हास्य चलचित्रको लहर

- कृष्ण भट्टराई

भाद्र १४, २०७५

‘क्यूएफएक्स मुभिजले यो वर्ष (२०७४) को सबैभन्दा बढी ग्रस कलेक्सन (कुल आम्दानी) गर्ने चलचित्र शत्रुगतेलाई सम्मानित गर्दाको क्षण ।’ निर्देशक प्रदीप भट्टराईले केही साताअघि फेसबुकमा स्टाटस लेख्दै आफ्नो निर्देशनको दोस्रो चलचित्रले वर्षकै उत्कृष्ट व्यवसाय गरेको जानकारी गराए । यसअघि उनैले निर्देशन गरेको चलचित्र ‘जात्रा’ पनि वर्ष २०७३ को सर्वाधिक व्यवसाय गर्ने चलचित्रको सूचीको अग्रपंक्तिमा थियो । ‘जात्रा’ प्रदर्शन नहुञ्जेल निर्देशक भट्टराईका बारेमा थोरै चलचित्रकर्मीलाई मात्र जानकारी थियो । लामो समय मह सञ्चारमा आवद्ध भएर त्यहाँबाट निर्माण हुने टेलिश्रृंखलाहरू निर्देशन गर्दै आएका भट्टराई जात्राको सफलतासँगै सफल चलचित्र निर्देशकका रूपमा स्थापित भए । शत्रुगतेको सफलताले उनलाई महँगा निर्देशक बनाइदिएको छ । यतिबेला उनी जात्रा–२ को प्रि–प्रोडक्सनमा व्यस्त छन् । 

दीपकराज गिरी तथा दीपाश्री निरौलासहितको समूहले निर्माण गर्ने चलचित्रहरू व्यवसायिक रूपमा असफल नहुने निश्चित जस्तै हुन्छ । छ एकान छ, वडा नम्बर छ, छक्का पञ्जा तथा छक्का पञ्जा–२ को व्यवसायिक सफलताले उनीहरूको व्यानर व्यवसायिक रूपमा सफल हुने चलचित्रमात्र निर्माण गर्छ भन्ने प्रमाणित भैसकेको छ । आउँदो दसैंअघि प्रदर्शनमा आउने चलचित्र ‘छक्का पञ्जा–३’ पनि व्यवसायिक रूपमा सफल हुने पक्का छ, किनभने चलचित्रको केही साताअघि सार्वजनिक पहिलो गीतले दुई सातामै ५० लाख पटक हेरिएको (यूट्यबमा) कीर्तिमान कायम गरिसकेको छ । 

विगतमा पारिवारिक कथामा व्यवसायिक चलचित्र निर्माण तथा निर्देशन गर्दै आएका निर्माता तथा निर्देशक अशोक शर्मा लामो समयपछि नयाँ चलचित्र ‘जय भोले’ लिएर दर्शकमाझ आउँदैछन् । दसैंअघि नै प्रदर्शन हुने उनको चलचित्रमा नाम चलेका कलाकारहरूले अभिनय गरेका छन् । चलचित्रको टिजर तथा ट्रेलर हेर्नेहरूले यो चलचित्र कुन विधामा आधारित छ भन्ने कुरा बुझिसकेका छन् । 

माथि उल्लेख गरिएका सबै चलचित्रमा एउटा समानता छ । हो, यी सबै चलचित्र हास्य प्रधान (कमेडी) छन् । जबदेखि दीपकराज–दीपाश्रीले हास्य श्रृंखला ‘तीतो सत्य’ लाई थन्क्याएर त्यही श्रृंखलाको परिष्कृत स्वरूपमा चलचित्र निर्माण गर्न थाले, दर्शकहरूले पनि त्यस्ता चलचित्रलाई राम्रो साथ दिन थाले । वडा नम्बर छ, छक्का पञ्जा तथा छक्का पञ्जा–२ जस्ता चलचित्रले हास्य विधामै रहेर दर्शकलाई मनोरञ्जन प्रदान गरे, यद्यपि यी चलचित्रमा समाजमा विद्यमान केही गम्भिर विषय पनि चित्रण नगरिएको होइन् । 

एकपछि अर्को गर्दै हास्य प्रधान चलचित्र सफल हुन थालेपछि रंगमञ्चमा सीमित कलाकारहरू समेत चलचित्रका लोकप्रिय कलाकारका रूपमा स्थापित हुन थाले । बुद्धि तामाङ ‘हैट’, कमलमणि नेपाल, रवीन्द्र झा, विजय बराल आदि रंगमञ्चका कलाकारहरू यतिबेला नेपाली चलचित्रका अभिन्न अंग भैसकेका छन् । चलचित्रमा उनीहरूको माग चलचित्रका नायक–नायिकाहरू जत्तिकै छ भने हरेक चलचित्रमा उनीहरूलाई विशेष भूमिकामा प्रस्तुत गरिन्छ । बुद्धि तामाङलाई त अचेल प्रत्येक चलचित्रका गीतमा समेत नचाउन थालिएको छ । चलचित्र दुई रुपैयाँको कुटुमा कुटु गीतको लोकप्रियतासँगै बुद्धिले धेरै चलचित्रमा अभिनेत्रीहरूसँगै कम्मर मर्काउने मौका पाइसकेका छन् । 

हास्य श्रृंखलाको पृष्ठभूमिबाट आएका दीपकराज गिरी, दीपाश्री निरौला तथा मह जोडीको संगत पाएका प्रदीप भट्टराईमात्र होइन सञ्चारकर्मीद्वय सुव्रत आचार्य तथा लक्ष्मण सुवेदी, अष्ट्ेरलियाबाट चलचित्र पढेर आएका निश्चल बस्नेत, म्युजिक भिडियोबाट खारिएका निर्देशक निकेश खड्का, दीपेन्द्र के खनालसहित अधिकांश निर्देशकले आफ्ना चलचित्रलाई कमेडी फ्लेवर दिन थालेको पाइन्छ । हुँदा–हुँदा राम्रा रोमान्टिक चलचित्र बनाउने निर्देशक सुदर्शन थापाले समेत प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘राम कहानी’ मा जितु नेपाल, केदार घिमिरे, विल्सन विक्रम राई जस्ता हास्य अभिनेताहरूलाई महँगो पारिश्रमिक दिएर अभिनय गराए । अवस्था यतिसम्म भयो, गम्भिर विषयमा चलचित्र बनाइरहेका निर्देशकहरूले समेत कुनै न कुनै एंगलबाट आफ्नो चलचित्रमा कमेडी फ्लेभर दिन पछि परेनन् । फलस्वरूप कमेडी शैलीका कतिपय चलचित्र व्यवसायिक रूपमा सफल भए भने कतिपय असफल पनि । 

सानो पर्दा छाडेर चलचित्रमा

सानो पर्दामा एकछत्र राज गरेका दीपकराज र दीपाश्री मात्र होइन, पछिल्ला केही वर्षयता टेलिश्रृंखलाहरूमा मात्र सीमित थुप्रै हास्य कलाकारहरू चलचित्रमा केन्द्रित हुन थालेका छन् । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, जितु नेपाल, शिवहरि पौडेल, केदार घिमिरे माग्नेबुढा, बुद्धि तामाङ, विल्सन विक्रम राई त चलचित्रमा सक्रिय थिए नै, अहिले आएर सीताराम कट्टेल धुर्मुस, कुञ्जना घिमिरे सुन्तलीमात्र होइन सीतारामका भाइ कुमार कट्टेल जिग्री तथा उनको भद्रगोल टेलिश्रृंखलाको समूहका सबै कलाकार चलचित्र निर्माणमा कम्मर कसेर लागेका छन् । 

दर्शकको रोजाइमा कमेडी 

परिस्थित कस्तोसम्म भएको छ भने अचेल दर्शकहरू समेत राम्रो कमेडी चलचित्र प्रदर्शनमा आयो भने चलचित्र हलसम्म पुग्न अल्छी मान्दैनन् । दर्शकहरू सिनेमा हलमा पुगेर खुलेर हास्न चाहन्छन् भन्ने कुरा छक्का पञ्जा, शत्रुगते, जात्रा जस्ता चलचित्रको सफलताले प्रमाणित गरिसकेको छ । यी चलचित्रले १५ करोड रुपैयाँ भन्दा बढीसम्म आम्दानी गर्नुको पछाडि पनि दर्शकहरूको सिनेमा हलमा गएर हास्न चाहने रहरले ठूलो भूमिका निर्वाह गरेको छ । 

सहज छैन यात्रा

जसरी यतिबेला नेपाली चलचित्रमा हास्य विधाले एकछत्र राज गरेको छ । यद्यपि यो प्रक्रियाले भविष्यसम्म निरन्तरता पाउने कुरामा चलचित्रकर्मीहरू नै ढुक्क छैनन् । उत्कृष्ट हास्य चलचित्र निर्माण गर्ने श्रेय पाएका दीपकराज गिरीका अनुसार हास्य चलचित्रको नाममा दर्शकहरूलाई सधैं भात र आलु मात्र दिने हो भने भविष्यमा नेपाली चलचित्र उद्योग नै डुब्ने खतरा छ । गिरीका अनुसार उनीहरूको सिको गर्दै यतिबेला हास्य प्रधान चलचित्र बनाउने होडवाजी नै चलेको छ, यद्यपि प्रसस्त गृहकार्यको अभावमा त्यस्ता चलचित्रले आफूमात्र डुब्ने होइन, अरूलाई समेत डुबाउने खतरा बढ्दो छ । गिरीका अनुसार उनीहरूले बनाएका चलचित्र सफल भए भन्दैमा सबै हास्य चलचित्र सफल हुन्छन् भन्ने ग्यारेन्टी छैन । ‘हामी जुन मेहनत, गृहकार्य तथा तयारीका साथ चलचित्र निर्माण गर्छौं, त्यो सबैले गर्छन् अथवा गर्न सक्छन् भन्ने छैन, गिरीका अनुसार नक्कलका लागि नक्कल गर्ने प्रवृत्तिले दर्शकहरू कमेडी चलचित्रप्रति विकर्षित हुने सम्भावना पनि उत्तिकै छ ।

कमेडीसँगै मौलिकता

कबड्डी, कबड्डी–कबड्डी, घामपानी जस्ता चलचित्रले नेपाली चलचित्रको यात्रालाई एउटा उचाइ प्रदान गरे । यी चलचित्रमा ग्रामीण परिवेश त समावेश थियो नै, साथ–साथै कलाकारहरू दर्शकलाई सहजै हसाउन सफल समेत भएका थिए । यी चलचित्रमार्फत दयाहाङ राई, सौगात मल्ल, निश्चल बस्नेत, बुद्धि तामाङ जस्ता कलाकारले उत्कृष्ट संवाद तथा आकर्षक हाउभाउमार्फत दर्शक हसाउन सफलता प्राप्त गरेका थिए । 

असफल पनि छन् 

दीपकराज गिरीले भने झैं नक्कल गर्ने प्रवृत्तिका कारण थुप्रै हास्य प्रधान चलचित्र नरामोसँग फ्लप समेत भएका छन् । हास्य विधालाई क्यास गर्ने अभियानमा जुटेका केही हास्यप्रधान चलचित्र आफैं हास्यास्पद समेत बनेका उदाहरण पनि उत्तिकै छन् । विपिन कार्की र सौगात मल्ल जस्ता उत्कृष्ट कलाकारद्वारा अभिनित चलचित्र ‘लालपुर्जा’, सौगात मल्ल र प्रियंका कार्कीको ‘फाटेको जुत्ता’, सौगात मल्ल र बेनिशा हमालको ‘झ्यानाकुटी’, दयाहाङ राईको हाउ फन्नी, नक्कली बाबुराम अर्थात ज्योति काफ्ले, बुद्धि तामाङ तथा रजनी केसीको ‘लालजोडी’ जस्ता चलचित्रलाई हास्य प्रधान त भनियो, तर ती चलचित्रले दर्शकको मन जित्न सकेनन् । 

प्रकाशित :भाद्र १४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्