जहाँ जन्नत देखाइदिने आश्वासन थियो

- आशिष दुलाल

भाद्र १८, २०७५

मिति : २३ फ्रेबुअरी २०१७

स्थान: दिल्ली जिबी रोड, रेडलाइट एरिया

मुटु ढक्क फुल्यो, घरकी श्रीमती सम्झिएँ, अगाडि १३–१४ वर्षदेखि ४०–५० वर्षसम्मका महिलाहरू शृंगारमा छोपिएर ग्राहकतर्फ छरिएका थिए । त्यस्तो अँध्यारो गल्ली र भर्‍याङ चढेर त्यहाँ पुगेकाले म स्याँस्याँ गर्दै थिएँ, दृश्य बिल्कुल चलचित्रको झंै, एउटी अधबैसे महिला आएर मलाई चपाउँलाझैं गर्दै भनी–‘ए मेरे कस्मिरी सेब, आजा यहाँ पे, जन्नत दिखा दुँ ।’

कुनै चलचित्रको संवादजस्तै लाग्छन् यी कुरा जुन हामीले सुन्यौं अनि देख्यौं–दिल्लीको जिबी रोडस्थित रेडलाइट एरिया अनि त्यस क्षेत्रमा बस्ने, काम गर्ने वा बस्न र यौनकर्म गर्न बाध्य पारिएकाहरूको जीवन ।

पूर्वयोजना

दिल्लीको करोलबागमा बेचबिखन प्रभावितको उद्धार र स्वदेश फिर्ती नियमावलीको दस्तावेज तयार पार्न दिल्लीस्थित नेपाली दूतावाससहितको सरकारी तथा गैरसरकारी टोली एवं भारतीय सरोकारवाला निकायहरूबीचको कार्यशाला सम्पन्न भयो । हामी नेपालमै बनाइएको योजनामुताबिक छलफलमा जुट्दै थियौं, अघिल्लो दिनदेखि नै । मातृका पौडेल, अनलाइन खबरका सम्पादक तथा शक्ति समूहका प्रेस सल्लाहकार, सन्तोष सेढाईं उद्धार कार्यमा सहयोगी पात्र जसले धेरै पटक प्रहरीका साथमा विभिन्न कोठीबाट बेचबिखन प्रभावित महिला तथा बालिकाहरूलाई उद्धार गरेका छन् र म एउटा सञ्चारकर्मी तथा मानव बेचबिखनविरुद्धको यो अभियानका सहयात्री ।

हामीबीच छलफल चल्यो र कोठीभित्र कसरी छिर्ने रणनीति पनि बुन्दै गयौं, सुनीता दिदी (शक्ति समूहको संस्थापक सदस्य) र दिलीप सर (वकिल) ले सम्भाव्य जटिलताका बारेमा सम्झाए हामीलाई । हामी मनमनै एकदमै तयार र सजग थियौं । हाम्रो उद्देश्य चलचित्रमा मात्र देखिएको र उद्धार कार्यमा समावेश हुने केही व्यक्तिले भनेको मात्र सुनेको यौनशालाको वर्तमान अवस्था बुझ्नु मात्र थिएन, कतिपयले बेचबिखन रोकिइसक्यो, कोठीमा अब नेपाली महिला तथा बालिकाहरूको बेचबिखन हुँदैन भनेकाले त्यसको सत्य–तथ्यसमेत जान्नु थियो भने उद्धारको नयाँ रणनीति बनाउन सहयोग गर्नु पनि थियो ।

नर्कको यात्रा

दिउँसोको कार्यशाला सकियो, अब पालो थियो योजनामुताबिक मान्छे बेचिने भनेर नाम चलेको जिबी रोडस्थित विभिन्न कोठीमा पुग्ने । यो काम सोचेजति सहज थिएन । हामी कुनै संस्थाको परिचय वा पत्रकारका रूपमा जाने कुरा सोच्नु मात्र पनि मृत्युलाई निम्तो दिनुभन्दा कम हुँदैनथ्यो, यो हविगत पहिल्यै हाम्रा केही साथीले भोगिसकेको कुरा सुनीता दिदीको मुखबाट सुनिसकेका थियौं । सरकारी उपसचिवसहितको हाम्रो टोली अटोमा बाहिरी आवरण नियाल्न जिबी रोडतर्फ लम्कियो । हामी निडर एवं आत्मविश्वासीजस्तो देखिँदै अनि यौनशालामा जाने ग्राहकका रूपमा आफूलाई प्रस्तुत गर्दै लाग्यौं जिबी रोड, जो अंग्रेजको पालामै स्थापना भएको हो । 

बाटो कताबाट कता लाग्यो सम्झना भएन । मातृका सर अटोको एक छेउमा म अर्को छेउ र बीचमा सन्तोषजी, सडकभरि हर्न बजेभन्दा ठूलो स्वरमा मनमा ढ्यांग्रो नबजेको त कहाँ हो र तर एक–अर्काका (हामी दुईका) मनको ढ्यांग्रो अरूलाई सुन्न दिएनौं हामीले । जिबी रोड छिर्नेबित्तिकै अन्दाजी १७–१८ वर्षको एउटा चिम्से किशोर अटोमा झुन्डिन आइलाग्यो । ‘भट्याक....भट्याक’ मुटु हतारिँदै थियो, लाग्दै थियो आज मुटुले सबै रगत बाहिर फाल्नेछ र आफू पहेंलिने छ अनुहारझैं तैपनि मैले चुइँगम चपाइरहें ।

‘आ जाओ साब, अच्छी–अच्छी माल दिखाता हुँ, खोली न ....’ मैले कोठी नम्बर बिर्सिएँ मातृका सरले के भन्नुभयो सुनिनँ तर मित्र सन्तोषले हामी नियमित आइरहने हो तल झर भने रुखो हिन्दी भाषामै । कतै अटोवालाले हाम्रो वास्तविकता खोलिदिने हो कि झिनो डर पनि थियो भने अर्कातर्फ मनमा गन्तव्यमा पुग्ने लालसासमेत झ्याँगिएको थियो । अटो रोकियो, हामी सीधै खोली नम्बर–५६ मा छिर्‍यौं, सडक अनि सडकको छेवैमा पान, गुटखा तथा जुसका ठेला र घुम्ती पसलहरू त्यसभित्र घरमुनि पेटीबाट आवतजावत भुइँ तल्लामा हार्डवेयर आदिका पसल र माथिल्लो तल्लामा फलामको ग्रिल भएका झ्याल अनि कुनै–कुनै झ्यालबाट बाहिर हेरिरहेका केही महिला देखिन्थे । यद्यपि हामीले टाउको ठड्याएर हेर्ने आँट गरेनौं ।

म सबैभन्दा पछि लागें, हातमा सल्किएको चुरोट बोकेर तथा चुइँगम चपाउँदै सबैभन्दा पछिपछि लुरुलुरु । साँघुरो भर्‍याङका मोडमोडमा वृद्ध रोगी महिलाहरू माग्न बसेका थिए, मैले अनुमान गरें, सायद कोठीबाट रिटायर्ड भएपछि यो हविगत हुन्छ । पहिलो तल्लामा अधवैसे महिलाहरू देखिए । हामीलाई आकर्षित गर्न होला, केही दोहोरो अर्थ लाग्ने भाषा र अदाले हामीलाई बोलाउँदै थिए तर हामी अँधेरो र साँघुरो भर्‍याङ हुँदै चार–पाँच तल्ला माथि पुग्यौं । ग्राहक आउने मध्य समय नभएकाले होला कोही सरसफाइमा व्यस्त थिए भने कोही मेकअपमा मस्त । हामीले के महसुुस गर्‍यौं भने हामी जति माथिल्लो तल्ला चढ्दै जान्थ्यौं त्यति नै कम उमेरका महिला तथा किशोरी देखिँदै जान्थे । अन्तत: हामीले माथिल्लो तल्लामा उज्यालोबीच आफूलाई पायौं, वरपर पन्ध्र–बीस महिला तथा किशोरी थिए, कोही उभिएका, कोही बसेका र कोही लिपिस्टिक पाउडर लगाइरहेका । हामी कोही एक–अर्कासँग बोलेनौं, हाम्रो योजना पनि थिएन त्यस्तो तर बोल्ने आँट पनि आएन । मुटु ढक्क फुल्यो, घरकी श्रीमती सम्झिएँ, अगाडि १३–१४ वर्षदेखि ४०–५० वर्षसम्मका महिला शृंगारमा छोपिएर ग्राहकतर्फ छरिएका थिए । त्यस्तो अँध्यारो गल्ली र भर्‍याङ चढेर त्यहाँ पुगेकाले म स्याँस्याँ गर्दै थिएँ, दृश्य बिल्कुल चलचित्रको झैं, एउटी अधबैसे महिला आएर मलाई चपाउलीझैं गर्दै भनी–‘ए मेरे कस्मिरी सेब, आजा यहाँ पे, जन्नत दिखा दँु ।’ म नआत्तिएको अभिनय गर्दै थिएँ, नजिकै अर्को झुन्ड स्पिकरमा गीत सुन्न व्यस्त थियो–‘सुन साइँली परदेशबाट म आउँला....चालीस कटेसी रमाउँला... म ट्वाइलेट गएँ, भित्र पुगेर मोबाइलमा रेकर्डर अन गरेर बाहिरिएँ । बाहिर मातृका सरहरूले त्यहाँको वस्तुस्थिति हेरिसक्नुभएको थियो जहाँ झन्डै असी प्रतिशत नेपाली थिए र त्यसका आधाभन्दा बढी किशोरीले तामाङ लवजमा हिन्दी बोलेको प्रस्ट हुन्थ्यो, वरिपरि बाउन्सरजस्ता देखिनेहरू पनि प्रशस्तै थिए तर को ग्राहक को त्यहाँको साँढे हो भनेर छुट्याउन मुस्किल थियो । त्यसपछि हामी बाहिरियौं त्यहाँबाट, दृश्यपान गरेकै शैलीमा खुइय निस्कियो अनायास ।

हामी तल पुग्यौं, ओर्लने क्रममा एउटाले सोध्यो ‘क्यूँ, पसन्द नहीँ आया ?’

‘नहीँ सारे सुखे पड गए यहाँ तो ।’ मैले रेगुलर ग्राहक जसोगरी बोलें प्वाक्क ।

मातृका सरले अन्य–अन्यमा समेत जाने र बालिकाहरू कत्तिका छन् अनुमान लगाउने सोच बनाउनुभयो । हामी अलि पर अर्को भर्‍याङ चढेर उकालियौं ।

कपडा बेच्नेहरू त्यहीँ, अङ्गुर बेच्ने अनि चटपटे र क्रिम–पाउडर बेच्ने पनि त्यहीँ जाँदा रहेछन् व्यापार गर्न, सजिने–सजाउने क्रम थियो, सोही क्रमले तल्ला चढ्दै जाँदा । त्यो कोठीमा अलि धेरै नै बालिका देखिन्थे, बेन्चमा बसेका केही महिला उनीहरूसँगै केही अधबैसे (ग्राहक) पुरुषहरूमाथि खोपीजस्तो सुरुङमा ओछ्यान (केही त्यस्ता सुरुङजस्ता ओछ्यानहरू देखिए) र केही लम्पसार परेर सुतेका किशोरीहरू । हामी धेरैमा गयौं, उस्तै–उस्तै परिदृश्य । ती कोठीमा केही अभ्यस्तहरू ग्राहक तान्न लालायीत थिए, केही बालिका र किशोरीहरू पनि देखिन्थे, प्राय: नेपाली जनजाति लवजको हिन्दी भाषा कानमा ठोक्किन्थ्यो कल्याङमल्याङबीच । सायद भर्खर आएकाले होला असहज मानिरहेका केही बालिकामाथि नजानिँदो तवरले नजर फ्याँक्यौं तर हामीले लामो कुराकानी गरेर आफूलाई असहज अवस्थामा पार्न चाहेनौं ।

भर्‍याङ लगाइदेऊ त खोपीबाट ओर्लन खोज्दै एउटीले नेपालीमै भनी । मातृका सर र मैले नबुझेको अभिनय गर्‍यौं र सन्तोषले पञ्जाबी (सायद) मा सोधे–‘कि होया ?’

चुरो कुरो

चुरोटको धूवाँ उडाइरहेकी एउटी किशोरी नङ टोक्दै हामीलाई हेर्दै थिई, त्यही बेला छेवैमा घुँडामा मुन्टो पुर्‍याएर बसेकी अधबैसे महिलाले कुरा मात्र गर्ने हो कि काम पनि भनेर सोधेपछि थाहा भयो त्यहाँ नेपाली महिलाहरू कोठी मालिक्नीको दर्जासम्म पनि पुगिसकेका रहेछन् । हामीले एकछिनमा आफू यौन सम्बन्धका लागि तयार रहने बताएर कामुक मुस्कान छाड्दै बाहिरियांै । पाँच–सातवटा कोठी अवलोकन गरिसकेपछि मातृका सरले सोध्नुभयो— नयाँ भर्खर ल्याइएका कहाँ छन् त ?

उनीहरूलाई त अलग्गै घरमा बन्दी बनाएर यातना दिइँदो रहेछ । बेचबिखन प्रभावितहरू धन्दाका लागि राजी भएपछि मात्र यहाँ ल्याइँदो रहेछ । अबोध र खाली दिमागमा कोठी मालिक्नीले ब्रेन वास गरेर आफूअनुकूल बनाई कोठीमा परिचालन गर्दा रहेछन् । त्यसैले नबुझी ग्राहकका रूपमा गएर सहायता दिन खोज्नु खतरा हुँदोरहेछ । त्यहाँ यौनकर्मी बन्नुअघि बेचबिखन पीडित हुनुको अनुभव लुकाउनकै लागि होला, बाक्लो मेकअप गराइँदो रहेछ ।

नेपाली संस्थाहरूले पठाएको हराएकाहरूको प्रतिवेदनका आधारमा र यस्तै अनुगमनका आधारमा सन्तोषजीहरूले प्रहरीलाई बालिकाहरूको उद्धार गर्न भन्छन् र उद्धार हुँदोरहेछ अनि मिसिङ केसको बहानामा प्रहरीलाई दबाब दिएर फेला परेका बालिकाहरूलाई बाहिर ल्याइँदोरहेछ । यद्यपि सूचना लिक भए बालिकाहरू गोप्य कोठामा थुनिँदा रहेछन् । कतिपटक प्रहरी तथा संस्थाहरूले पर्खाल फोरेर पनि उनीहरूलाई बाहिर निकाल्दा रहेछन् ।

तर संस्थाहरूले मतलब एनजिओहरूले ???

अनि सरकारैपिच्छे विभिन्न सम्झौता गर्ने नेपाल–भारतले उद्धार तथा स्वदेश फिर्तीका विषयमा कुनै सम्झौता गरेका छन् ?

नेपाली बालिका उद्धार भएपछि सुरक्षित पुनस्र्थापना सेवाको सहजता छ ?

भाषाका कारणले सेवा लिन–दिन समस्या पनि त हुँदो हो ?

स्वदेश फिर्ती गर्दा बेचबिखनमा परेका ती बालिकाहरूको मुख्य समस्या पत्ता नलगाई काम गर्दा कतै उद्धार र स्वदेश फिर्ती ढर्रा र देखाउनका लागि मात्र त भैरहेको छैन ?

रोक्न किन सकिँदैन यो नर्कमा आइपुग्नबाट ?

अनगिन्ती प्रश्न मनमा उठ्दै–फुट्दै थिए, महिला तथा कानुन मन्त्रालयका उपसचिवहरूसहित सुनीता दिदीहरू फर्किसक्नुभएकाले यी प्रश्न थाती राखें मनमै । मातृका सर एकदम आँटिलो हुनाले सेल्फी खिच्ने बहानामा झ्यालमा देखिएका केही पात्रको तस्बिर लिनुभयो, हामीले पनि सेल्फी लियौं र जिबी रोडको भिडियो पनि । कसैले हाम्रो सेल्फी एंगल देखेर शंकास्पद पारामा मुखामुख गरेपछि हतारमा अटो लिएर लाग्यौं करोलबागतर्फ, अघिका प्रश्नहरू साँझसँगै छिप्पिँदै थिए ।

प्रकाशित :भाद्र १८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्