अतृप्ति

- सुविन भट्टराई

भाद्र २३, २०७५

अलिकति अतृप्त हुनु राम्रो । अलिकति खालीपन कति सुन्दर हुन्छ ? अलिकति तडप पनि कहाँ बेस्वादिलो हुन्छ र ? अलिकति धोका कहाँ नराम्रो हुन्छ ? अलिकति रिस पनि राम्रै हुन्छ । अलिकति छट्पटी पनि मज्जै हुन्छ । 

कसैको जीवन सबै अर्थमा, सबै क्षेत्रमा पूर्ण हुँदैन । भए कसैको त्यही जीवन सुन्दर रहँदैन । हामीलाई पूर्णताको खोजीले बढी दु:खी बनाउँछ । केही प्रतिशत त दु:खै पनि मीठो हुन्छ । 

हामी जीवनमा सफलता, प्राप्ति, सुख र समृद्धिको होडमा यसरी पछि लागेका छौँ कि नपाएको खण्डमा आफैँलाई घृणा गर्न थाल्छौँ । एउटा आशक्तिमा आफैँलाई टम्म बाँधेका छौँ । यो पक्कै हो कि जीवनलाई हर ठाउँमा असफलता र दु:ख मात्र पनि सह्य हुँदैन, तर जीवन सधैँ–सधैँ यिनै चिजहरूको लतमा मात्र फस्नु पनि हुँदैन । 

०००

जीवन गन्तव्यले भन्दा यात्राले सुन्दर हुन्छ । पुगेपछि त 

सक्किगो ! क्लाइमेक्सपछि के खोज्नु ? त्यसैले सक्किनुभन्दा चलिरहनु राम्रो । 

यहाँ हामी धेरै छौँ, जो यात्रा नगरी गन्तव्यमा पुग्ने मोहले प्रताडित छौँ । उकालै नचढी चुचुरोमा पुग्ने लोभले सताइएका छौँ । यात्रामा गर्न पाइने तमाम अनुभव जस्तो कि, थकाइ, तिर्खा, ठेस, जाडो, गर्मी, हावा, वर्षात् सबैलाई फड्केर एकै पटक चुचुरोमा पुग्न चाहन्छौँ । यात्रा सम्झनलायक त यिनै अनुभवहरूले हुने हो भन्ने पनि बिर्सन्छौँ । कहीँ पुग्नुले त ठाउँ मात्र देखाउँछ, यात्रा गर्नुले नै जीवन चिन्न सघाउँछ ।

जीवन हरठाउँमा प्राप्ति, हरठाउँमा सन्तुष्टि मात्र भएर आयो भने त्यही प्राप्तिको मिठास पनि साधारण लाग्न सक्छ । त्यही सन्तुष्टिको आभास पनि खास नलाग्न सक्छ । जीवनका कैयौँ मोडहरूमा अप्राप्तिका काँडाहरू बिझ्नुपर्छ । असन्तुष्टिका फोहोराले भिज्नुपर्छ ।

अलिकति त रित्तिनु पनि राम्रै हुन्छ । भरियो भने केहीका लागि ठाउँ नै रहँदैन । अलिकति त असफलताले च्वास्स घोचेको पनि ठीक, जसले सफलताको स्वाद चिन्न सघाउँछ । अलिकति विवशताले कठालो समातेकै बेस । समस्यासित जुध्न सिकाउँछ । 

०००

हामी आफूलाई हरठाउँमा, हरक्षेत्रमा पर्फेक्ट देख्न चाहन्छौँ । यहीँबाट सुरु हुन्छ मानिसको दु:खको यात्रा । पर्फेक्ट हुनु पनि क्लाइमेक्स नै हो । त्यसपछि केही पनि छैन । त्यसो त पर्फेक्सनको पनि मान्छेपिच्छे आ–आफ्ना परिभाषा र मापदण्ड हुँदा हुन् । धेरै धन–सम्पत्ति कमाउनुलाई मान्ने कि, कहीँ कुनै ओहदामा पुग्ने कुरालाई मान्ने कि अथवा केलाई मान्ने ? भन्ने नै हो भने मानिसले चाहेको जे–जति पाउँछ, त्यसपछि पनि थुनिँदैन उसका इच्छा र रहरका मूल । त्यसपछि पनि ऊ तृप्त हुन सक्दैन, हुनु पनि हुँदैन । 

एउटा प्यास सधैँ रहिरहनुपर्छ । खोजको एउटा चाहना सधैँ कायम रहनुपर्छ । एउटा सानो खाडल सधैँ परिरहन्छ, पर्नु पनि पर्छ । एउटा अर्को लक्ष्य फेरि ऊभित्र जन्मिहाल्छ, जन्मनैपर्छ । 

पुगेर चुचुराहरू कहिल्यै सकिँदैन । एउटा पछि अर्को आइरहन्छ । हिँडेर बाटोको अन्त्य 

कहिल्यै हुँदैन । 

कुनै पनि कुरा पूर्ण हुँदैन । शतप्रतिशत भन्ने चिज पनि संसारमा बिरलै भेटिन्छन् । पूर्ण सन्तुष्टि प्राप्त गर्न नसकेर असन्तुष्ट हुनुको पनि कुनै तूक छैन । बस् † मानिस मानिसको मनको एउटा कुनाबाट यो खोजको प्यास नसुकोस् ।

प्रकाशित :भाद्र २३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्