वन विज्ञानका लागि पोखरा

- राजाराम पौडेल

भाद्र १९, २०७५

पोखराको वन विज्ञान अध्ययन संस्थानअन्तर्गतको पोखरा क्याम्पस वन विज्ञानमा रुचि भएका विद्यार्थीहरूको रोजाइमा पर्ने गरेको छ । यहाँ त्रिभुवन विश्वविद्यालयअन्तर्गतको स्नातक तह (फरेस्ट्री) तथा स्नातकोत्तर तहको अध्ययन–अध्यापन हुन्छ । वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पस विद्यार्थीलाई वनस्पति तथा प्राकृतिक संसाधन व्यवस्थापनमा गुणस्तरिय शिक्षा उपलब्ध गराउन कटिबद्ध रहेको पोखरा क्याम्पसका निमित्त क्याम्पस प्रमुख ठाकुर सिलवाल बताउँछन् । 

अहिले फरेस्ट्री अध्ययन गर्न चाहनेहरूको संख्या बढ्दै गएको छ । सुरुवातको समयमा छात्रको चाप बढी देखिए पनि पछिल्लो समयमा यसतर्फ छात्राहरूको आर्कषण समेत बढ्दैछ । 

 

स्नातक तहको फरेस्ट्रीमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत कुल २ सय १० सिटमा भर्ना लिइन्छ, जसअन्तर्गत पोखरा क्याम्पसका लागि ८० सिट, हेटौंडा क्याम्पसका लागि ८० सिट तथा काठमाडौं फरेस्ट्री कलेजका लागि ५० सिट कोटा निर्धारण गरिएको छ । पोखरा र हेटौंडा क्याम्पस सरकारी हुन् भने काठमाडौं फरेस्ट्री क्याम्पस प्राइभेट । 

पोखरा, काठमाडौं तथा हेटौंडाका लागि प्रवेश परीक्षा भने पोखरामा हुन्छ । विद्यार्थीले पोखरा, हेटौंडा तथा काठमाडौंमध्ये आफुले पढ्न चाहेको क्याम्पसको प्राथमिकता तोक्नुपर्छ । प्रवेश परीक्षाको योग्यताक्रम तथा उम्मेदवारले तोकेको क्याम्पस प्राथमिकताका आधारमा भर्नाका लागि छनौट गरिने निमित्त क्याम्पस प्रमुख ठाकुर सिलवालले बताए । वन विज्ञानमा प्रत्येक वर्ष २ सय १० सिटका लागि १ हजार ७ सयको हाराहारीमा आवेदन पर्छ । 

यतिबेला स्नातक तहको फरेस्ट्रीको फारम खुलेको छ, जसको प्रवेश परिक्षा आगामी असोज १३ गते पृथ्वीनारायण क्याम्पस पोखरामा हुनेछ । आवेदन भर्ने मिति असोज ४ गतेसम्म छ । डबल दस्तुर तिरी असोज ७ गतेसम्म फारम भर्न सकिन्छ । प्रवेश परिक्षा शुल्क २ हजार ५ सय रुपैयाँ तोकिएको छ । समावेशीको हकमा भने प्रत्येक सिटका लागि थप १ सय रुपैयाँ बुझाउनुपर्ने हुन्छ ।

फारम भर्न त्रिभुवन विश्वविद्यालयद्वारा मान्यता प्राप्त शिक्षण संस्थाबाट वन विज्ञान विषयमा प्राविधिक प्रमाणपत्र तह वा फरेस्ट्रीमा डिप्लोमा वा सो सरह उत्तीर्ण हुनुपर्नेछ । साधारण विज्ञान विषयमा प्रमाणपत्र तह उत्तीर्ण, विज्ञान तर्फ १२ कक्षा अथवा ए लेभलमा गणित तथा जीव विज्ञान विषय लिई उत्तीर्ण हुनुपर्छ । प्रत्येक विषयमा सी ग्रेडका साथ कम्तीमा ४० प्रतिशत वा सीजीपीए २ प्राप्त गरेका विद्यार्थी मात्र प्रवेश परीक्षाका लागि योग्य मानिन्छन् । फारम अनलाइनमार्फत पनि भर्न सकिन्छ । 

पोखरा क्याम्पसका लागि छात्रवृत्ति तर्फका साधारण समावेशी सिटअन्तर्गत साधारणमा २७, समावेशीअन्तर्गत महिला– २, आदिवासी जनजाति– १, मधेसी– १, दलित– १, पिछडिएको दुर्गम क्षेत्र– १, मुस्लिम– १, थारु– १ तथा स्टाफ– १ गरी कुल ३६ वटा कोटा साधारण तथा समावेशीअन्तर्गत छन् । 

यसैगरी खुला प्रतिस्पर्धा तथा समावेशी सिटतर्फ ४४ सिट रहनेछ, जसअन्तर्गत साधारण– ३१, महिला– २, आदिवासी जनजाति– १, मधेसी– १, दलित– १, पिछडिएको दुर्गम क्षेत्र– १, मुस्लिम– १, थारु– १, विभागीयमा ४ तथा स्टाफमा १ सिट निर्धारण गरिएको छ । 

उता हेटांैडा क्याम्पसका लागि छात्तवृत्तितर्फको साधारण समावेशीतर्फ साधारण १९, महिला– १, आदिवासी जनजाति– १, मधेसी– १, दलित– १, पिछडिएको दुर्गम क्षेत्र– १, मुस्लिम– १, थारु– १ तथा स्टाफ– १ गरी कुल २७ सिट छन् । 

यसैगरी खुला प्रतिस्पर्धातर्फ साधारण तथा समावेशी सिट गरी ५३ सिट छुट्याइएको छ, जसअन्तर्गत साधारणमा ३८, महिलामा २, आदिवासी जनजातीमा २, मधेसीमा १, दलितमा १, पिछडिएको दुर्गम क्षेत्रमा १, मुश्लिममा १, थारुमा १, विभागीयमा ५ तथा स्टाफमा १ सिट निर्धारण गरिएको छ । 

त्यसका अतिरिक्त सम्बन्धन प्राप्त काठमाडौं फरेष्ट्री कलेजमा ५० सिटका लागि भर्ना लिइन्छ । पोखरा र हेटौंडा क्याम्पसका लागि साधारण सिटको हकमा प्रत्येक सेमेस्टरमा ५ हजार रुपैयाँ शुल्क लाग्छ । खुला प्रतिस्पर्धामा छनौट हुनेले भर्नाका लागि ३ लाख रुपैयाँ बुझाउनुपर्छ, जुन तीन किस्तामा भुक्तान गर्न सकिन्छ । वन विज्ञानको ४ वर्षको शैक्षिक कार्यक्रम कुल ८ सेमेस्टरमा विभाजन गरिएको छ । पोखरा क्याम्पसमा लागि ४३ जना कर्मचारी तथा ५४ जना प्राध्यापक कार्यरत छन् ।  

फरेस्ट्रीमा उत्पादित सम्पूर्ण जनशक्ति खपत हुने दाबी निमित्त क्याम्पस प्रमुख सिलवालको छ । यहाँ विद्यार्थीका लागि होस्टलको सुविधा समेत छ । 

फरेस्ट्रीको स्नातकोत्तर २०५८ मा प्रारम्भ भएको हो । स्नाकोत्तरमा पोखरा क्याम्पसका लागि ६० सिट, हेटौडा क्याम्पसका लागि २६ सिट, डिन कार्यालयअन्तर्गत काठमाडौंमा २० सिट तथा प्राइभेट काठमाडौं फरेस्ट्रीमा १५ सिट कोटा निर्धारण गरिएको छ ।  स्नाकोत्तर तहमा फरेस्ट्री, नेचुरल रिर्सच म्यानेजमेन्ट एन्ड रुलर डेभलपमेन्ट तथा वाटरसिड म्यानेजमेन्ट पढ्नुपर्छ । 

नेपालमा दक्ष वन प्राविधिक उत्पादन गर्ने उद्देश्यले वि.सं. २००४ मा सिंहदरवारको एउटा सानो कोठामा एउटा संस्था गठन भयो । यो संस्था वि.सं. २०१६ तिर काठमाडौंबाट मकवानपुर जिल्लाको सुपिङ (भिमफेदी)मा स्थानान्तरण भयो । तत्पश्चात २०२२ सालदेखि हेटौंडामा नेपाल फरेस्ट्री इन्स्टिच्यूटको नामले फरेस्ट्रीको अध्ययन–अध्यापन प्रारम्भ गरियो । 

हेटौंडामा सञ्चालित नेपाल फरेस्ट्री इन्स्टिच्युटलाई २०२९ सालमा त्रिभुवन विश्वविद्यालयमा समावेश गरी त्यसको नाम वन विज्ञान अध्ययन संस्थान, हेटौंडा क्याम्पस राखिएको थियो । त्यहाँबाट उत्पादित जनशक्तिले मात्र माग धान्न नसकेपछि वन क्याम्पसको विस्तार गर्ने उद्देश्यले विश्व बैंक, अन्र्तराष्ट्रिय विकास संस्था तथा अमेरिकी सरकारको सहयोगमा २०४० तिर पश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गत वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसको विस्तार गरिएको हो ।

प्रकाशित :भाद्र १९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्