Teej banner

एसियाडमा नेपालको सुधारिएको प्रदर्शन

- साप्ताहिक संवाददाता

भाद्र १८, २०७५

 

तारादेवी पुन

नेपाल कै शक्तिशाली महिलाका रूपमा चिनिन्छन्— तारादेवी पुन । यिनै तारादेवीले एसियाली खेलकुदमा भारोत्तोलनतर्फ तीनवटा राष्ट्रिय कीर्तिमान कायम गरिन् । उनले ७५ किलो तौल समूहमा उक्त उपलब्धि हात पारेकी हुन् । पछिल्लो सागकी कांस्य पदक विजेता तारावेदीले स्न्याचमा ७४ तथा क्लिन एन्ड जर्कमा १ सय १ सहित कुल १ सय ७५ किलो तौल उचालेर कीर्तिमान स्थापित गरेकी हुन् । यसमा सबै पुराना कीर्तिमान उनकै नाममा थियो । यसअघि नेपालगन्जमा भएको राष्ट्रिय छनौटमा उनले स्न्याचमा ७३, क्लिन एन्ड जर्कमा ९७ सहित कुल १ सय ७० किलोको कीर्तिमान राखेकी थिइन् । इन्चेनमा सहभागी तारादेवीको एसियाली खेलकुदको यो अनुभव दोस्रो हो । 

कमल अधिकारी

नेपाली भारोत्तोलन इतिहासकै सबैभन्दा सफल खेलाडी हुन्— कमल अधिकारी । त्यसैले त उनले यसपटकको एसियाली खेलकुदको उद्घाटन समारोहमा देशको झन्डा बोक्ने अवसर प्राप्त गरे । सम्भवत: उनी आफ्नो खेल जीवनको अन्त्यतिर छन्, तैपनि उनको उत्कृष्ट प्रदर्शनको क्रम जारी छ । अधिकारीले यसपटकको एसियाली खेलकुदमा पनि तीन राष्ट्रिय कीर्तिमान बनाए, ७० किलो तौल समूहमा । उनले स्न्याचमा १ सय १९ तथा क्लिन एन्ड जर्कमा १ सय ६० सहित कुल २ सय ७९ किलो उठाएर कीर्तिमान कायम गरेका हुन् । यसअघि पनि तीनवटै कीर्तिमान उनकै नाममा थियो । यो उपलब्धिपछि अधिकारीको भनाइ थियो, ‘मेरो खेल अझै केही वर्ष जारी रहनेछ, सक्दो खेल्ने हो ।’ खासमा यो नयाँ युवा खेलाडीप्रति उनको चुनौती पनि हो । 

सन्जु चौधरी

यसपटकको एसियाली खेलकुदमा भारोत्तोलनतर्फ राष्ट्रिय कीर्तिमान बनाउने पहिलो खेलाडी हुन्— सन्जु चौधरी । सन्जुले पनि तीनवटा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् र संयोगले उनले पनि आफ्नै नाममा रहेको कीर्तिमानलाई उछिनिन् । जाकार्तामा उनले स्न्याचमा ७२ तथा क्लिन एन्ड जर्कमा ८६ किलो भार उठाइन् । समग्रमा उनले १ सय ५८ किलो उठाइन् । यसअघि स्न्याचमा ९१, क्लिन एन्ड जर्कमा ८५ तथा कुलमा १ सय ५६ को राष्ट्रिय कीर्तिमान थियो । चौधरी आफ्नो प्रदर्शनमा खुसी देखिइन् र भनिन्, ‘एसियाली खेलकुद ठूलो अवसर हो र यही प्रतियोगितामा राष्ट्रिय कीर्तिमान कायम गर्न सक्नु अझ ठूलो उपलब्धि हो ।’

सुस्मिता तामाङ

उसुकी यी खेलाडीबाट नेपालले एसियाली खेलकुदमा पदकको आशा गरेको थियो, तर त्यसो हुन सकेन । सुस्मिता तामाङले आफ्नो प्रदर्शनमा सुधार त गरिन्, तर त्यो पदकका लागि पर्याप्त भएन । उनले महिला थाउलुको छान छ्वानमा ९ दशमलव २५ अंक बटुलिन् । उनले पछिल्लो सागमा रजत पदक जित्दा ८ दशमलव ७२ अंक बटुलेकी थिइन् । यसरी उनले आफ्नो प्रदर्शनमा सुधार ल्याए पनि पदक नजिक भने पुग्न सकिनन् । सुस्मिता समग्रमा सातौं स्थानमा थिइन् । तामाङ चिनियाँ ताइपेयी तथा म्यानमारकी खेलाडीलाई उछिन्न भने सफल भइन् । 

चन्चला दनुवार

पदकको नजिक पुगेर पनि पराजित हुने खेलाडी हुन्— कराँतेको काताकी चन्चला दनुवार । कांस्य पदकका लागि भएको भिडन्तमा उनी थाइल्यान्डकी तारा रातान्कुलसागसँग पराजित भइन् । उनको हारको अन्तर रह्यो, ५–० । चन्चला आफ्नो पहिलो खेलमा पराजित भएकी थिइन्, मकाउकी सोम लामसाउसँग । त्यसपछि उनले रिपिचेज राउन्डमा उत्तर कोरियाली खेलाडी जी उई काङमाथि ३–२ को सनसनीपूर्ण जित हात पारेकी थिइन् । लामसाउ उक्त स्पर्धाको फाइनलमा पुगेपछि चन्चलाले रिपिचेज राउन्डको अवसर प्राप्त गरेकी थिइन् । 

रीता कार्की

पदकको सम्भावनाबाट गुज्रेर पनि त्यसबाट टाढा रहेकी अर्की खेलाडी हुन्— कराँतेकी रीता कार्की । उनी ६८ किलो तौल समूहमा कांस्य जित्ने भिडन्तमा पाकिस्तानकी नर्गिससँग पराजित भइन् र स्कोर थियो, ३–१ । यसअघि उनी क्वाटरफाइनलमा चीनकी गाओ मेङमेङसँग पराजित भएकी थिइन् । पछि मेङमेङले फाइनलको यात्रा तय गरेपछि रिताको भाग्यमा कांस्य पदकको सम्भावना खुलेको थियो । पाकिस्तानी खेलाडीविरुद्ध बलियो चुनौती पेस गरेपनि उनी झिनो अन्तरले पछाडि परिन् । 

सोमबहादुर कुमाल

एथलेटिक्समा एउटै खुसीको समाचार दिने काम गरे, धावक सोमबहादुर कुमालले । उनले पुरुष ८ सय मिटर दौडमा २३ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भंग गरे । कुमालले जाकार्तामा उक्त दूरी १ मिनेट ५० दशमलव २५ सेकेन्डमा पूरा गरेका थिए । यसअघि यो कीर्तिमान धनीराम चौधरीको नाममा थियो । चौधरीले सन् १९९५ मा भारतको मद्रासमा सम्पन्न दक्षिण एसियाली खेलकुदमा १ मिनेट ५० दशमलव ६० सेकेन्डमा उक्त दूरी पूरा गरेका थिए । 

अनु अधिकारी

कराँतेको महिला ५० केजी तौल समूहमा अनु अधिकारी पनि पदकको निकै नजिक पुगिन्, तर अन्त्यमा निराश भइन् । कांस्य पदकका लागि भएको भिडन्तमा उनी जापानकी मियाहारा मिहोसँग पराजित भएकी थिइन् । कराँतेमा सहभागी नेपाली खेलाडीमध्ये उत्कृष्ट प्रदर्शन गरेकी अनुले त्यसअघि तीन खेल खेलेकी थिइन् र त्यसमध्ये दुई भिडन्तमा जित निकालिन् । अनुले पहिलो खेलमा मकाउकी चिन चेयुङलाई हराएकी थिइन । त्यसपछि उनी ताइजेयीकी सियाउ सुङसँग पराजित भइन् । सुङ फाइनलमा पुगेपछि अनुले रिपिचेजको अवसर पाइन र त्यस क्रममा लाओसकी सिरिभिमानेलाई हराइन् ।  

 

प्रकाशित :भाद्र १८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्