वर्षातको सम्झना

  • बेनिशा हमाल, अभिनेत्री

- साप्ताहिक संवाददाता

भाद्र १५, २०७५

वास्तवमा भन्ने हो भने मलाई वर्षा मौसम मन पर्दैन । यद्यपि म बाल्यकालमा भने पानीमा रुझ्न र खेल्न एकदमै रुचाउँथेँ । अहिले भने पानी पर्‍यो भने दिक्क लाग्छ । पहिलो कुरा त पानी परेपछि हाम्रो कामलाई नै असर गर्छ । म अहिले जुन पेसामा आबद्ध छु, त्यसका लागि आउटडोर सुटिङ गर्न निकै गाह्रो हुन्छ । वर्षाका कारण यतिबेला धेरै काम हुँदैन, जसले गर्दा मलाई यो मौसम खासै मन नपरेको हो । हुन त मौसमको कुनै निश्चितता हुँदैन । हामी मौसमलाई चुनौती दिन पनि सक्दैनौँ । कहिलेकहीँ चाहिँ मौसमलाई नै चुनौती दिएर वर्षायाममा बाहिरतिर निस्कँदा छाता, रेनकोट आदि नबोकिकनै निस्कन्छु । यद्यपि त्यसका कारण मैले धेरैपटक पीडा सहनुपरेको छ । 

केही साताअघिको कुरा हो । म पेप्सीकोलाबाट एउटा कार्यक्रमका लागि जाँदै थिएँ । मैले रेनकोट बोक्न बिर्सिएछु । बीच बाटोमा पुगेपछि मुसलधारे पानी पर्‍यो । त्यहाँ कतै ओत लाग्ने ठाउँ नभएकाले निथु्रक्कै भिजेँ, जसले गर्दा म उक्त कार्यक्रममा नगै घरै फर्किएँ । यसरी पानी परेकै कारण मैले थुप्रै कार्यक्रममा सहभागिता जनाउन पाएकी छैन । 

अर्को कुरा पानीमा भिजेपछि त्यसले स्वास्थ्यमा समेत समस्या निम्त्याउँछ, स्किनमा समस्या देखा पर्छ । यसका साथै मेकअप बिग्रने समस्या पनि हुन्छ । कुनै कार्यक्रममा जाँदा बीच बाटोमा पुगेपछि पानी पर्छ, त्यसपछि मेकअप बिग्रन्छ अनि तनाब हुन्छ । पानीमा रुझ्दा मेकअप बिग्रिएर म पनि धेरैपटक तनावमा परेकी छु । कुनै कार्यक्रममा जाँदाजाँदै पानी परेर मेकअप बिग्रियो भने म रेस्टरुम छिरेर आफूसँग भएको मेकअप सामग्रीले टचअप गरेरपछि मात्र कार्यक्रम हलमा छिर्छु । यस्तो मैले धेरै पटक गरेकी छु ।

वर्षायाममा परेको झरीले मेरो मुडलाई पनि असर गर्छ । झरी परेको दिन अँध्यारो हुन्छ, जसले गर्दा बाहिर कतै घुम्न जान मन लाग्दैन । त्यसैले मलाई झरी परेपछि घरमा टेलिभिजन हेरेर बस्न मन लाग्छ । यसैगरी फेसबुकमा साथीहरूले पनि रमाइला स्टाटसहरू पोस्ट गर्नुहुन्छ । ती स्टाटस पढ्न निकै रमाइलो लाग्छ । बाहिर निस्किएका बेला अचानक पानी पर्‍यो र रुझ्नुपर्‍यो भनेचाहिँ निकै रिस उठ्छ, यद्यपि त्यो रिस क्षणिक हुन्छ । किनभने हामीले मौसमसँग रिसाएर केही हुनेवाला छैन । 

प्रकाशित :भाद्र १५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्