हिंसात्मक आन्दोलनलाई छड्के हानेर

- किशोर नेपाल

भाद्र १३, २०७५

देश हिंसात्मक द्वन्द्वमा नफसेको भए पवित्रा खड्का नेपाली रंगमञ्चकी कलाकार हुने थिइन् कि थिइनन् ? यसै भन्न सकिँदैन । हिंसात्मक द्वन्द्वको त्यो बेला माओवादीहरू स्कुल, कलेज जाने विद्यार्थीहरूलाई अपहरण गर्थे । उनीहरूलाई युद्धकला सिकाउँथे । बम ब्लास्ट गर्न पठाउँथे । त्यति बेला एक प्रकारको आतंक फैलिएको थियो देशमा । आफ्नो जीवन रक्षाका लागि युवा–युवतीहरू खाडीका देशहरूतिर भासिन्थे । 

उनीहरूका अभिभावकहरू छोरा–छोरीको कल्याणका लागि ऋण धनको जुगाड गर्थे । करिब पाँच वर्षसम्म डर, त्रास र भयले गाउँबस्ती कतै छाडेन, कसैलाई छाडेन । भन्न त सहर–बजारतिरका ठूला–बडा मानिसहरू नेपाली सेनासँग माओवादीको लडाईं बराबरीको थिएन भन्थे । त्यो कुरा सत्य पनि थियो । आँखाले झट्ट हेर्दा कौशलपूर्ण हिसाबले संगठित सेनाका अगाडि माओवादी सेनाको हैसियत देखिँदैनथ्यो । माओवादीमा आत्मबल थियो । मनमा सम्बल थियो । जीवन रक्षा गर्नुपर्ने दायित्व थियो ।

त्यही बेला जनसेनामा भर्ती खुलेको थियो र नेताहरू हुर्किएका, जोदाहा र उद्देश्यमा समर्पित हुने युवा–युवतीको खोजीमा थिए । त्यतिबेला स्थानीय स्कुलमा आठौं कक्षामा पढ्ने पवित्रा खड्का माओवादी नेताहरूको नजरमा चढेकी थिइन । शारीरिक सुगठन र अन्य सबै हिसाबले उनी गुरिल्ला बन्न योग्य थिइन् । माओवादीहरूको अपहरणमा पर्ने आशंका पवित्रालाई पहिलेदेखि नै थियो । माओवादीहरू हिंसात्मक आन्दोलनको निष्कर्षतर्फ बढ्दै थिए । उनीहरूको आँकलन थियो : पवित्राजस्ता सय–डेढ सय जना तन्नेरी लडाकु फेला परे भने काठमाडौंको सत्ता उनीहरूको झन्–झन् नजिक हुने थियो ।

पवित्रालाई ज्यान जोगाउन कठिन भैसकेको थियो । घरका मानिस कहिले उनलाई परालको कुन्यूमा लुकाउँथे, कहिले घाँसको भारीले छोपछाप पार्थे । यहींनिरबाट छड्के हानिन् पवित्राले । घर–परिवारको सहमतिमा उनी रामेछापको आफ्नो गाउँ कुदौरीबाट काठमाडौं सहरतिर लागिन् । उनको लक्ष्य थियो– काठमाडौं । पवित्राको छड्के हनाइले स्थानीय माओवादी अलमलमा परेका थिए । उनले कुन बेला, कुन सडकामा मन्थली छाडिन्, कसैले थाहा पाएनन् । पवित्राका लागि यो अनुभव पहिलो थियो । यसले उनलाई लडाकु त लडाकु नै बनायो, तर रंगमञ्चको लडाकु । शरीर र व्यक्तित्वका हिसाबले उनलाई लडाकु र नायिका दुवै भूमिका खुल्थ्यो । उनको त्यो अवतार अहिले पनि देखिन्छ । पवित्रा आफ्ना चम्किला आँखाले भविष्य सोचिरहेकी देखिन्छिन् । उनको व्यक्तित्व गहिरो संवेदनाको सागरमा डुबेको पाइन्छ । जीवनको कुन चरणमा पुगेपछि उनमा सन्तोष आउने हो वा होइन ? त्यो नै निश्चित देखिन्न ।

पवित्राको अतीत अलिकति पनि सुखद छैन । अहिलेको समयमा पनि मानिसहरू अठारौं शताब्दीको चिन्तामा भुटभुटिएर बसेका छन । बाहिर अन्य देशका मानिसहरूको आधारभूत खानामा जीवनका लागि आवश्यक सबै तत्व समावेश गरिएको हुन्छ, तर विदेशी वा स्वदेशी पर्यटकले खोजेको वा चाहेको जस्तो खाना हामी दिन सक्दैनौं । पवित्राको पिताको निधन हुँदा उनी आमाको पेटभित्रै थिइन् । उनका पिता आँपको रूखमा चढेका थिए आँप टिप्न । त्यही रूखको उचाइबाट खसे उनी । 

काठमाडौंमा पवित्राले प्लस टुको पढाइ सकिन् । नृत्यमा उनको ठूलो रुचि थियो । उनी वीरेन्द्र हमालको थिएटरमा अभिनय र नृत्य सिक्न जान्थिन् । यसबीच उनमा रंगमञ्चको चस्का पस्यो । सडक नाटकमा अभिनय गर्न थालिन् उनी । त्यति नै बेला सारंगा सिनेमामा पनि अभिनय गरिन् । सिनेमा त चलेन, तर उनले अभिनयका लागि चाहिने धेरै कुरा सिकिन् ।

शिल्पी थिएटरले कलाकारहरूको खोजी गरेपछि पवित्रा पनि त्यहाँ सामेल भइन् । अब उनको अभिनय यात्रा संगठित भयो । शिल्पीमा रामबाबुबाट उनले धेरै कुरा सिकिन् । त्यहाँसम्म उनले सत्यमोहन जोशीको ‘मजिपा लाखे’ र कुमार नगरकोटीको ‘कोमा’ मा अभिनय गरिन । यी दुवै नाटक हिट भए । कोमा २०५९ को हिट थियो । अहिलेसम्म पवित्राले १५ वटा नाटकमा अभिनय गरेकी छिन । दीक्षान्त, ययाति, शर्मिष्ठा, तातु तिनै मध्येका हुन् । एउटा मान्यता छ पवित्राको । आफैंले पेसागत वा व्यवसायगत केही काम गर्न लागेको छ भने थाक्न पाइँदैन, किनभने नाटकका कलाकार भूमिकासँग थाके भने त त्यो राम्रो हुँदैन ।

थिएटरको होस्टलमा बसेपछि सिर्जनात्मक फाँट र आफन्तहरूबीच पनि बन्देज फिल गर्नुपरेको छैन पवित्राले । उनले पढेर–लेखेर समय बिताउने गरेकी छिन् । शिल्पीमा आगामी बुधबार महाकवि देवकोटाको मुनामदन प्रदर्शित हुँदैछ । त्यसपछि बांगलादेशमा प्रदर्शन गर्ने तयारीमा रहेको नौगेडीको काम हुँदैछ ।

पवित्रा ती सबै महत्वपूर्ण कुराप्रति सचेत छिन्, जोसँग उनी जोडिएकी छिन् । हरेक चरित्रमा राम्रो अभिनय पनि गर्नुपर्ने र हरेक अभिनयलाई सौन्दर्यको खास्टो पनि ओढाउनुपर्ने । जीवनमा पवित्राले प्रेम पनि गरिसकेकी थिइन् एकचोटी । त्यो असफल भयो । अब उनी अभिनयमा सफल हुने अठोटमा छिन । प्रेमको त के कुरा भो र ? त्यसले कतिबेला कसरी र कहाँ छुन्छ, के थाहा ?

प्रकाशित :भाद्र १३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्