Teej banner

भारतमा ब्राण्ड बन्दै नीलडेभिड्स सलून

- साप्ताहिक संवाददाता

भाद्र २६, २०७५

दुई महिनाअघि मात्र झण्डै एक करोड भारतीय रुपैयाँ लगानी गरेर भारतको नयाँ दिल्लीमा आफ्नो पहिलो सलून सञ्चालन गरेका नेपालका लोकप्रिय हेयर स्टाइलिस्ट नीलडेभिड कटवाललाई नयाँ दिल्लीका विभिन्न स्थानका लागि शिवमाया कम्पनिले मास्टर फ्रेन्चाइजका लागि अनुबन्ध गरेको छ । बुवाको मुख हेर्ने दिन नीलडेभिडले आफ्नो स्वर्गीय बुवा कृष्णबहादुर कटवालको आशीर्वाद स्वरुप ठूलो उपहार पाएको अनुभव गरेका छन् ।

नयाँ दिल्लीको जिके टु एम ब्लकमा नीलडेभिड्स सलूनले राम्रो बजार पाइरहेको बेला कटवालको ब्राण्डलाई शिवमाया कम्पनिले दिल्लीकै लाजपतनगरबाट विस्तार गर्ने अन्तिम तयारी गरेको छ । तीन साताभित्रै नीलडेभिड्स ब्राण्डको दोस्रो सलून दिल्लीमा सञ्चालन हुने भएको हो ।

नयाँ दिल्लीभरीका लागि शाखा बिस्तार गर्ने सम्झौता पाएकै दिन नीलडेभिडले भारतकै उत्तर प्रदेशबाट पनि त्यस्तै प्रकारको शाखा बिस्तारका लागि अनुबन्धित भएका छन् । भारतको उत्तर प्रदेशको भिनस ईन्टरनेशनल ग्रुपका निर्देशक हिमांशु गुप्ता तथा उनको समुहले उत्तर प्रदेशका लागि पनि नीलडेभिड्स ब्राण्डको मास्टर फ्रेन्चाइजका लागि अनुबन्ध गरिसकेका छन् । भिनसले नीलडेभिड्स सलूनलाई ५० लाख भारतीय रुपैयाँमा उत्तर प्रदेशका लागि सम्झौता गरेको हो । यसका साथै नीलडेभिडले प्रत्येक नयाँ सलूनबाट एक पटकका लागि दुईदेखि तीन लाख भारतीय रुपैयाँका साथै १५ देखि २५ हजार रुपैयाँ मासिक रोयल्टि समेत पाउने छन् ।

नीलडेभिडका फ्रेन्चाइजी प्रमुख सन्तोष उपाध्यायका अनुसार भिनस ईन्टरनेशनलले आफ्नो पहिलो नीलडेभिड्स ईन्टरनेशनल सलून नोयडामा सञ्चालन गर्ने भएको छ । उपाध्यायका अनुसार आगामी दुई वर्षमा नीलडेभिड्स ब्राण्ड भारतकै एउटा मजबुत ब्राण्ड बनेर आउने निश्चित छ । नेपाली हेयर स्टाइलिस्ट भएर नेपालको नामलाई फेसनबाट चिनाउने नीलडेभिड्स ब्राण्डले ठूलो भूमिका निर्वाह गर्ने उपाध्यायको बुझाइ छ । उनका अनुसार नीलडेभिड्स ब्राण्डलाई अबको एक वर्ष भित्र दिल्ली, उत्तर प्रदेश तथा पश्चिम बंगालका विभन्न शहरमा बिस्तार गरिने छ । नेपाल र भारतपछि सन् २०२० पछि यो ब्राण्डलाई दुबई, लण्डन तथा अष्ट्ेरलियासम्म पनि विस्तार गरिने योजना छ ।

यसैबीच नीलडेभिडको नयाँ सलून भारत र भुटानको सीमा क्षेत्र नजिक पर्ने जयगाउँमा पनि अक्टोबर ३ देखि सञ्चालन हुने भएको छ ।

यता, काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरको तेस्रो तल्लामा समेत यही सेप्टेम्बर २९ का दिन निलडेभिड्स सलूनको नयाँ शाखा सञ्चालनमा आउँदैछ । यसका साथै ललितपुरको कुमारीपाटी, इटहरी, बिर्तामोड, भैरहवा तथा नेपालगञ्जमा पनि नीलडेभिड्सको शाखा बिस्तार हुने अन्तिम तयारीमा छ ।

‘मेरो लागि यो ठूलो उपलब्धि भएको छ, नीलडेभिड भन्छन्–‘झापाको लक्ष्मीपूरबाट प्रारम्भ भएको मेरो यात्रा यहाँसम्म आइपुग्दा झण्ड ५ सय भन्दा बढिलाई रोजगारी दिँदै अघि बढिरहेको छ । अबको केही वर्षमा हामीले झण्डै ५ हजार जनलाई रोजगारी दिलाउने मेरो लक्ष्य छ ।’ नीलडेभिडले अर्को वर्ष लक्ष्मीपुरमै नीलडेभिड्स इन्टरनेशनल एकेडेमी शिलान्यास गरेर नेपालमै अन्तर्राष्ट्रिस्तरको प्रशिक्षण केन्द्र सञ्चालन गरिने योजना समेत सुनाए । 

 

प्रकाशित :भाद्र २६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्