नयाँ पात्रको इन्ट्री

- नवीन प्यासी

भाद्र २३, २०७५

एम. बीबीएसवाली डाक्टरसँग विगत निकै दिनदेखि आँखा जुधिरहेको थियो । झल्याकझुलुक देखादेख हुँदा मुस्कानको कारोबार चलिहाल्थ्यो । उनी पनि फिस्स हाँस्थिन् । म पनि हाँस्थें । हिजो अचानक गेटमा भेट भयो । उनी ड्युटी सकेर बाहिर निस्किएकी । म भित्र छिरिरहेको । एकोहोरो हेरिरहेँ । बोल्न सकिनँ । उनी बोलिन्, ‘काम छैन पग्लु ! अर्कालाई के हेरिरहेको त्यसरी ?’

म अकमक्क भएँ । उनी यति भनेर हाँस्दै–हाँस्दै ओझेल भइन् । हाँस्नुको इरादा नबुझेर म बेचैन भएँ । कुन अर्थमा हाँसेकी बुझ्न सकिनँ । तनावग्रस्त नै बनायो मलाई यो कुराले । 

उनी खित्तखित्त हाँसिन् र भनिन्, ‘मलाई पनि मन लागेको छ । भन्न मात्र डर लागेको हो !’

‘म बाघजस्तो देखिन्छु र ?’

‘डरलाई कहिल्यै देख्या’ छैन भने बिराला देखि नि लाग्छ नि ! डरको पर्याय बाघ मात्र होइन !’

‘भने पछि म बिरालोजस्तै छु ?’

‘जस्तै–जस्तै ! (खितखिताइन्) तर लभ्ली बिरालो ! सधैं साथै राखूँ जस्तो !’

‘हे ! हे ! हे ! हे ! म नवीन !’ (हात बढाउँदै बोलेँ) 

हात हटाई र हग गरी । कानमा सुटुक्क भनी, ‘म आककस्था ! आस्था पोख्रेल !!’

म ट्वाँ परेँ । मुटुको चाल बढेर आयो । फेरि भनिन्, ‘डर लाग्यो ?’ 

‘डर होइन आत्तिएँ ।’ 

उनी अलि पर्तिर सरिन् । मलाई हेरिन् । म बोल्नै सकिनँ । उनैले भनिन्, ‘प्याटर्न खोलेर मोबाइल ल्याऊ त !’

मैले दिएँ । उनले नम्बर डायल गरिन् । उनको पकेटमा रिङ्गटोन बज्यो । 

‘ल म भरे कल गर्छु ! फोन उठाउने नि त्यहाँ । म अहिले काममा बिजी हुन्छु ।’ 

पातलो जीउडालकी । सिलिक्क परेको कम्मर । ब्यागलाई झिकेर हातमा झुन्ड्याइ । कर्ली कपाल हल्लाउँदै गइन् । म टोलाइरहेँ । बस् एकोहोरो टोलाइरहेँ । यत्तिकैमा नाउमाको फोन आयो । रिसिभ गर्न मन लागेन । फोनलाई यत्तिकै बज्न दिइरहेँ । फोन बजिरह्यो । म त नोल्टाजिक भैहालेछु र मनमनै नाउमालाई सम्बोधन गर्दै भनेँ—

तिमीले दिएको औँठी ठूलो भयो, तैपनि लगाएँ । कसरी किन्यौ, कहाँबाट पैसा जम्मा गर्यौ सोच्दा पनि भावुक हुन्छु, तर मैले त औँठी मात्र ल्याएको रहेछु फगत औँठी । तिमीलाई ल्याउन छुटाएँछु वा तिमी जानीजानी छुट्यौ । बस् तिमी छुट्यौ । 

तिम्रो ठेगाना थाहा छैन र पनि कहिलेकाहीँ तिमीलाई सम्बोधन गरेर चिठी लेख्छु, तर आफ्नै आँसु पनि दुस्मन बनिदिन्छ । कागज नमज्जाले भिजाइदिन्छ । सुरुसुरुमा तिमीले लेखेका चिठी खोलेर हेर्थें । जहाँ, कहिले सुरुवातमा लेखिएको हुन्थ्यो— ‘एक करार हो न जाय, मुझे डर है आपसे कहीँ प्यार हो न जाय, अभि सास लेने कि फुर्सद नही है कि तुम मेरी बाहों मे हो, तुमसे मिलना, बात करना बडा अच्छा लगता है †’ ती सब चिठी तिमीलाई फिर्ता गर्न मन लाग्थ्यो तर तिमी त ठेगानाविहीन बनेर हराएको मान्छे । ती चिठीहरू चङ्गा बनेर कता–कता उडे, पत्तो छैन । सायद, तिमी वरिपरि बतास त आइपुग्यो होला । सास फाल्नुभन्दा अघि मलाई सम्झनू र साससँगै मलाई फालिदिनू । 

‘पग्लु !’

‘हँ !’ म झस्किएँ । त्यही एमबीबीएस वाली आएकी रै’छिन् । 

‘तिमीलाई डाक्टरले खोजिरहनुभएको छ । के टोलाइरहेको ?’

‘मेरो निजी विगततिर बरालिँदै थिएँ ।’ 

‘गर्लफ्रेन्डहरूको याद आयो होला ! हेर्दै झिल्के छौ । कति होलान्— होलान् नि !’ 

‘गर्लफ्रेन्डहरू होइन, एक्स गर्लफ्रेन्डको याद आयो जसलाई सम्झिँदा आफैंलाई बिर्सन्छु ।’

‘खै फोटो हेरुम त । तिमीलाई पागल बनाउनेको अनुहार कस्तो रहेछ ?’

‘अनुहारसँग के सरोकार । दुनियाँलाई जस्तो लागे नि मलाई उनी जीवनकै सबैभन्दा ठूलो प्राप्ति लाग्थिन् ।’ 

‘के थियो र त्यस्तो उनीसँग ?’ 

‘क्यै थिएन । नराम्री थिई तर उनको आँखामा मेरा सपनाका स्केच थिए । मेरा खुसीका रिदमहरू थिए । जो उतै कतै छुट्यो उनीसँगै ।’ 

‘अब अर्को आँखामा कोर्नु नि स्केच । भेटाउनु नि रिदम ।’ 

‘सक्दिनँ !’ 

‘किन ?’

‘आदत बस्न गाह्रो हुन्छ र बसिसकेको आदत छुट्न अझ गाह्रो हुन्छ ।’ 

‘तिमीसँग कुरा गर्न नसक्ने रहेछु । ल भरे कुरा गरौँला । अहिले जाऊ । तिम्रो बाबाको आज होइन डिस्चार्ज ?’

मैले अँ भन्ने आसयमा टाउको हल्लाएँ । बुवा बिरामी हुनुहुन्थ्यो । लिभरमा समस्या भएर ल्याएको नेपाल मेडिकल हस्पिटलमा । आज डिस्चार्ज गरेर जाँदैछु । बुवालाई सम्झन्छु र उनले उपहारमा दिएको दु:ख सम्झन्छु । बाल्यकाललाई सम्झन्छु र मनमनै मनलाई धन्यवाद दिन्छु—

आखिर मनै त हो, जो तिरस्कारको पहरामा पनि अपनत्वको सुनगाभा फुलाउन खोज्छ । मन नै नहुँदो हो त के हुन्थ्यो होला जीवन ! सायद 

ढुङ्गा भएर पछारिन्थ्यो, तर दुख्दैनथ्यो ! सालिक भएर उभिन्थ्यो होला, तुषारो, झरी, घाम केही पनि थाहा पाउँदैनथ्यो होला ! 

आखिर मनै त हो जो दुस्मनका अगाडि करुणा भएर उभिन सक्छ । प्रेम भएर उभिन सक्छ ।

प्रकाशित :भाद्र २३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्