पाँचपोखरीको यात्रा

- अधिकारी रवीन्द्र

भाद्र १४, २०७५

 

देशले यो साता जनैपूर्णिमा मनाउँदैछ । बौद्ध र हिन्दू धर्मावलम्बीहरू जनैपूर्णिमामा कठोर यात्रा गर्दै विकट तथा उच्च पहाडी भेगमा रहेका धार्मिक तीर्थस्थल पुग्छन् । यसका लागि रसुवाको गोसाइँकुण्ड प्रचलित छ भने उत्तिकै महत्वपूर्ण तर चर्चामा नआएको अर्को ठाउँ हो – पाँचपोखरी जहाँ पुर्णिमामा ठुलो मेला लाग्छ । 

सिन्धुपाल्चोक जिल्लास्थित यो क्षेत्र दुईवटा फरक मार्गबाट पुग्न सकिन्छ– चौताराबाट कामीखर्क, पौवाबास र हिलेभन्ज्याङ हुँदै नासिमपाटी तथा मेलम्चीबाट तिपेनी, थाङ्पाल धाप, भोताङ हुँदै नासिमपाटी । दुबै ट्रेल ३७०० मिटरमा अवस्थित नासिमपाटीमा पुगेर मिसिन्छ र त्यहाँ बाट ४–५ घण्टा हिंडेपछि पाँचपोखरी पुगिन्छ । मेलम्चीबाट जाने बाटो छोटो तर बढी ठाडो छ । गत वैशाख १५ गते राजकुमार श्रेष्ठ तथा रत्न बन्जारासँग पाँचपोखरी पुग्दा मैले एउटा बेग्लै अनुभूति सँगाल्ने अवसर पाएँ । 

बिहान ६ बजे हामी बनेपाबाट गाडी चढेर ९ बजे मेलम्ची पुगी खाना खायौँ । ७ बजे काठमाडौंको नारायणटार बसपार्कबाट छुटेर आउने गाडी त्यहाँबाट ११ बजे भोताङका लागि प्रस्थान गर्दो रहेछ । झन्डै ४ घण्टा कच्ची बाटोको बसयात्रापछि छिम्ती पुगियो । त्यहाँबाट ट्रेकिङ थालियो देउरालीसम्मको । देउरालीमा काठका कटेरामा बसेर भोलिपल्ट ५ बजे बिहानै उकालो लाग्न थाल्यौं । बाटोको मनमोहक दृश्यले अस्वभाविक उकालो बिर्साउने प्रयास गथ्र्याे । रातो र सेतो गुराँसले पुरै बन ढकमक्क थियो । क्षणक्षणमै मौसम परिवर्तन हुन्थ्यो– घाम, बादल, बर्षा, असिना, कुइरो । घनघोर पानी परेका बेला चौँरीगोठमा गोठाला दाईहरूले आगो बालेर र चौँरीको दुध ख्वाएर जिउ न्यानो पार्न सहयोग गर्नुभयो ।

जुगल हिमशृंखलाका तीन चुचुरा दोर्जे लाक्पा, फुर्बी छ््याचु तथा मादियालाई देब्रे पारेर हामी निरन्तर उकालो चढिरह्यौँ । चकलेट, काजु, स्याउ तथा अनारको शक्ति भर्दै ओढार, चौतारा तथा देउरालीहरूमा पिठ्युको भारी बिसाँउदै अनि थकानका सुस्केरा प्रकृतिलाई छोड्दै हामी अघि बढ्दैथ्यौँ । त्यस क्रममा नासिमपाटी नजिकिँदै जाँदा लेक लाग्न थाल्यो । हिंड्न नसकिने, बढी नै स्वाँ स्वाँ हुने, रिँगट्टा लाग्ने र आँखा अगाडि छिनछिनमा अन्धकार छाउने भएपछि हामी निकैबेर एउटा काठको छाप्रोमा आगो बालेर बस्यौं अनि अदुवा–लसुन पोलेर खायाँै, खाजा खायाँै । एसिटाजोलामाइडको चक्की खाएपछि बल्ल राहत महसुस भयो । नासिमपाटीमा पुगेर नुनिलो चिया खाइयो । चौताराबाट आएको ठूलै समूह त्यहाँ जम्मा हुँदै थियो । नासिमपाटीमा दालभात ख्वाउने र सबैजना लहरै सुत्न मिल्ने दुई चारवटा ढुङ्गे घर छन् । ती सबै सिजनमा मात्र खुल्छन्, अन्य समयमा बन्द रहन्छन् । 

स्थानीय बासिन्दाहरूले बताएअनुसार अझै तीन घण्टा छ पाँचपोखरी पुग्न । तीन बजेको छ, हामी लम्कियाँै । उजाड पहाडका ठाडा उकालाहरूमात्र हाम्रा अगाडि थिए । स–साना पोथ्रा बाहेक हरियाली केही छैन । पहिरो झर्ने खतरानाक बाटोबिच यात्रा अघि बढाउनु थियो । ठाउँठाउँमा आफसेआफ ढुङ्गाहरू खसिरहन्थे । अलिक डाँडो जस्तोमा घरिघरी मोबाइलका टावर लाग्दो रहेछ । भाग्य भए काठमाडौं फोन लगाई ‘हेलो म पुग्न आँटे’ सम्म भन्न भ्याइन्छ ।

स्याल्दर ओडेर असिना छल्दै दुईवटा पाइलै नसर्ने उकालाहरू सिध्याँउदा बेलुकाको सात बज्यो । हामी लौरिबिना पुग्याँै । ‘उकालो सिद्धियो अब लौरी बिनानै हिंड्नुहोस्’ भनेर उक्त ठाउँको नाम लौरिबिना राखिएको रहेछ । फर्केर आउँदा देखियो बिसाइएका लठ्ठीहरूको ठुलो चाङ थियो त्यहाँ । अब उप्रान्तको यात्रा उत्तरतिरको थियो, गल्छेडो उता मुटु चिर्ने चिसो हावा बहेको छ । टर्चलाइट बालेर हेर्दा देखिनेसम्म सेताम्मे हिँउमात्र छ । ओरालो झर्दा बाक्लो हिँउ पर्न थाल्यो । अघिल्लो हुलका यात्रुहरूले बनाएका जुत्ताका डोब क्रमश: मेटिदै पूरै हरायो । 

अब लगभग हामी छलियाँै । तैपनि अँध्यारोमा पाइला नाप्दै बत्ती बालेर अन्दाजमा हिडिरह्याँै । हामी तीनै जनाका लागि त्यो गन्तब्य पहिलो थियो । बाटो अझ ओरालो भएकाले शशंकित भयाँै, कतै यो चौताराबाट आउने बाटो त होइन ? जे पर्ला–पर्ला, रत्नको अफलाइन म्यापकै भरमा हिंड्ने निर्णय गरियो । त्यसले पनि भरपर्दो नतिजा देखाइरहेको थिएन । आखिर आपत परेका बेला आत्मविश्वास बाहेक केहीले काम नगर्दोरहेछ । अँधेरीमा हिँउको यात्रा अतिनै जोखिमपूर्ण हुँदो रहेछ । कहाँ टेक्दा के हुन्छ टेकिसकेपछि मात्र थाहा हुने । कि चिप्लिने, कि ग्वाम्राङ्ग भड्खाराँ फसिने । जुत्तामोजा र जिउभित्र पूरै हिउँ पसेको छ ।

 चिसो हावा डरलाग्दो आवाजमा बहन थालेपछि सक्दै सकिएन, तीनै जना झोला खोलेर भएभरका लुगा जिउमा बेर्न थाल्याँै । त्यसबीच एउटा हुरीको झोक्काले हातमा रहेको मोबाइल हिँउमा खसाल्यो । मसँग अब बत्ती पनि भएन । रत्नको लाइटर पनि धुमिल भैसकेको थियो । राजकुमारको एउटा टर्चले गन्तव्य फेला पार्नु थियो । अब एकचोटि उकालो जाने, होइनरहेछ भने फेरि ओरालो फर्कने त्यो पनि होइन रहेछ भने यहिँ कतै छेकटो खोजेर रातभरी आपसमा गुँडुल्केर ननिदाई रात काट्ने योजना बनाएर हामीले आफ्नो सेल्फी स्टिक त्यहाँ गाड्याँै । उकालो लाग्दा हामी यति रफ्तारमा दौडियाँै कि यस्तो शक्ती अघिनै आएको भए अन्धकारमा यस्तो दुर्दशा भोग्नु त पर्दैनथ्यो भन्ने सोच आयो । चिच्याउँदा कसैले सुन्ला कि भनेर ‘हेल्प हेल्प’ भन्न छोडेनौँ । 

मानिसको एउटा खिरिलो आवाज वा बत्तिको सानो प्रकाशको महत्व हामीले त्यति बेलै बुझ्याँै । अन्तत: दुई सिमसारबीचबाट ढुङ्गाले चिरेको ठाउँ आएपछि म उफ्रिएँ । साथीहरू दङ्ग परे । मैले भनेँ– हामी आइपुग्याँै । त्यो पाँचपोखरिको ल्यान्डमार्क मैले युट्युब भिडियोमा देखेको थिए । तीनै जनाको आँखाबाट आँसु आयो जब हामीले केही सेकेन्डमै निकै पर बत्तीको धिपधिपे उज्यालो देख्याँै । 

प्रकाशित :भाद्र १४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्