कथा काठमाडौं सहरको

- किशोर नेपाल

भाद्र १९, २०७५

यो उपत्यका काठमाडौं हो देशको सबैभन्दा सुन्दर सहर । केही वर्ष अघिसम्म पनि यसैलाई भन्थे— तीन सहर नेपाल । आकारका हिसाबले यो कति रोपनीको होला ? यो एउटा ठूलो रंगमण्डल हो । ठूलो रंगमण्डल अर्थात् नीलो, हरियो, सेतो, पहेंलो, कालो, सुन्तला, खैरो, गोरो, बैजनी, धूपी तथा खरानी–रंगहरूको समूह । स्रष्टा त पक्कैछन् । यो सृष्टिमा पाइने सबै रंग एकाकार भएको मण्डल पनि छ, तर रंगहरूको रंग अभिशप्त हुन्छ । रंगहरूको रंग इन्द्रधनुषी पनि हुन्छ । रंगहरूको रंग केही पनि हुँदैन । रंग त एक प्रकारको दृष्टिभ्रम मात्र हो । रंगको कुनै रंग हुँदैन । यो रंगमण्डल ठूलो छ । ठूलोभन्दा पनि यो एउटा मात्र रंगमण्डलको कुनै रंग छैन । जसले जस्तो सोच्छ काठमाडौं त्यही रंगमा उपस्थित हुन्छ । काठमाडौं रंगहीन रंग हो । सम्पूर्णमा एउटा रंगमण्डल । 

कुनै समयमा यो खाल्डो एउटा ठूलो दह थियो रे । मञ्जुश्रीको खड्गले चोभार काटिएपछि यहाँ बस्ती बस्यो, सहर बन्यो । कुनै समय यो खाल्डो एउटा ठूलो पोखरी थियो । पोखरीको पानीले निकास पाएपछि सहर बस्यो । त्यतिबेला यसका स्रष्टा तथा पहिलो निवासी मञ्जुश्री र नेमुनिले सोचेका थिएनन् होला कि यो एउटा रंगमण्डल हुनेछ । एउटै वृक्षले बृहत् पाटी बनाउने शंखधरले पनि सोचेको थिएन होला । तीन सहरमा विभक्त र विभाजित राज्यका भोक्ताहरू कसैले चिनेनन् यो काठमाडौलाई । कसैले पनि त चिनेन । 

नचिनेर के भो त ? यो रंगमण्डल त बन्यो । 

इतिहासले धेरै युग बिताइसक्यो । मानदेव, शिवदेव, अंशुबर्मा, जयस्थिति मल्ल, जयप्रकाश मल्ल, रणजित मल्ल बिस्तारै विस्थापित हुन, विस्मृत हुन, हराउन थालेका छन् । इतिहासका पुराना पात्रहरूको सट्टा वर्तमान स्वयं नै एउटा उपन्यास र इतिहास बनेर अघि सर्दैछ । भीम मल्लको रगतको छिटा दन्त्यकथा मात्र हो ।

यस्तो रगतको छिटा हनुमानढोकालगायत दरबारका गुम्बदहरूमा कतै पनि फेला पार्न सकिँदैन । भीमसेन थापा सेरिएर मरेका काँचका टुक्रा, माजा लगाएको धागो अथवा भुत्ते खुकुरी : हतियार जे भए पनि, त्यो किंवदन्ती भैसकेको छ । श्रापका लागि वर्तमानले यति धेरै सती जन्माइसकेको छ कि वंशावलीमा उल्लेख भएका श्रापकथाहरू अब आफैं अभिश्रापित बन्दैछन् । कोतपर्व जस्तो आगोको भुंग्रो पनि अब यो रंगमण्डलमा हुर्किइरहेका पछिल्लो पुस्ताका लागि एउटा रमाइलो कथा मात्र हो । सम्पूर्ण आदर्शहरू, राम शाहका न्यायकल्पना, पृथ्वीनारायण शाहको एक्लो एकीकरण सबै मिथक हुन् । वर्तमान जब स्वयंमा एउटा ऐतिहासिक रंगमण्डलका रूपमा जगमगाउन थाल्छ, इतिहास मिथकभन्दा बढ्ता अरू केही हुनै सक्दैन ।

यो केन्द्रीय बस बिसौनी सहिदढोकाको नामले प्रसिद्ध थियो । अहिले पनि यो केन्द्रीय बस बिसौनी नै हो । यहाँबाट बस बिसौनी उठेको धेरै भएको छैन । यहाँबाट पश्चिम लागेपछि ठाडो धरहराले तीनतिर सहरको दिशानिर्देश गथ्र्याे । एउटा बाटो अक्सर मुर्दा लाने र मलामी ओसार्ने काममा प्रयोग हुन्थ्यो । अर्को मूलबाटो तीन चारतिर छरिएर सहरतिर लाग्थ्यो । बाटोको दायाँ–बायाँ हजाम, होटल, तस्बिर र मासुपसलका लस्कर त अहिले पनि छन् । दुवैतिर गहिरिएको नालीले एउटा नयाँ सभ्यताको परिचय बोल्छन् । खसीको रूप धारण गरेको बाख्रोको बूढो हाडलाई अचानोमा राखेर ठूलो चुपीले टुक्र्याउँदा अक्सर अचानोबाट हाड उफ्रिनु कुनै नौलो कुरा होइन । 

साँझ पर्न–पर्न लागेका बेलामा नजिकको ठूलो घरको ढोकाबाट एउटा मान्छे फुत्त बाहिर निक्लन्छ । उसको कुनै आइडेन्टिटी छैन । त्यसैले ऊ एउटा फिलिमको गम्भीर पंक्ति गुनगुनाउँछ— तिमी मेरो सम्झनामा आँसु नबहाउनु, मलाई बिर्सिदिनु, तर यतिबेला उसलाई कसैले सम्झेको कल्पनासम्म पनि गर्न सकिँदैन । अहिले त्यस्तै नौ बजेको होला रातिको । समयका लागि कुनै घडी छैन ऊसँग । ऊ जुन सडकबाट हिँड्दैछ त्यसमा मर्करीका उज्याला पोतिएका छन् । सेतो उज्यालो । नियोन लाइट चम्कने पसलहरू एकएक गरेर बन्द हँुदैछन् ।

सडकका किनारामा उभिएका ट्याक्सीहरू चल्तीमा छैनन् । अधिकांश समय मिटरमा ‘फर हायर’को रातो संकेत बत्ती चम्काएर सडकमा उभिइरहेका हुन्छन् । भन्न सकिँदैन, कतिबेला कुन दिशाबाट कसले बोलाउने हो । मान्छे हिंड्ने पेटी र सडकमा फोहोरका थुप्रा अस्तव्यस्त छन् । दमकलदेखि ढोकासम्म नयाँसडक असरल्ल छ । मानौं कि भर्खर मात्र एउटा पट्यारलाग्दो रात बिताएर इला सडकछेउको चियापसलमा असरल्ल उभिएकी छ । 

व्यापारीहरू बिहान वा बेलुका आफ्नो कोठी र पसलमा कालो र सेतो धन छुट्याउन व्यस्त हुन सक्छन् । यसका लागि कुनै बहाना जरुरी छैन । पसलको ढोका थुन्ने आवश्यकता पनि छैन । सरकारी कर निरीक्षक हरेक साँझ पसलमा आउँछ र आफ्नो हिस्सा लिएर जान्छ । ऊ अहिले कुनै होटलको बारमा बसेर स्कच ह्विस्कीको आनन्द लिँदै होला । बार म्यानेजर आफ्नो दु:ख सुनाउँदै होला । ऊ सुनेर मुख बिगार्दै होला । यो घटनाले आजको उसको दिनलाई दु:खान्त बनाएको छ ।

ऊ दमकलनेर पुगिसक्न आँटेको छ । केही पाइला बाँकी छन् । बाटोमा हिँड्नेहरू या त ऊ जस्तै छन्, होइन भने उसकै उमेरका छन् । सहरका ठूलाठूला भट्टीपसलहरू भर्खर खुलेका छन् । त्यसैले यी केटाहरू निम्नवर्गीय भट्टीपसलबाट निस्किएका होइनन् भन्न मुस्किलै पर्छ । जुद्धसडकमा नौ बजेपछि हिँड्ने केटाहरू प्राय: यस्तै हुन्छन् भन्ने उसलाई रामै्र थाहा छ ।

ऊ झस्किएझैं हुन्छ । केही हराएझै गरी झस्किन्छ र खल्ती छाम्छ । त्यसपछि उसको क्लान्त अनुहारमा अलिकति उज्यालो पोतिन्छ । ऊ इलाका बारेमा सोच्न थाल्छ । केही पाइला नाघेपछि ऊ रंगमण्डलको केन्द्रबिन्दुमा प्रवेश गर्दैछ । अशोक विनायक गणेशको मन्दिरबाट निकै ओरालो लागेपछि, निकै तल इलाको सानो घर छ । घर ? हो त, ओत लाग्ने ठाउँलाई घर नभनेर के भन्ने ? जब इला काँचो इँटाले बनेको यो चार किल्लाभित्र आफूलाई कैद गर्छे । यसपछि उसलाई कसैले बलात्कार गर्न सक्दैन । दृष्टिले पनि र आशयले पनि ।

 

प्रकाशित :भाद्र १९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्