अचार्यको अप्रिल फुल अब बजारमा

- साप्ताहिक संवाददाता

भाद्र २४, २०७५

पत्रकार एवं लेखक कृष्ण आचार्यको उपन्यास ‘अप्रिल फुल’ बजारमा आएको छ । शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी उनको उपन्यास सार्वजनिक गरिएको हो । आख्यानकार कृष्ण धरावासी, गायक हेमन्त शर्मा, कवि ज्योति जंगल र लेखक आचार्यले संयुक्तरुपमा उपन्यासको विमोचन गरेका हुन् ।

प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित विमोचन कार्यक्रममा बोल्दै आख्यानकार धरावासीले पुस्तकको भाषा, शैली र प्रस्तुतिकरणले आफूलाई तानेको बताए । उनले भने, ‘मैले कैयौं पुस्तकहरु पढ्दा–पढ्दै बीचैमा मिल्काएको छु । तर, अप्रिल फुल त्यस्तो छैन । यसमा समावेश विषयबस्तु र घटनाक्रमले पाठकलाई अन्त्यसम्म तान्दै लान्छ ।’ यो लेखकको सबैभन्दा ठूलो सफलता रहेको धरावासीको भनाई थियो । 

यस्तै, गायक हेमन्त शर्माले ‘अप्रिल फुल’ले बजारमा अन्य किताबसँग प्रतिस्पर्धा गर्न सक्ने बताए । ‘बजारमा खुबै चलेका भनिएका उपन्यासभन्दा ‘अप्रिल फुल’ कुनै कुरामा कम छैन’ शर्माले भने, ‘यस कृतिमार्फत लेखकले आफ्नो भविष्य बनाइसके । अब उनले पछि फर्किएर हेर्नु पर्ने छैन ।’

यता, कवि ज्योति जंगलले उपन्यास समय सापेक्ष भएकाले यसले सबैको मन जित्ने विश्वास व्यक्त गरिन् । ‘उपन्यासले वर्तमान समय बोलेको छ । त्यसैले यसले सजिलै पाठकको मन जित्न सक्ने छ’, उनले भनिन्, ‘यो किशोर–किशोरीको प्रेम कथामा आधारिक उपन्यास भए तापनि आफ्ना छोराछोरीलाई बुझ्न आमा–बाबुले पनि अप्रिल फुल पढ्नुपर्ने उनको धारणा थियो ।’

विमोचन कार्यक्रममा लेखक आचार्यले उपन्यासमार्फत आफूले ‘रियालिटीलाई फिक्सनाइज’ गरेको बताए । ‘उपन्यासमा माया–प्रेम मात्र नभएर समाज र सामाजिक चित्रण पनि छ’, अचार्यले भने, ‘उपन्यासभित्र पाठकले आफू र आफ्नो सामाजिक परिवेश पाउनेछन् ।’ उपन्यासले मनोरञ्जनका साथै ज्ञान पनि दिन खोजेको उनले बतए ।

उपन्यास युरेका पब्लिकेशनले बजारमा ल्याएको हो भने यसको मूल्य ३५० रुपैयाँ रहेको छ ।

 

प्रकाशित :भाद्र २४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्