Teej banner

विवाहेत्तर सम्बन्धको समस्या

  • डा. सुमनको सल्लाह

- डा. सुमनराज ताम्राकार

भाद्र १३, २०७५

 

पछिल्लो तथ्यांकअनुसार नेपालमा महिलाको कम, पुरुषको बढी उमेरमा विवाह भएको देखिन्छ । अर्को अध्ययनअनुसार बहुसंख्यक दम्पतीले विवाहपछि नै यौनसम्बन्ध राख्ने गरेका छन् । तीव्र सहरीकरण तथा विकसित मुलुकको देखासिकीका कारण नेपालमा पनि विवाहपूर्व तथा विवाह पश्चात् आफ्नै श्रीमान् वा श्रीमतीबेगरका व्यक्तिसँग समेत सम्बन्ध राख्ने घटना बढ्न थालेका छन् ।

पहिले यस्ता घटना गोप्य हुन्थे वा राखिन्थ्यो, त्यसलाई स्वीकार गरिँदैनथ्यो भने ती घटना तुरुन्तै प्रकाशमा आउँथे । यौनकर्मीसँग, जबर्जस्ती यौनसम्पर्क तथा आधिकारिक (कानुनी वा सामाजिक रूपमा) विवाह नगरी सँगै बसी यौन सम्बन्ध राख्ने कार्य पनि विवाहेत्तर सम्बन्ध नै हो ।  वैवाहिक जोडी बेगरको यौनसम्बन्धलाई निरुत्साहित गरिन्छ । कतिपय अवस्थामा कडा कानुनी प्रावधान समेत भए पनि यस्तो कार्य जारी नै छ ।

व्यक्तिपिच्छे यौन चाहना वा यौन सन्तुष्टि फरक–फरक हुने भएकाले आफ्नो यौन असन्तुष्टि वा व्यक्ति विशेषको अन्तर्निहित समस्याको लक्षणका रूपमा विवाहेत्तर सम्बन्धको समस्या उब्जिन्छ । यौन नैराश्यता, अर्को पक्षको यौन भावनाको कदर नगरिँदा, प्रेमिल वातावरण एवं पाकक्रीडामा समय नदिई केवल लैंगिक सम्पर्कमा मात्र केन्द्रित रहँदा, आफ्नो यौन चाहनालाई मात्र प्राथमिकता दिँदा, एकैजनाको यौन सम्बन्धलाई एकोहोरो मान्दा, दुईपक्षबीच यथेष्ट यौन वार्तालाप नहुँदा विवाहेत्तर सम्बन्ध सुरु हुन्छ । 

जे–जति कारणले विवाहेत्तर सम्बन्ध स्थापित भए पनि त्यसका आ–आफ्नै स्वास्थ्य जोखिम पनि छन् । यसमध्ये मुख्य जोखिम अनिच्छित गर्भ नै हो । यदि विवाहेत्तर यौन सम्बन्धका बेला गर्भ नरहने समयको ख्याल राखिएन वा सम्भावित गर्भको रोकथाम गरिएन भने अनिच्छित गर्भ रहन गै सामाजिक बेइज्जतिका साथै गर्भपतनसम्बन्धी जटिलताहरू उत्पन्न हुन सक्छन् । यसका साथै सुरक्षित यौनसम्पर्कमा ध्यान दिइएन भने एचआईभी/एड्सलगायत यौनजन्य संक्रमणले आक्रमण गर्न सक्ने सम्भावना पनि प्रबल हुन्छ ।

कसैगरी विवाहेत्तर यौन सम्बन्धको घटना उजागर भयो वा जनेन्द्रिय विशेषमा कुनै चिनो रह्यो र त्यसको जानकारी आफ्नो वास्तविक यौनसाथीलाई भयो भने यौनहिंसा, सम्बन्ध विच्छेद, हत्या, आत्महत्या जस्ता घटना हुन बेर लाग्दैन । यस क्रममा वास्तविक यौनसाथी आवेशमा आई आफ्नै जीवनसाथीको यौन जननेन्द्रिय क्षत विक्षत पारिदिने, अंगभंग गरी दिनेदेखि ज्यान लिनेसम्मका घटना यदाकदा सुनिँदै आएको छ ।

विवाहेत्तर यौन सम्बन्ध यौन असन्तुष्टि मात्र नभै व्यक्ति विशेषको अन्तर्निहित समस्याको लक्षण पनि हो । विवाहेत्तर यौन सम्बन्धले सफल दाम्पत्य जीवन बिताइरहेको व्यक्ति एकाएक परिवर्तन देखा पर्न सक्छ । 

विवाहेत्तर सम्बन्ध कम गर्ने तथा यौनलाई स्वस्थ बनाउने विभिन्न उपाय छन् । विवाहका बेला गरिएको वाचाअनुरूप पतिव्रता वा पत्निव्रता –एक पति वा एक पत्नी) को नियम अंगीकार गरिनुपर्छ । असन्तुष्टि छ भने आफ्नो चाहना पूरा गर्न हस्तमैथुन, यौन खेलौना लगायतका वैकल्पिक उपाय अबलम्बन गर्न सकिन्छ । वास्तविक तवरमै अर्थात् शारीरिक सम्बन्ध नै राख्ने अपेक्षा वा चाहना छ भने सुरक्षित सम्पर्कमा ध्यान दिनुपर्छ । विवाहेत्तर यौन सम्बन्धका कारण उत्पन्न समस्याको व्यवस्थापनका क्रममा दम्पतीलाई नै मानसिक तथा यौन परामर्शको आवश्यकता पर्न सक्छ । यस क्रममा तत्कालको संकट एवं क्रोध व्यवस्थापनका साथै शारीरिक हिंसा न्यूनीकरण प्रमुख कार्य हो । गल्ती गर्ने र भोगाई सहनेबीच आवश्यक प्रतिबद्धतासहित दाम्पत्य सम्बन्धलाई पुन: स्थापित गर्नेतर्फ सहयोग गर्नुपर्छ ।

प्रकाशित :भाद्र १३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्