रिसाउँदा बढी हसाउँछन्

- महेश तिमल्सिना

भाद्र १३, २०७५

शर्मिला चौलागाईं पुडासैनी, 

सिपी पुडासैनी धतुरेकी श्रीमती

२०६५ फागुन २२ गते भक्तपुर बिरुवाकी शर्मिला चौलागाईं पुडासैनीले हास्यव्यंग्यका चर्चित कलाकार सिपी पुडासैनी धतुरेसँग लगनगाँठो कसिन् । धतुरेको मामाघर पनि बिरुवा नै भएकाले धतुरेको मामाघर र शर्मिलाको परिवारबीच राम्रो चिनजान थियो । उक्त चिनजानले उनीहरूबीच मागी विवाह गरायो । धतुरे र शर्मिलाबीच विवाहअघि भने चिनजान थिएन । त्यतिबेला धतुरे कलाकारितामा करियर बनाउने दौडधुपमा थिए । 

जब शर्मिलाले धतुरेसँग विवाह गरिन्, त्यसपछि धतुरेले सिस्नोपानी झ्याम्मै, भद्रगोल आदि टेलिश्रृंखलामा अभिनय गरे । अहिले धतुरे के जमाना आयो हास्यटेलिश्रृंखलामा निर्देशन तथा अभिनय गर्छन् । श्रीमान्ले अँगालेको पेसाप्रति म निकै खुशी छु, शर्मिला भन्छिन्, ‘विवाह भएपछिको सुरुसुरुका दिनमा उहाँ विभिन्न कामले बाहिर जानुहुन्थ्यो त्यतिबेला चाहिँ सँगै हुन पाए हुन्थ्यो भन्ने लाग्थ्यो ।’ तर अहिले शर्मिलालाई बानी परिसकेको छ । 

धतुरे घरमा भएका समयमा घरै रमाइलो हुने उनको अनुभव छ । अझ भन्ने हो धतुरेले श्रीमती शर्मिला रिसाएका बेला धेरै हँसाउँछन् । शर्मिला भन्छिन्, ‘म रिसाएर बसेँ भने उहाँले विभिन्न अभिनय गरेर हँसाएरै छाड्नुहुन्छ ।’ परिवारमा हाँसो ल्याउन धतुरे नाच्न पनि भ्याउँछन् । शर्मिला भन्छिन्, ‘उहाँलाई नाच्न त आउँदैन, तैपनि हँसाउनका लागि नाच्नुहुन्छ ।’ 

शर्मिलालाई धतुरेको छिट्टै रिसाउने बानी फिटिक्कै मन पर्दैन । त्यही रिसाउने बानीले उनीहरूमा कहिलेकाहीँ ठाकठुक पर्छ । यद्यपि त्यो झगडा लामो समयसम्म नटिक्ने शर्मिला बताउँछिन् । शर्मिला भन्छिन्, ‘झगडा नभै माया हुँदैन, झगडाले माया थप प्रगाढ बनाउँछ । त्यसैले हाम्रो पनि झगडा हुन्छ तर उहाँले हँसाएर छिट्टै रिस समाप्त पारिदिनुहुन्छ ।’

शर्मिलालाई सिपीको धतुरे पात्र एकदमै राम्रो लाग्छ । उनी भन्छिन्, ‘म त धतुरेको फ्यान नै हुँ ।’ उनलाई छरछिमेकमा कसै–कसैले धतुरेकी रामप्यारी भनेर बोलाउँछन् । आफ्ना श्रीमान्ले कलाकारिता क्षेत्रमा यति धेरै दु:ख गरेर कमाएको धतुरे नामसँग जोडेर कसैले आफूलाई सम्बोधन गर्दा निकै गर्व लाग्ने शर्मिला बताउँछिन् । स्नातक तहको अध्ययन पूरा गरेकी शर्मिला अहिले घर व्यवहार चलाएर बसेकी छिन् । धतुरे र शर्मिलाको दुई सन्तान शीतल र शुभम् छन् । 

 

प्रकाशित :भाद्र १३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्