मीठो भएन भनेर कचकच गर्छन्

- साप्ताहिक संवाददाता

भाद्र १२, २०७५

मुना नेपाल, जितु नेपालकी श्रीमती

मुना राउतको फर्पिङस्थित घरमा एकदिन हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’का आफन्तले विवाह प्रस्ताव पुर्‍याए । त्यतिबेला नेपाल टेलिभिजनबाट लोकप्रिय कार्यक्रम गीतान्जलीको प्रसारण हुन्थ्यो जसमा, जितु त्यसमा देखिन्थे । मुनाले पनि आक्कलझुक्कल उनलाई टिभीको स्क्रिनमा नदेखेकी होइनन् तर, उति ध्यान दिएकी थिइनन् । एकदिन तिनै हँसाउने ठिटोसँग विवाह होला भनेर उनले सपनामा समेत सोचेकी थिइनन् । एक्कासि तिनै कमेडियनसँग विवाहका लागि माग्न आएको कुराले उनको मनमा हलचल मच्चायो । 

मुनाका बुवालाई भने जितु औधी मन पर्थे । ‘कमेडी कलाकारसँगको विवाह प्रस्ताव आएपछि म त पहिले हाँसेरै मरे,’ मुना भन्छिन्, ‘बुवा उहाँको फ्यान हुनुहुन्थ्यो ।’ आफूलाई मन पर्ने कलाकार छोरी माग्न आएपछि उनका बुवा खुसी भए । 

उनले छोरीलाई टेलिभिजन छेउ बोलाउँदै भने, ‘आइज–आइज तलाई माग्न आएको केटा टिभीमा आउँछ, हेर त ।’ मुना लजाउँदै बुवाको छेवैमा बसेर टेलिभिजन हेर्न थालिन् । त्यसदिन पहिलो पटक मुनाले जितुलाई गहिरिएर हेरिन् । जितु उनलाई मन परे । ‘बुवाहरूले बढी मन पराउनु भएको हो,’ उनले हाँस्दै थपिन्, ‘पछि त मैले पनि मन पराएँ ।’

मुनाको मनमा जितु बसेपछि दुवै परिवार मिलेर विवाह फिक्स गरे । सिन्धुपाल्चोक पुख्र्यौली घर भएका जितु र फर्पिङमै जन्मिएर हुर्किएकी मुनाबीच पारिवारिक योजनाअनुरूप २०५९ सालको फागुनमा विवाह भयो ।

त्रिविबाट स्नातकोत्तर गरेकी ३६ वर्षीया मुना काठमाडौं महानगरपालिकाको प्रशासन फाँटमा काम गर्छिन् । जितु हास्य टेलिश्रृखला, फिल्म तथा विभिन्न स्टेज शोमा प्रस्तुत भैरहेका हुन्छन् । मुना जागिर र घरव्यवहारमा व्यस्त रहन्छिन् । 

श्रीमान्लाई टेलिभिजनमा हँसाइरहेको देख्दा उनकै जीवनसंगीनी मुनाचाहिँ कति हाँस्छिन् त ? श्रीमती नेपाल भन्छिन्, ‘मलाई पनि एकदमै हाँसो लाग्छ, व्यग्य गर्नुहुन्छ, समसामयिक विषयमा बोलिदिनुहुन्छ ।’ 

घरमा भने जितुले खासै हँसाउँदैनन् । घरव्यवहारका कुराले हाँस्ने समय पनि त हुँदैन । यद्यपि जितु फुर्सदका बेला मुनाको अनुहारमा मुस्कान भर्न प्रयत्न गरिरहेकै हुन्छन् । मुनालाई जितुको कुन पक्षले सबैभन्दा बढी लोभ्याउँछ ? जवाफमा उनी भन्छिन्, ‘एकदम अनेष्ट हुनुहुन्छ, मन एकदम कमलो छ, मेहनति, काममा लागि पर्ने, संघर्ष गर्न पछि नपर्ने निरन्तर परिश्रम गर्ने उहाँका बानी मलाई साह्रै मन पर्छ ।’ 

त्यसो त जितुका केही बानीले उनलाई बोर पनि बनाउँछ । जितु बोलेको कुरा चाँडै बिर्सन्छन्, एकछिनमै आफैंले भनेको कुरा ‘मैले त्यसो भनें र ?’ भन्ने उनको बानी छ, जुन मुनालाई मन पर्दैन् । यस्तै, जितुलाई मीठो खाना चाहिन्छ, त्यसैले उनी मुनासँग मीठो भएन भनेर कचकच गरिरहन्छन् । भान्सामा गएर आफैं मीठो खाना पकाउन पोख्त भएकाले पनि होला जितुले त्यस्तो गुनासो गरेका । ‘आफैं मभन्दा मीठो खाना पकाउनुहुन्छ, त्यसैले होला खाना मीठो भएन भनेर भनिरहनुहुन्छ,’ उनी भन्छिन् । घरको खर्चबर्च जितुले नै बेहोर्छन् । त्यसै पनि मुनाको सरकारी तलब सीमित छ । परेका बेला मुनाले समेत खर्च गर्छिन् । अहिलेसम्म जितुले खर्चका लागि मुनासँग हात थापेका छैनन् ।

प्रकाशित :भाद्र १२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्