नेटगियर आईसीटी एवार्ड–२०१८

- साप्ताहिक संवाददाता

भाद्र १३, २०७५

लिभिङ विथ आईसीटीको आयोजनामा तेस्रो संस्करणको ‘नेटगियर आईसीटी एवार्ड २०१८’ सम्पन्न भएको छ । ‘सूचना प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी’ नारासहित गत शुक्रबार राजधानीमा आयोजित एक समारोहमा विभिन्न ७ विधामा आईसीटी एवार्ड प्रदान गरिएको थियो । 

कसलाई कुन एवार्ड ?

आइसीटी एवार्डमा कुल ७ विधा समावेश थिए । यसअन्तर्गत आइसीटी स्टार्टअप एवार्ड, आइसीटी प्रडक्ट एवार्ड, आइसीटी पायोनियर एवार्ड, आइसीटी आन्ट्रप्रनर एवार्ड, आइसीटी ढायस्पोरा एवार्ड, डिजिटल गभर्नेन्स एवार्ड, आइसीटी मिडिया रिकग्निसन एवार्ड थिए भने स्टार्टअप र प्रडक्ट एवार्डमा एक कम्पनीलाई जुरी स्पेशल मेन्सन एवार्डसमेत प्रदान गरिएको थियो । १० जनाको जुरीले १ महिनासम्म अध्ययन, अन्तवार्ता, प्रिजेन्टेशन, कार्यालय भ्रमण, अनलाइन भोटिङ आदि प्रक्रियाबाट उत्कृष्टको छनौट गरेको जुरी संयोजक हेमपाल श्रेष्ठले जानकारी दिए ।

डिजिटल गभर्नेन्स एवार्ड

आइसीटी एवार्ड २०१८ अन्तर्गत नेपाल प्रहरीले डिजिटल गभर्नेन्स एवार्ड प्राप्त गरेको छ । सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने सरकारी निकायलाई वितरण गरिने यो एवार्डमा नेपाल प्रहरी उत्कृष्ट सावित भएको हो । नेपाल प्रहरीको कार्यालयमा कागजको प्रयोग ८० प्रतिशतले घटिसकेको छ । चाँडै नै नेपाल पुलिस नामको इन्टिग्रेटेड एप्लिकेशन पनि ल्याउने तयारीमा प्रहरी जुटेको छ । 

पायोनियर एवार्ड 

तीन दशकदेखि नेपालको सूचना प्रविधिको विकास एवं विस्तारमा अनवरत लागिरहेका मर्कन्टाइल कम्युनिकेशनका संस्थापक सञ्जीव राजभण्डारीले आइसीटी पायोनियर एवार्ड प्राप्त गरेका छन् । राजभण्डारीले नेपालमा पहिलो पटक इन्टरनेट सेवा भित्र्याउने, बैंक तथा वित्तीय क्षेत्रका सफ्टवेयर निमार्ण गर्नेदेखि सूचना प्रविधिका महत्त्वपूर्ण उत्पादनहरूको बजारीकरण गर्न योगदान दिएका छन् । 

आन्ट्रप्रेनर एवार्ड

एफवान सफ्टका अध्यक्ष विश्वास ढकालले आइसीटी आन्ट्रप्रेनर एवार्ड प्राप्त गरे । विद्यार्थी जिवनमा एउटा कोठाबाट सुरु भएको एफ वान सफ्टमार्फत् अहिले उनले ४ सय ५० भन्दा बढी नेपालीलाई प्रत्यक्ष रोजगारी दिएका छन् । हाल एफवान सफ्टअन्तर्गत ई–सेवालगायत १५ वटा कम्पनी सञ्चालनमा छन् । 

स्टार्टअप एवार्ड

यो संस्करणको आइसीटी स्टार्टअप एवार्ड पिपुल डेभलपमेन्ट ल्याबले जितेको छ । निर्णायक तथा अनलाइन भोटिङका आधारमा पहिलो हुन सफल उक्त कम्पनीले प्रविधिको माध्यमबाट मानिसलाई करियर गाइड गर्ने, कोचिङ प्रदान गर्ने तथा उनीहरूको लिडरसिप प्रोसेसलाई नयाँ रुपले मूल्यांकन एवं परिभाषित गर्ने काम गर्छ । 

प्रोडक्ट एवार्ड

दर्शन टेकले केही महिनाअघि विकास गरेको इन्स्युरेन्स म्यानेजमेन्ट सफ्वेयर आइ–सोलुसन्स लाइफ आइसीटी प्रोडक्ट एवार्ड जित्न सफल भयो । यो प्रोडक्ट लाइफ इन्सुरेन्स कम्पनी, पोलिसी मार्केट, एजेन्सी मार्केट, इन्सुरेन्स रेगुलेटर आदिका लागि लक्षित छ । हाल ६ वटा प्रमुख बिमा कम्पनीमा यसको प्रयोग हुँदै आएको छ ।

जुरी स्पेसल मेन्सन एवार्ड

अनलाइनबाट ट्याक्सी सेवा प्रदान गर्दै आएको सारथीले जुरी स्पेसल मेन्सन एवार्ड जितेको छ । आइसीटी स्टार्टअप र प्रडक्ट दुवै विधामा उत्कष्ट ५ मा पर्न सफल सारथीले उपभोक्तालाई प्रविधिसँग जोडेर सहज तरिकाले ट्याक्सी सेवा उपलब्ध गराउँदै आएको छ । 

डायस्पोरा एवार्ड 

अन्तराष्ट्रिय तहमा रही सूचना प्रविधिमा उदाहरणीय काम गरेको भन्दै लिपफ्रग टेक्नोलोजीका कार्यकारी प्रमुख हिमाल कर्माचार्यलाई आइसीटी डायस्पोरा एवार्ड प्रदान गरिएको छ । हाल अमेरिकामा रहेका कर्माचार्यले नेपालको सूचना प्रविधिको क्षेत्रमा प्रत्यक्ष योगदान पुर्‍याउँदै आएका छन् । 

मिडिया रिकग्निसन 

आइसीटी मिडिया रिकग्निसन एवार्ड पत्रकारद्वय सन्तोष न्यौपाने तथा गोपाल साउदलाई प्रदान गरिएको छ । साउद नयाँपत्रिका दैनिकमा कार्यरत छन् भने न्यौपाने नागरिक दैनिकमा कार्यरत छन् । आइसीटीलाई मुख्य विधा बनाएर पत्रकारिता गरेका पत्रकारलाई यो एवार्ड प्रदान गरिन्छ । 

प्रकाशित :भाद्र १३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्