दोख बाँकी छ : अनुप बराल

- किशोर नेपाल

भाद्र ३०, २०७५

सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा भएको २०४६ सालको पहिलो जनआन्दोलनले देशमा संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको पुनस्र्थापना गरे पनि त्यसले देशका सबै राजनीतिक दल, समूह र स्वार्थका लागि त्यो ग्राह्य भएन । कम्युनिस्टहरूको एउटा समूहले त्यसका विरुद्ध हतियार उठायो । दस वर्ष लामो युद्धपछि २०६३ सालमा युद्धको अन्त्य भयो । युद्धको अन्त्य त भयो, तर ‘दोख’ बाँकी रह्यो । 

युद्धमा मारिएका, हराएका तथा विस्थापित भएका परिवारहरूको संख्या कम थिएन । अहिले युद्धको ‘राजनीतिक माग’ पूरा भएको छ । नेपालले एउटा नयाँ राजनीतिक व्यवस्था, संघीय लोकतान्त्रिक गणतन्त्र, अपनाएको छ । त्यसअनुरूपको संविधान लागू भएको छ । समान र समावेशी समाजको परिकल्पना गरिएको छ, तर ‘दोख’ बाँकी छ । त्यसको उपचार सुरु भएकै छैन ।

सिनेमा र नाटकका निर्देशक, आफैं सक्षम र बौद्धिक कलाकार अनुप बरालको आगामी सिनेमाले यही दोखको कुरा उठाएको छ । प्रज्ञा–प्रतिष्ठानको शब्दकोशअनुसार ‘दोख’ ज्वरो बिग्रिएर हुने एक प्रकारको सन्निपात हो, हानि गर्ने वस्तु हो । अहिले हाम्रो देशलाई युद्धको दोखले ग्रस्त तुल्याएको छ । यद्यपि नेताहरू राजनीतिक समस्या टुंगिएको बताउँदैछन्, तर जुन सन्निपातले यतिबाट देश बरबराइरहेको छ, त्यसको कारण राजनीतिक होइन, सामाजिक एवं सांस्कृतिक हो । जनताको सामाजिक तथा सांस्कृतिक जीवन समावेशी जगमा नउभिएसम्म, एउटा मानिसले अर्कोलाई विभेदको आँखाले हेर्न नछाडेसम्म युद्धको दोखबाट देश मुक्त हुँदैन ।

दोखको कथा र पटकथा लेखेका छन् खोटाङका राजन कट्टेलले । यो उनको पहिलो प्रयास हो कथा र पटकथा लेखनमा । ‘दोख’ नाम जुटाउने खगेन्द्र लामिछाने हुन जो आफैं जिनियस सिनेमाकर्मी हुन ।

उनले कथाको निर्माण सामान्य हिसाबले, एउटा सामान्य नेपालीले जसरी युद्धलाई भोगेको थियो, त्यही हिसाबले लेखेका छन् । यसमा एउटा सामुदायिक वनको कथा छ, जसले एउटा गाउँका जनतालाई दुई पक्षमा बाँडिदिएको छ । राजनले कथाको निर्माण गर्दा फुटबल खेलको प्रतीकात्मक सहयोग पनि लिएका छन् । अनुपको अनुभवमा सिनेमा राम्रो बनेको छ । अनुपले सिनेमामा चर्चित कलाकार तीन जना, दिया मास्के, माओत्सेतुङ गुरुङ र लोकमणि सापकोटालाई लिएका छन् । यसबाहेक अरू सबै नयाँ अनुहार छन् । सिनेमाले पात्रकै आधारमा आफ्नो परिचय बनाओस् भन्ने उनको उद्देश्य छ ।

अनुप भन्छन् : ‘दोख’ सामाजिक–सांस्कृतिक अन्तरविरोधमा केन्द्रित विषय हो । यो विम्ब हो । सिनेमा यसैका वरिपरि घुम्छ । द्वन्द्वकालीन घटनाहरूको संयोजन गरेर बिथोलिएको संस्कृतिलाई समेट्ने एउटा प्रयत्न हो यो । हामीले सिनेमा निर्माणका लागि त्यस्तो ठाउँ चुन्यौं जुन आफै द्वन्द्वग्रस्त गाउँ हो । हाम्रो लोकेसन ‘भर्जिन’ छ । यहाँ हामीलाई द्वन्द्वकालका आधिकारिक कार्यकर्ताहरूसँग भेटने सुविधा प्राप्त भयो । हामीले उनीहरूको जीवन बुझ्ने मौका मात्र पाएनौं, पुराना घटनाहरू हाम्रा आँखाको सामुन्ने घटित भैरहेको जस्तो भान भयो । हामी ठ्याक्कै द्वन्द्वको त्यही समयमा पुग्यौं । त्यही क्षणमा बाँच्यौ । काम गाह्रो थियो । कतिपय मानिस हाम्रो कामको सराहना गर्दै थिए भने अरू कतिपयले हामीलाई शंकाको आँखाले पनि हेरे । कतिपय २०५२–२०६२ सम्मका हिंसाका घटनाहरूलाई बिर्सन चाहन्थे । भन्थे, ‘अब जे 

हुनु भैहाल्यो । पुरानो घाउ कोट्याएर के गर्नु ?’

‘तर बिर्सिनु त्यति सजिलो थिएन । इतिहासको एउटा महत्वपूर्ण कालखण्डलाई बिर्सने हो भने हामीले कहिले पाठ सिक्ने इतिहासबाट ? युद्धलाई मूल विषय बनाएर धेरैले सिनेमा बनाएका छन् । यो सजिलो काम त होइन, तर उद्देश्य नै युद्ध सिनेमा बनाउने लिएपछि त्यसैमा केन्द्रित हुनु त पर्‍यो,’ अनुपले वताए । 

‘दोख’ को पोस्ट प्रोडक्सनको काम सकिएको छ । अहिले साउन्ड मिक्सिङ सुरु भएको छ । जेठ ९ गते सिनेमाको पहिलो प्रदर्शनका लागि लागेका छन्— अनुप र उनको टिम । सत्तरी जनाको त्यो टिमका सदस्यहरूले व्यक्तिगत हिसाबले पनि दु:ख बेसाएका छन् । मनोरञ्जनको कुनै पनि माध्यम उपलब्ध नभएको (मोबाइलको सिग्नल भेट्न पनि मुस्किल), बेपत्ता हावा लाग्ने, खाजाको नाममा चाउचाउबाहेक केही उपलब्ध नहुने गाउँमा होम स्टे स्टाइलले वसेका छन् ४० दिनसम्म । लोकेसनको अवस्था यस्तो कि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रापिलो घाम लागेर सुटिङ गर्नै नसकिने । 

वैशाख १२ मा भुइँचालो जाँदा लोकेसनमा रहेको यो टिम जम्मा २१ दृश्य खिचेर फर्किएको थियो भुइँचालोको भयले । त्यसपछिको वर्षलाई खायो नाकाबन्दीले । केही काम हुन सकेन । अनुप समय पर्खिएर बसे । भुइँचालो गएको तेस्रो वर्ष सिनेमा पूरा भयो । अनुपको मात्र होइन, दोख टिमको खुसी त्यसमै छ । 

अनुप भन्छन् : हिंसाले मानिसको भाषालाई बढी कनेक्ट गर्छ । हो, मानिसहरूले ठीक भनेका छन, द्वन्द्व पुरानो भयो तर गहिराइमा गएर त्यसलाई बाहिर ल्याउन सकिएको छैन । मैले आफैंले स्थानीय जनतासँग सोधें, ‘कता लाँदो रहेछ हिंसाले समाजलाई ? युद्धले मानिसलाई कुन मानसिकतातिर धकेल्दो रहेछ ? धेरैको भनाइ थियो, ‘युद्धले स्वतन्त्रता दियो । त्योसँगसँगै, देश अघि बढ्नुपर्ने थियो, त्यो बढेन । अब यसपछि के त ? यो कसैले सोच्न सकेको छैन । समाजमा राम्रा र असल मानिस नभएका होइनन्, तर सबै खराब छैनन् भन्ने ठाउँ नै रहेन ।’ 

नेपालमा फिल्म निर्माताहरू १०–१५ करोड कमाउँछन् । सिनेमा हिट भैहाल्छ । नेपालभन्दा बाहिर, युरोप–अमेरिकातिर यसो सिनेमाको चक्का घुमायो । त्यहाँ पनि हेर्ने नेपाली नै हुन् । लगानी एकपटक होइन, दुई पटक उठछ । सकियो । दोखमा त्यस्तो केही छैन । निर्माता सविन ज्ञवाली दह्रा निर्माता सावित भएका छन् । यद्यपि, मुद्रास्फीतिको यो जमानामा १ करोड रुपैयाँको लगानीलाई खासै ठूलो भन्न सकिँदैन, तर पैसाभन्दा पनि प्रोडक्ट चलेपछि त भैहाल्यो नि । 

 

प्रकाशित :भाद्र ३०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्