपट्टीको बरन्डामा हावा खान भनेर निस्किएको, त्यही हाम्रो घरअगाडिको बाटोबाट एउटा भुस्याहा कुकुर कुद्दै उत्तरतिर लाग्यो, गमलामा भएको एउटा ढुङ्गो टिपेर मच्चाएर हानेको, त्यसको ढाडैमा लागेछ क्यारे, कुइँकुइँ गर्दै कराउँदै भाग्यो, अचानक कताबाट तेरो याद आयो यार †

खडानन्दका बाबु–छोरीको सल्लाह

खडानन्द : छोरी, तिमीलाइ यत्रो पढाएँ, लेखाएँ, अहिले आएर बिहे नै गर्दिन भन्छयौ, त्यसो नभन न छोरी ।

छोरी : हैन बुबा, पढाउनुभो, लेखाउनुभो, आफैंले भिडेर यस्तो राम्रो ठाउँ र पोस्टमा जागिर खाँदैछु, म आफैंमा सक्षम र एक्लै केही गरेर बाँच्न सक्ने मान्छे छु, भो बुबा, कर नगर्नुस् न बिहे गर्न ।

खडानन्द : त्यो सब त ठीकै छ, पछि तिमीबाट जानी–नजानी केही साना–ठूला गल्तीहरू भए भनेचाहिं त्यसको दोष कसलाई दिने त छोरी...? त्यसैले पतिको महत्व बुझ न छोरी ।

प्रकाशित :भाद्र ३०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्