सम्पत्तिको महत्त्व कति होला ?

- मनोज गजुरेल

भाद्र २८, २०७५

 

जीवन के हो ? धेरैले धेरैलाई धेरै पटक सोध्ने प्रश्न हो । यसको दार्शनिक उत्तर त्यति सजिलो छैन । अहिले त्यो गहिराइमा कुरा गर्न पनि सकिँदैन । सामान्य अर्थमा जीवन जन्म र मृत्युबीचको यात्रा हो जुन संयोगले चलेको हुन्छ । 

यो संयोग कसरी हुन्छ त ? उत्तर गणीतजस्तो हुँदैन, साहित्यजस्तो हुन्छ । ‘सप्रसंग व्याख्या गर्न’ दिइएको कवितालाई फरक–फरक अर्थमा व्याख्या गरेजस्तै हो जिन्दगी । कसैले पानीको फोका भन्छन्, कसैले अजम्मरी फूल भन्छन् । कसैले दुई दिनको रामछायाँ भन्लान्, कसैले सधैंको घामछायाँ भन्लान् ।

मेरा बा, म र मेरो छोराको बुझाइ फरक–फरक छ जीवनका बारेमा । मेरा हजुरबा भन्नुहुन्थ्यो, जीवन दुई दिनको रामछायाँ हो, तर उहाँ १०२ वर्षसम्म बाँच्नुभयो ! म भन्छु, यो त यौटा खेलौना हो तर स्वयम् मलाई कुनै बच्चाले खेलाउन सक्दैन । मेरो छोरो भन्छ, जीवन दामी छ तर यसको किनबेच भएको थाहा छैन । न त सेयर कारोबारझैं जीवनको उद्योग मार्केटमा छरिएको छ । जीवन त नितान्त व्यक्तिगत विषय हो । 

जसले जीवनलाई दु:खको सागर भन्छ उही मानिस उक्त सागरमा पौडी खेल्न जान्दैन । जसले जीवनलाई कहालीलाग्दो पहाड मान्छ उसले कहिल्यै पहाड चढेको हुँदैन । जीवनलाई भगवानको कृपा मान्ने मानिस बाँच्नका लागि सबैभन्दा बढी संघर्ष गरिरहेको फेला पर्छ । भगवानको कृपा हो भने त जीवनलाई छोडिदिए भैगयो नि आफ्नै गतिमा †

ठूल्ठूला रहस्यदर्शीहरू पनि एकमत छैनन् । बुद्ध ‘अप्प दिपो भव’ भन्नुहुन्छ । जिसस ‘ममा आउ, सब ठीक हुन्छ’ भन्नुहुन्छ । कृष्णको आफ्नै व्याख्या छ । मोहम्मदको छुट्टै शन्देश छ । स्वयम् महात्माहरू एकमत छैनन् भने हामी सामान्य नर–नारीहरू कसरी एउटै कुरामा सहमत हुन सक्छौं र †

जीवन व्यक्तिको जन्म, संस्कार, परम्परा, परिवेश, चेतना एवं घटना अनुसार फरक–फरक हुन्छ । दु:खै दु:खमा डुबेको मानिसका दृष्टिमा जीवन दु:खको खाडल हो । सुखै सुखमा हुर्किएको व्यक्तिको नजरमा जीवन सुखको बगैंचा हो । धार्मिक स्वभावको मानिसले जीवनलाई ईश्वरको लीला मान्छ । नास्तिक स्वभावको मानिसले जीवनलाई प्रकृतिको सनातन नियम ठान्छ ।

जीवनमा सम्पत्तिको महत्त्व कति छ ? यसबाट पनि थाहा हुन्छ, जीवनसम्बन्धी हरेकको बुझाइ फरक–फरक हुन्छ । उदाहरणका लागि हाम्रा बा, हामी र हाम्रा सन्तानको धारणालाई लिन सक्छौं ।

हाम्रा हजुरबा भन्नुहुन्थ्यो, हेर बाबु हो † भविष्यमा दु:ख पाइन्छ । दु:खका बेला आफ्नैले पनि सहयोग गर्दैनन् । त्यति बेला सम्पत्ति चाहिन्छ । अहिले धेरै खर्च नगर । फारु गर । भविष्यका लागि बचत गर्नुपर्छ ।

यही कुरा छोराको युगमा लागू हुँदैन । सम्पत्तिसम्बन्धी उसको धारणा फरक छ । ऊ भन्छ, ‘अहिले आवश्यक परेका बेला नखाएर भविष्यका लागि बचाएर के गर्नु ? अहिले कमाउनु पनि पर्छ, खानु पनि पर्छ । बाँकी रहेछ भने बचाउनु पनि पर्छ । भविष्य त चलिहाल्छ नि ।’

नातीको जमाना अर्थात् अहिलेका टिन एजको धारणा फरक छ । उनीहरूको बुझाइमा जीवन भनेको वर्तमान हो । अहिले कुस्त कमाउनुपर्छ, मस्त खानुपर्छ, लगाउनुपर्छ, घुम्नुपर्छ, मोज गर्नुपर्छ । यदि भविश्य रित्तो भएछ भने पनि त्यसमै रमाउनुपर्छ । यी तीन पुस्तामध्ये कसको धारणाचाहिं सही हो त ?

प्रकाशित :भाद्र २८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्