Teej banner

महिलामाथि गिद्धे नजर

- जनक तिमिल्सिना, भिषा काफ्ले

भाद्र २०, २०७५

पूर्वीय समाजमा नारीलाई आमा, दिदीबहिनी वा छोरीका रूपमा उच्च सम्मान दिइन्छ । हिन्दू धार्मिक मतको बाहुल्यता रहेको नेपाली समाजमा त नारीलाई शक्तिकै स्वरूप मानिन्छ । अझ हिन्दू धार्मिक ग्रन्थहरूमा बलात्कारलाई ‘पाप र दुष्कर्म’का रूपमा जताततै उल्लेख गरिएको पाइन्छ । 

तिनै धार्मिक ग्रन्थहरूले पूर्वीय सामाजिक संरचनाको नैतिक आचरण निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । कतिसम्म भने सामाजिक रूपमा सिद्धान्तलाई बलियो तुल्याउन पाप गर्दा ‘नरक पुग्ने’, ‘देवता रिसाउने’ तथा ‘अनिष्ट हुने’जस्ता धार्मिक मान्यता समाजमा विद्यमान छन् । पछिल्ला वर्षहरूमा ‘पाप र पुण्य’को नैतिक बन्धन खडा गरेर सामाजिक अपराध रोक्ने त्यही नैतिक आचरणमा आएको क्षयीकरणको बलियो प्रमाणका रूपमा बलात्कारजस्तो जघन्य अपराध एकपछि अर्को गरी डरलाग्दो रूपमा बढेको मात्र छैन, दैवी स्वरूपा एवं पवित्रताका प्रतिमूर्ति मानिने महिलाहरूमाथि नै गिद्धे नजर पर्न थालेको छ । 

नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्ला तीन वर्षमा मात्र देशभर ३ हजार ७ सय १० जना महिला बलात्कृत भएका छन् भने १ हजार ७ सय ८ जना महिलामाथि बलात्कारको प्रयास भएको छ । प्रहरीको यो तथ्यांकअनुसार हरेक दिन तीन जना महिला बलात्कृत हुने र २ जनामाथि बलात्कारको प्रयास हुने गरेको प्रष्ट हुन्छ । अवस्था यतिसम्म भयावह बन्न पुगेको छ कि बलात्कारको ग्राफ २०७२/०७३ को तुलनामा ०७३/०७४ मा ४ प्रतिशतले वृद्धि भएको थियो भने ०७४/०७५ मा २४ प्रतिशतले वृद्धि भएको पाइन्छ । यौन शोषणका धेरैजसो घटना लोकलाजका कारण सतहमा आउँदैनन् । अर्कातिर वैवाहिक बलात्कार त गुपचुपमै सकिन्छ । त्यसकारण बलात्कारको यो तथ्यांकले हाम्रो समाज अझ भयावह रहेको संकेत गरेको छ । 

यी घटनाक्रमले आम मानिसका लागि छोरी, बुहारी, आमा तथा दिदीबहिनीहरूको सुरक्षा चिन्ता सबैभन्दा ठूलो चुनौतीका रूपमा खडा गरिदिएको छ । स्कुल गएकी नाबालक छोरी, अफिस र मेलापात हिँडेकी बहिनी तथा घरमै काममा रहेकी श्रीमतीको अस्मितामाथि जुनसुकै समयमा धावा बोलिने चिन्ताले समाजलाई तरंगित बनाइरहेको छ । मानवीय संवेदनाको समेत खिल्ली उडाउँदै सुस्त मनस्थिति, अशक्त, वृद्ध एवं मानसिक स्थिति बिग्रिएका महिलाहरू पनि बलात्कारको सिकार भएका छन् । केन्द्रीय बालकल्याण समिति तथा इन्सेकको तथ्यांकअनुसार त बालबालिकाहरूमाथि बलात्कारको जोखिम सबैभन्दा बढी देखिन्छ । मनोविद् करुणा कुँवर सजिलो र प्रत्याक्रमण गर्न नसक्ने भएकाले बालबालिका तथा अपांग महिलाहरूलाई टार्गेट बनाइएको अनुमान गर्छिन् । 

अझ डरलाग्दो कुरा त के भने बलात्कारपछि हत्या गर्ने क्रूर आपराधिक मनोवृत्तिले सबैलाई तर्साइरहेको छ । गत वर्ष कडा सुरक्षा किल्ला मानिने काठमाडौं उपत्यकाको ललितपुरमा मात्र बलात्कारका १२ वटा अनि बलात्कारपछि हत्या तथा हत्या गर्ने उद्योगका तीनवटा घटना दर्ता भएका छन् भने स्वयं राजधानी काठमाडौंमा बलात्कारका १ सय ४५ तथा बलात्कारको प्रयासका ४४ घटना घटेका छन् । कन्चनपुर, मोरङ, कैलाली, सुर्खेत आदि जिल्लामा बलात्कारपछि पोल खुल्ने डरले वीभत्स हत्याका क्रूर घटना घटेका छन् ।

देशका कतिपय स्थानमा अपहरण गरेर बलात्कार र त्यसपछि हत्या गरिएका घटना पनि घटेका छन् । गत वर्षको भदौमा सुर्खेतबाट कालिकोटका लागि हिँडेकी एक २० वर्षीया युवतीलाई कर्णाली राजमार्गको खिड्कीज्यूला भन्ने ठाउँमा तीन दिनसम्म बन्धक बनाएर बलात्कार गरेपछि हत्या गरिएको घटना सार्वजनिक भएको थियो । यस्ता घटनाका कारण छोरीचेलीहरूलाई एक्लै यात्रा गर्न दिन पनि असहज परिस्थिति सिर्जना हुन थालेको छ । 

आधुनिक र सभ्य भनिएको समाजमा एकपछि अर्को गरी घटिरहेका बलात्कारका संवेदनहीन, क्रूर, पाशविक तथा वीभत्स घटनाले आम मानिसको निन्द्रा भंग गरिदिएको छ । आखिर समाज किन यति निकृष्ट बाटोमा अग्रसर छ ? समाजशास्त्री मृगेन्द्रबहादुर कार्की भन्छन्— व्यक्तिगत तथा सामाजिक जीवन दर्शनमा आएको परिवर्तन, नक्कल गर्ने बानी, व्यक्ति र परिवार तथा व्यक्ति र समाजको सम्बन्धमा देखिएको खण्डीकरण, राजनीतिक आवरणमा मौलाएको दण्डहीनता, बजारको विस्तार अनि भौतिकताको प्रसारजस्ता कारणले बलात्कारका घटनामा वृद्धि भएको छ ।

आमा, छोरी, बहिनी, बालिका, वृद्ध र अपांगसम्म नदेख्ने गरी क्रूर अपराधिक र सामाजिक लज्जाका रूपमा रहेको बलात्कारजस्ता घटना कसरी घट्छन् ? अपराधशास्त्री माधव आचार्य मानव आचरण निर्माण एकैपटक नहुने भएकाले यसका पछाडि धेरै कारण देख्छन् । ‘मानिसको आचरण एकैचोटी बन्ने होइन, सामाजिक, राजनीतिक, धार्मिक तथा नैतिक शिक्षाको प्रभावबाट मानिसको आचरण बन्ने हो,’ आचार्य भन्छन्– जनयुद्ध, त्यसपछिको लामो राजनीतिक संक्रमणसँगै विकास भएको खुलापन र छाडापन यसका मुख्य कारण हुन् । अपराधशास्त्री आचार्य राजनीतिक अस्थिरताले यो अवधिमा समाजमा जे–जसो गरे पनि हुन्छ भन्ने मानसिकता विकसित भएको दाबी गर्छन् । त्यसले पुराना मूल्य, मान्यता, सांस्कृतिक मान्यता त्याग्न खोजेको छ, आचार्य थप्छन्– त्यो सबै पुष्ठभूमिको अदृश्य प्रभावका रूपमा यस्ता घटना घटिरहेका छन् । आचार्य सुरक्षा र कानुनको पालना गर्ने पक्षलाई अतिराजनीतिले भुत्ते बनाएकाले पनि समाजमा यस्ता घटना वृद्धि भएको मान्छन् । 

अपराधशास्त्री आचार्यको तर्कमा नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल पनि सहमत छन् । ‘द्वन्द्वपछिको लामो संक्रमणले समाजको संरचना बिग्रियो, अनुशासन तोडियो, गाउँघर र समाजको सोसल पोजिसन पनि भताभुंग पारिदियो,’ मल्ल भन्छन्– लगामविहीन सोसल मिडिया, अपराध अनुसन्धान प्रहरीको दायित्व भए पनि सरकारको प्राथमिकतामा नपर्नुजस्ता कारणले पनि यस्ता घटनामा वृद्धि भैरहेको देखिन्छ । 

पाप–पूण्यजस्तो बलियो धार्मिक मान्यता भत्कनु तथा नैतिक शिक्षाको खडेरीजस्ता कारणले पनि बलात्कारका घटना बढाउन मलजल पुगिरहेको छ । विज्ञहरू बदलिँदो सामाजिक जीवन, पुरुष प्रभुत्व समाज, सामाजिक सञ्जाल र इन्टरनेट, पोर्नोग्राफी, नेपालीहरूको परम्परागत बसोबासको सेटिङ, ग्याजेट आदि विषयलाई पनि बलात्कारको उक्लँदो ग्राफको कारण मानिरहेका छन् । 

अर्कातर्फ तीव्र राजनीतीकरणका कारण सुरक्षा संयन्त्र भुत्ते बन्नु, विश्वसनीय ल्याब तथा छानबिन प्रविधिको अभाव, प्रहरीको मोबिलिटी कम हुनु, कानुन कार्यान्वयनको पक्ष बलियो नहुनु, कतिपय जघन्य घटना शक्तिको आडमा मेलमिलापमा टुग्याइनुजस्ता घटनाले पनि अपराधीहरूको मनोबल बढाएको पाइन्छ । पूर्व डिआईजी मल्ल पनि प्रहरीको मोबिलीटी कम भएको कुरा स्वीकार गर्छन् । मल्ल भन्छन्, ‘हामी कहाँ अपराध अनुसन्धानको कमी, प्रहरीलाई पर्याप्त मात्रामा प्रविधी उपलब्ध नहुनुजस्ता कारण पनि बलात्कारका घटना बढ्नुको कारण हुन् । समाजबाहिर मौका छोपेर गरिने क्राइम भएकाले यस्ता घटना विरुद्ध प्रहरीको मोबिलिटी समेत बढाउनुपर्ने देखिन्छ ।’ 

बलात्कारजस्तो जघन्य अपराध गर्नेहरूको मनस्थिति कसरी निर्माण हुन्छ त ? त्यसका मनोवैज्ञानिक कारण के होलान मनोविद कुँवर भन्छिन्, ‘बलात्कारको मनस्थिति निर्माणमा पितृसत्तामक समाज, पुरुषवादी सोच, अपराधबाट सजिलै उम्कन सक्छु भन्ने भावना, फितलो कानुन, बदलाभाव, विकृत मानसिकता तथा मानसिक रोग प्रमुख कारण हुन् ।’ 

निशानामा बालबालिका 

मानव अधिकारको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको संस्था अनौपचारिक शिक्षा केन्द्र इन्सेकले २०१७ मा मात्र ५ सय २७ बालिका बलात्कार भएको तथ्यांक सार्वजनिक गरेको छ । प्रत्येक वर्ष देशभरको मानव अधिकारको अवस्थासम्बन्धी तथ्यहरू समेटेर पुस्तक प्रकाशन गर्दै आएको उक्त संस्थाले संकलन गरेको तथ्यांकमा १ सय ८१ बालबालिका यौन दुव्यवहारमा परेको उल्लेख छ, जसमा ११ जना बालकसमेत यौन दुव्र्यवहारमा परेको जनाइएको छ । यसका अतिरिक्त २ सय ६५ महिला बलात्कारीको पन्जामा परेका थिए । त्यसो त १ सय २२ जना महिला बलात्कारीको पञ्जाबाट उम्किएर प्रहरी प्रशासनमा पुगी उजुरी दिएका थिए भने ४४ जनाले आफूमाथि यौन दुव्र्यवहार भएको भन्दै उजुरी दर्ता गराएको तथ्यांकमा उल्लेख छ । सबैभन्दा बढी काठमाडौंमा ५० बालबालिका तथा २९ महिला गरी ७९ जना बलात्कारको सिकार भएका छन । २७ बालिका तथा महिला यौन दुव्र्यवहारमा परेका छन् । काठमाडौंपछि मोरङमा बढी बलात्कारका घटना भएका छन् । मोरङमा ३८ बालबालिका तथा १८ जना महिला गरी ५६ जना बलात्कारको शिकार भएका छन् । डड्ेलधुरा, बझाङ, हुम्ला, मनाङ तथा मुस्ताङमा एउटै पनि बलात्कारका घटना भएको तथ्यांक छैन । 

केन्द्रीय बालकल्याण समितिले २०७४ मा तयार पारेको प्रतिवेदनले पनि बालबालिका नै बढी यौन दुव्र्यवहारको जोखिममा रहेको देखाएको छ, जसमा चार महिनाको अध्ययन गर्दा १ सय १८ बालिका बलात्कृत भएको पाइएको थियो । बलात्कारमा पर्ने बालबालीकामध्ये अधिकांश आफन्तकै सिकार हुने तथ्य सार्वजनिक भएको थियो । ३७ प्रतिशत बालिका चिनजान तथा आफन्त, २७ प्रतिशत छिमेकी, १२ प्रतिशत हाडनाता पर्नेबाट, ८ प्रतिशत शिक्षक, ९ प्रतिशत सेना/कर्मचारी/प्रहरी तथा ७ प्रतिशत बालश्रमका क्रममा बलात्कारमा पर्ने गरेको उल्लेख छ । 

बलात्कारका सामाजिक कारक  

मृगेन्द्रबहादुर कार्की, समाजशास्त्री 

बितेका केही वर्षमा हाम्रो व्यक्तिगत तथा सामाजिक जीवनमा ठूलो परिवर्तन आएको छ । प्लस टुमा ग्रुप सेक्स, लिभिङ टुगेदरजस्ता कन्सेप्ट देखा परिसकेका छन् । प्योर रूपमा सेक्सलाई हेर्ने तथा धार्मिक रूपमा हेर्ने दृष्टिकोणमा परिवर्तन आयो । 

अहिले कानुनले नै २० वर्ष नपुगेकाले विवाह गरे त्यसलाई रद्द गर्ने व्यवस्था गर्‍यो । कानुनले नै सेक्सलाई टेक्निकल मान्यो । धर्म, इमोसन, सेन्टीमेन्टजस्ता कुराहरू त्यसमा अटाएनन् । यस्ता कुराले मानिसको जीवन दर्शनमा कहीँ न कहीँ प्रभाव पारेको छ । 

अर्को नक्कल गर्ने प्रवृति बढ्दै गएको छ । यहाँ अमेरिकनले के गरे, फिल्ममा के भयो भनेर नक्कल गर्ने बानीको विकास भएको छ । परिवारमा बालबालिका तथा अभिभावकहरूसँगै त बस्छन् तर उनीहरूबीच संवाद हुँदैन । उनीहरू भर्चुअल दुनियाँमा हुन्छन् । त्यहाँबाट उनीहरूले राम्रो कुरा मात्र लिँदैनन् । यसले व्यक्ति र परिवार, व्यक्ति र समाजको सम्बन्धमा खण्डीकरण भयो । बाबुआमाले टाइम दिन सक्दैनन् । केटाकेटीहरू आफ्नो अलग समूह बनाउँछन् । फिल्मबाट पनि धेरै सिक्छन् । संगठित रूपमा परिवारसँगै भए पनि भर्चुअल संसारमा केटाकेटीहरूले अर्कै कुरा सिक्छन् । मानिसको एक्लोपन बढ्दै जान्छ । 

हाम्रो समाजमा राजनीतिक आन्दोलनको आवरणमा दण्डहिनता मौलाएको छ । न्याय पनि व्यक्तिपिच्छे फरक—फरक हुने अवस्था छ । शक्ति र पहुँचका आधारमा न्याय सम्पादन हुन्छ । बजारको विस्तार पनि व्यापक भएको छ । रक्सी, ङ्रग्स आदिको नसाको सुरमा पनि बलात्कार गर्ने क्रम बढेको पाइन्छ । लागू पदार्थ नियन्त्रणमा राज्यले प्रभावकारी कदम नचाल्नाले व्यक्तिको सहज पहुँचमा पुगिरहेको छ । यसले पनि बलात्कारजस्ता घटनालाई बढावा दिइरहेको छ । 

बलात्कारीको मनस्थिति 

करुणा कुँवर,

मनोविज्ञ

बलात्कारको मनस्थिति कसरी बन्छ भन्ने कुराका सामाजिक तथा सांस्कृतिक कारणहरू छन् । हाम्रो समाजमा हेर्ने, बुझ्ने हो भने महिलालाई रेस्प्याक्ट गर्ने, रेस्पाक्टफुल्ली हेर्ने धारणा कमी देखिन्छ । आमा, दिदी, बहिनी तथा श्रीमतीहरूलाई रेस्पेक्ट गर्नुपर्छ भन्ने कुरा हामीले आफ्नै परिवारमा स्थापित गर्न सकेका छैनौं । 

कानुनको फितलोपन पनि यसको कारण हो । मानिसहरूमा बलात्कार गरेपछि झमेलामा परुँला, सजाय होला भन्ने भय छैन । सजिलैसँग उम्कन सक्ने भ्रम तथा पुरुषत्व र पावरका आडमा पनि रेप भएको देखिन्छ । मेरो मान्छे पावरफूल ठाउँमा छ, म उम्कनु सक्छु भन्ने मानसिकताका कारण पनि यस्ता घटना घट्न पुग्छन् । अहिले बालबालिका तथा अपांगहरू यसको बढी शिकार भएको पाइन्छ । सजिलो मानेर उनीहरूमाथि आक्रमण भएको देखिन्छ । अर्को कुरा बलात्कारमा संलग्न व्यक्ति मानसिक रोगी वा विकृति मानसिकताको शिकार पनि हुनसक्छ । 

आफू बाल्यवास्थामा यौन हिंसामा परेकाले बदलाको भावनाअनुरूप यस्ता घटना घटाएको पनि देखिन्छ । मानिसको जीवनको पहिलो महिला आमा हुन्छिन्, दिदीबहिनी र आफ्ना मान्छे हुन्छन्, नजिकका महिलाबाट धोका हुनु, आमाले छोडेर जानु आदिले कुनै व्यक्तिमा खराब रोलमोडलका रूपमा महिला दर्ज हुँदा उसमा महिलाप्रति बदलाको भावनाको विकास हुन्छ । 

उक्त व्यक्तिमा खराब रोलमोडलसँग बदला लिने भावना जाग्छ, जसले महिलालाई सम्मान गर्न सक्दैन, बदलामा सबैभन्दा ठूलो क्षति यौन हिंसा हो भन्ने मान्छ । उसले अर्को महिलालाई पीडा दिँदा आफूलाई धोका दिने आफ्नो परिवारकी महिला सदस्यसँग बदला लिएको सम्झन्छ । मैले एउटा पुस्तकमा पनि यस्तो घटना पढेकी थिए । बलात्कारको मनस्थिती बन्नुमा पितृसत्तामक समाज, पुरुषवादी सोच, अपराध गरेर सजिलै उम्कन सक्छु भन्ने भावना, फितलो कानुन, बदलाभाव, मानसिक रोग आदि प्रमुख कारण हुन् । 

प्रहरीको लापरवाहीले चर्काएको घटना 

                                                                                                          -भवानी भट्ट

कञ्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन साताभन्दा बढी भैसकेको थियो । पीडित परिवारदेखि स्थानीय, नागरिक समाजका अगुवा सबैले दोषी सार्वजनिक गर्न शान्तिपुर्ण रूपमा दबाब दिँदै आएका थिए । प्रहरीले अनुसन्धानमा लापरवाही गरेको भन्दै स्थानीय बासिन्दाले रिले अनशन, नारा–जुलुस तथा धर्ना आदि कार्यक्रम गर्दै आएका थिए, तर प्रहरीले त्यसलाई वास्तै गरेन । मानसिक अवस्था ठीक नभएका र कमजोर आर्थिक अवस्थाका व्यक्ति खोजेर अपराध स्वीकार गर्न दबाब दिने काम मात्र गर्‍यो ।

घटनाको २६ औं दिन प्रहरीले भीमदत्त नगरपालिका–२ बाग्फाँटाका ४१ वर्षीय दिलीप विष्टलाई अभियुक्तका रूपमा सार्वजनिक गरेपछि स्थिति थप बिग्रियो । त्यसपछि चर्किएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा १४ वर्षीय बालक शनि खुनाको मृत्यु भयो भने १५ जना भन्दा बढी घाइते भए । बिग्रिएको सहरको शान्ति व्यवस्था नियन्त्रणमा लिन स्थानीय प्रशासनले ४ दिनसम्म कफ्र्यु लगायो । साँझ बिहान केही खुकुलो पारिएको कफ्र्यु प्रहरीको गोली लागेर बालकको मृत्यु भएको ३३ घण्टासम्म जारी रह्यो । 

आन्दोलन उग्र भएपछि गृह मन्त्रालयले तत्कालीन जिल्ला प्रहरी कार्यालयका एसपी दिल्ली विष्टलाई केन्द्रमा तानेर निलम्बन गरेको छ । डिएसपी ज्ञानबहादुर सेटी तथा अनुसन्धान अधिकृत एकिन्द्र खड्कालाई पनि केन्द्रमा तानिएको छ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का पनि केन्द्रमै तानिएका छन् । घटनाको छानबिनका लागि गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा ५ सदस्यीय उच्चस्तरीय छानबिन समति समेत गठन भएको छ । 

नयाँ आएका जिल्ला प्रहरी कार्यालयका एसपी कुबेर सिंह कडायतले शुन्यबाट अनुसन्धान सुरु गरेको जनाएका छन् । डिएसपी कृष्ण ओझालाई अनुसन्धान अधिकृत तोकेर सबैले शंकास्पद रूपमा हेरेका किशोरी पढ्न गएको घरका बम दिदी बहिनी रोशनी तथा बबितालाई नियन्त्रणमा लिई अदालतबाट म्याद थप समेत भैसकेको छ । 

उच्चस्तरीय छानविन समितिले पनि आवश्यक सुचना संकलनको काम गरिरहेको जनाएको छ । सर्वदलीय र सर्वपक्षिय छलफलपश्चात पीडित, शंकास्पद बम दिदी बहिनी तथा प्रहरीले पक्राउ गरेको दिलीप विष्ट लगायतका परिवारसंग भेटघाट गरेको संयोजक मैनालीले बताए । 

के हो घटना

साउन १० गते बिहान ११ बजे निर्मला भीमदत्त नगरपालिका–१८ भगतपुरस्थित साथी रोशनीको घरमा पढ्न पुगेकी थिइन् । साँझ अबेरसम्म छोरी घर नफर्किएपछि आमा दुर्गादेवी रोशनीको घरमै पुगिन् । रोशनीले निर्मला २ बजे नै फर्किएको जानकारी गराएपछि उनी घर फर्किइन्, तर घरमा बस्न मनले मानेन । उनले फेरि रोशनीकै घरमा पुगेर सोधीखोजी गरिन् । त्यतिबेला रोशनीकी दिदी बविताले दुर्गादेवीलाई पटक–पटक आफ्नो घर नआउन धम्क्याइन् । ‘तिम्री छोरी पोइल गै कि कता गै, हामीलाई के थाहा,’ बविताले धम्की दिँदै भनेको कुरा उल्लेख गर्दै दुर्गाले भनिन्, ‘आफ्नी छोरी कस्ती थिई भन्ने ख्याल गरसम्म भनियो ।’

त्यसपछि उनी गाउँलेसहित नजिकैको अस्थायी प्रहरी बिटमा पुगिन । त्यहाँका प्रहरीले राति भैसकेकाले भोलि आउनु भन्दै फर्काए । रातभरि साथीभाइ तथा आफन्तको घरमा सोधी–खोजी गरे पनि निर्मलाको केही पत्तो लागेन । दोस्रो दिन बिहान भीमदत्त नगरपालिका २ र १८ को सिमानास्थित पत्थरखोला छेउको उखुबारीमा निर्मलाको शव फेला पर्‍यो । 

त्यहीबेला दोषी पत्ता लगाउनुपर्ने भन्दै पीडित परिवार तथा स्थानीय बासिन्दाले आन्दोलन सुरु गरे । चार दिनसम्म निर्मलाको शव अस्पतालमै राखेर आन्दोलन चर्काइयो । स्थानीय बासिन्दा तथा पीडित परिवारले दोषी पत्ता नलागेसम्म दाहसंस्कार नगर्ने अडान लिए, तर प्रहरीले कफ्र्यु लगाउने धम्की दिएपछि निर्मलाका बुवा यज्ञराज छोरी निर्मलाको दाहसंस्कार गर्न राजी भए । शव फेला परेको चौथो दिन दाहसंस्कार सम्पन्न भयो । ‘प्रहरीले दाहसंस्कारदेखि अहिलेसम्म दबाब नै दिइरहेको छ,’ यज्ञराजले भने, ‘एसपीसापले दाहसंस्कार गर्ने बेला कर्फ्यु लगाएर गोली ठोक्ने धम्की दिए, त्यसपछि दिलीप विष्टका नाममा किटानी जाहेरी दिन पनि पटक–पटक दबाब दिए ।’

दाहसंस्कारपछि पनि पीडित परिवार, स्थानीय बासिन्दा तथा महिलाअधिकारकर्मीहरूले दोषी पत्ता लगाउन माग गर्दै निरन्तर दबाब दिइरहे जसको जवाफमा प्रहरीले अनुसन्धान चलिरहेको मात्र भन्ने गरेको थियो । अचानक २६ औं दिन मानसिक अवस्था ठिक नभएका विष्टलाई प्रहरीले सार्वजनिक गरेपछि आन्दोलन थप चर्किएको हो । 

किशोरीका बुवा यज्ञराज तथा स्थानीय बासिन्दाले सुरुदेखि नै बम दिदी–बहिनीलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग गर्दै आएका थिए । उनीहरूले छोरी खोज्न जांदा दिएको धम्की शंकास्पद भएको भन्दै पटक–पटक प्रहरीलाई यस विषयमा जानकारी दिदै आएका थिए, तर प्रहरीले भने उनीहरूलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउनुका साटो संरक्षण मात्र दिएको उनीहरूको आरोप छ । 

आन्दोलन चर्किएपछि शून्यबाट अनुसन्धान सुरु गर्नुका साथै निर्मलाको परिवारलाई तिनै तहका सरकारले राहत दिने घोषणा गरेका छन् । नेपाल सरकारले १० लाख, प्रदेश सरकारले ५ लाख तथा भीमदत्त नगरपालिकाले ३ लाख रुपैयाँ दिने घोषणा गरिएको छ । गत शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका शनि खुनालाई सरकारले सहिद घोषणासँगै १० लाख रुपैयाँ दिने बताएको छ भने प्रदेश सरकारले ५ लाख रुपैयाँ तथा भीमदत्त नगरपालिकाले ३ लाख रुपैयाँ दिने घोषणा गरेका छन् । 

 

प्रकाशित :भाद्र २०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्